विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे? 

- आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

-


     जनहित न्युज    
     असार २४ गते २०७९


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो।

जापान जहाँ ‘गन भायलेन्स’ र ‘पोलिटिकल भ्यालेन्स’का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ।

विश्वका नेताहरुको यस्तो प्रतिक्रिया

जापानी प्रधानमन्त्री फुमियो किशिदाले घटनालाई निन्दनीय र बर्बर कार्यको रुपमा टिप्पणी गरेका छन्। उनले घटनालाई प्रजातन्त्रमाथिकै आक्रमणको संज्ञा दिएका छन्।

यता, ह्वाइट हाउसले घटनाको निन्दा गर्दै घटनालाई नजिकबाट नियालिरहेको र आबेका परिवार र जापानी जनताको साथमा रहेको बताएको छ।

त्यस्तै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोली प्रहारको घटनालाई वीभत्स भन्दै आबे महान व्यक्ति भएको बताएका छन्। उनले आबेलाई आफ्नो र अमेरिकाको असल मित्रको रुपमा सम्झिएका छन्।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आबेको मृत्युलाई “क्रूर र कायरतापूर्ण हत्या” संज्ञा दिदै “एक अद्भुत व्यक्ति, महान लोकतन्त्रवादी र बहुपक्षीय विश्व व्यवस्थाको च्याम्पियनको निधन भएको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले आबेकी आमा योको र पत्नी अकीलाई आफ्नो “गहिरो समवेदना” पठाएको छ।उनले पूर्व प्रधानमन्त्रीलाई रुसो-जापान सम्बन्धमा महत्वपूर्ण योगदान पुर्‍याउने “असाधारण राजनीतिज्ञ” भनेका छन् र उनको सम्झना हृदयमा रहिरहने बताए।

क्षेत्रीय विवादमा वार्तामा सफलता हासिल गर्ने लक्ष्य राखेका आबेले व्यक्तिगत विश्वास निर्माण गर्न र विवादित टापुहरूमा संयुक्त आर्थिक गतिविधिहरू प्रवर्द्धन गर्न २०१२ बाट आफ्नो कार्यकालमा पुटिनसँग २० पटक भेटेका थिए ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “उनको नेतृत्वमा जापान एशियामा अस्ट्रेलियाको सबैभन्दा नजिकको र सबैभन्दा समान विचारधाराको साझेदारको रूपमा उभिएको छ।” अष्ट्रेलियाको तर्फबाट उनले श्रीमती आबेलाई गहिरो समवेदना व्यक्त गरेका छन ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घृणित आक्रमणको समाचारले पूर्णरुपमा स्तब्ध र दु:खित भएको बताएका छन्। साथै एक ट्वीटमा प्रधानमन्त्री जोनसनले आबेको निधनलाई “अविश्वसनीय रूपमा दुखद समाचार” भन्दै र भूराजनीतिक अनिश्चितताको समयमा उनको नेतृत्वलाई “धेरैले सम्झनेछन्” भने।

युरोपियन काउन्सिलका प्रमुख चार्ल्स मिचेलले आबेमाथिको कायरतापूर्ण घटनाले स्तब्ध र दु:खित भएको बताएका छन्। उनले आबेलाई एक असल मित्र र बहुलवाद र प्रजातान्त्रिक मान्यताका रक्षकको रुपमा चित्रण गरेका छन्।

त्यस्तै, जी २० को बैठकमा सहभागी हुनु अगाडि रसियाली विदेश मन्त्रीले आबेप्रति श्रद्धान्जली व्यक्त गर्दै घटना पछाडिको कारणबारे अनुसन्धान हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पछिल्लो जापान भ्रमणका क्रममा आबेसँग हात मिलाइरहेको फोटोसहित ट्वीट गर्दै आबेलाई सम्झिएका छन्। मोदीले आवेको सम्मानमा भारतमा एक दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

मोदीले ट्वीटमार्फत आवेले भारत जापानसम्बन्धमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उनले दुई देशको सम्बन्धलाई विशेष रणनैतिक तथा विश्वव्यापी साझेदारीको तहमा पुर्‍याएको बताएका छन्।

‘आज सम्पूर्ण भारत जापानसँगै शोकमा परेको छ र दु:खको यस घडीमा हामी जापानी दाजुभाई दिदी बहिनीको साथमा ऐक्यवद्धता प्रकट गर्दछौं,’ मोदीले लेखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनमा श्रद्धान्जली व्यक्त गर्दै आबेलाई विश्वकै प्रसिद्ध नेता मात्र नभएर नेपालको पनि असल मित्रको रुपमा सम्झिएका छन्।

आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको भर्त्सना गरेको छ। सरकारले उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र आबेको परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?