पारिवारिक भेटघाटका लागि जापान आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट निधन

-


     जनहित न्युज    
     पौष २२ गते २०८०


जापानमा रहेका आफ्ना छोरा/बुहारी तथा नातीसंगको भेटघाट तथा भ्रमणमा आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट दुखद निधन भएको छ।

नेपाल रुकुम पश्चिम घर भएका ६२ वर्षका पदम बिष्ट र ५६ वर्षका बिष्ट लालसरीको मृत्यु भएको प्रहरीलाइ उद्दृत गर्दै एनएचकेले जनाएको छ। बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न २ महिना अघि मात्रै जापानको ओकिनवा आइपुगेका थिए।

जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा गिनोवान सहरबाट नाहा तर्फ जाँदै गरेको कारले हिँडिरहेका दुईजना पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्री दुबै जनालाई अचेत अवस्थामा अस्पताल पुर्याएको थियो, तर उनिहरुलाई बचाउन सकिएन ।

उरासो स्थित प्रहरीले लापरवाही सवारी चलाई चोट पटक लागेको आरोपमा घटनास्थलबाटै कार चालक ८१ वर्षीय एक महिलालाई पक्राउ गरेको थियो । पछि दुबै जनाको ज्यान गएपछि, प्रहरी चौकीले लापरबाहीले सवारी चलाउँदा मृत्यु भएको आरोपमा, अनुसन्धान अगाडि बढाएको उल्लेख गरिएको छ। सवारी चालक वृद्धा महिलालाई भने चोटपटक लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?