बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घरधुरी थिए । बसाइँसराईका कारण यहाँका ३५ घरमामात्रै मानिस बसोबास गर्दै आएका छन् । अन्य घर खण्डहर जस्तै बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।
यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँसराई गरेर चितवन पुगेका छन् । गाउँमा खेतीयोग्य जमिन बाँझो बनेपछि यहाँका एक युवा १४ वर्षको जापान बसाई त्यागेर गाउँमै वृहत्तर रुपमा बाख्रापलन गर्न थाल्नुभएको छ । बाँझो जग्गाको सदुपयोग गर्दै ठूलो परिणाममा बाख्रा पालन थालिएको छ ।
सन् २००९ मा जापान जानुभएको काठेखोला गाउँपालिका–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेल गाउँ फर्केर वृहत रुपमा बाख्रापालन गर्नुभएको छ । उहाँले आफू जस्तै जापान पुगेका ५० युवालाई गाउँ फर्काउने योजना समेत बनाउनुभएको छ । कँडेलको ठूलाघरे बाख्रा फर्ममा माउ बाख्रा, बोका र पाठापाठी गरेर ३५० रहेका छन् ।
उहाँले २०७९ साउनबाट ८३ बाख्राबाट फर्म स्थापना गरी बाख्रापालन शुरु गर्नुभएका हो ।
फर्म स्थापनाका लागि रु. एक करोड ३५ लाख लगानी भइसकेको कँडेलले बताउनुभयो । उहाँले बाख्रा फर्म सञ्चालनका लागि बसाइँसराइका कारण बाँझिएको एक हजार ४०० रोपनी जग्गालाई प्रयोगमा समेत ल्याउनुभएको छ ।
“कर्लिमका मात्रै एक हजार युवा जापानमा छन्, गाउँ रित्तिएको छ, सबैले गाउँ छोडेपछि गाउँको अस्तित्व हराउने डर भयो, १४ वर्षको जापान बसाई छोडेर बाख्रा पालनमा फर्केको छु, म मात्रै फर्के गाउँ जुल्जार नहोला मेरै उमेरका ५० युवा गाउँमा फर्काउने योजना छ” कँडेलले भन्नुभयो “गाउँमा अहिले पो मेरो मात्रै फर्म छ, मजस्ता ५० युवाको फर्म भयो भने उजाडिएको गाउँ पुन हराभरा बन्नेछ, गाउँमा फर्केर केही गर्न सकिन्छ भन्ने उदाहरणका लागि बाख्रा फर्ममा लागेको छु ।”
उहाँको बाख्रा फर्ममा ८० वटा बोका विक्रिका लागि तयारी रहेका छन् । ३८ वर्षका कँडेलले रोजगारीका लागि जापान गएपनि फर्केर गाउँ आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले थामानेटा नजिकैको असारे भन्ने स्थानमा ५० जना युवा मिलेर एकिकृत बस्ती बसाउनेगरी सडक पु¥याउन थालिएको सुनाउनुभयो ।
कँडेलका उमेर समूह ५० जनाकै गोठथरी रहेको असारे क्षेत्रमा एकिकृत बस्ती बसाएर सुनसान गाउँ जुल्जार बनाउने योजना अघि सारेको बताउनुभयो । उहाँका दुई वटा आधुनिक खोर र दुई वटा परम्परागत खोरमा बाख्रा पालिएको छ । उहाँको फर्ममा बोयर क्रसजातको बाख्रा रहेका छन् ।
“व्यावसायिक अवसरका लागि गाउँ फकर्ने अभियान चलाएको छु, अहिले ५० जना युवाहरु जापानबाट गाउँ आएर घर बनाउने योजनामा छन्, सबै जापान भएपछि, खाली भएको जग्गालाई सदुपयोग गर्न वृहत कृषि कार्य आवश्यक छ” उहाँले भन्नुभयो “गरिब तथा घर बार बिहिनलाई घर र जग्गा उपचोगका लागि निःशुल्क दिने र स्थानीय विद्यालयमा निःशुल्क पढाउने व्यवस्था गरिएको छ ।”
उजाडिएको गाउँलाई एकिकृत सुविधा सम्पन्न बस्ती, घरबास, पशुपालन, कृषि र चिया लगायतको क्षेत्रमा विकास गर्न थालिएको कँडेलको भनाई छ ।
उत्पादन भएका खसी बोका सोझै पोखराको खसीबजारमा पठाउने गरेको उहाँको भनाई छ । अहिले चार जनालाई मासिक २५ हजारका दरले तलब तथा खान र बस्नको व्यवस्था सहित रोजगारी दिइएको कँडेलले जानकारी दिनुभयो । गाउँबाट विदेश गएका एक हजार युवा मध्ये ५० युवालाई मात्रै गाउँ फर्काउन सके गाउँको मुहारै फेरिने कँडेलको भनाई छ ।