नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले नेपालको लागि पर्यटन प्रवर्द्धन गर्दै

-


     जनहित न्युज    
     असाेज २० गते २०८०


नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बार्सिलोनामा ‘नमस्ते बार्सिलोना- २०२३’ कार्यक्रम हुने भएको छ ।

२२ अक्टुबर आइतबारका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले गर्न लागेको हो ।

नेपालीहरुका ठूला पर्व दशैं, तिहार तथा छटको अवसरमा बार्सिलोना नगरपालिका, साँस्कृतिक विभागसंग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हुन् लागेको हो ।

आयोजक नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले दशैं तिहार तथा छटको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन होस् भनेर नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न लागेको बताए । ‘नेपालको पर्यटन प्रवर्द्धन गर्न भनेर कार्यक्रम गर्दैछौं, विगतमा जस्तै सबैको साथ र सहयोग पाउनेमा विश्वस्त छौं ।’ ढुङ्गानाले भने ।

स्पेनको प्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी खुल्ला रुपमा हुने कार्यक्रममा हजारौ नेपाली समुदाय तथा विदेशी पर्यटकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा नेपाली पन्चे बाजा, पोर्चुगलबाट आउने नेपाली कलाकारहरूको साथमा नेपाली कला संस्कृति, जात जातिका भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामाग्रीहरू, साथमा नेपाली खानाका परिकारहरूको चार वटा स्टल रहने नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष एंव कार्यक्रमका संयोजक अशोक किरण न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा नेपाली पाठशाला बार्सिलोनाका बाल बालिका, गुरूगं समुदाय, तामागं समुदाय, मगर समुदाय, नेवार समुदाय, शेर्पा समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय, विश्व कलाकार संघ स्पेन, ईनास स्पेन, लोक दोहोरी प्रतिष्ठान युरोप लगाएतका संस्थाहरूका ख्याति प्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।

स्पेनबासी नेपाली समुदाय र संघ संस्था सबैलाई कार्यक्रम सफल पार्न आयोजकले अनुरोध गरेका छन् । एनपीपीएफ स्पेनले लामो समयदेखी सो स्थानमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?