
रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको उक्त घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
त्यस्तै नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ । नवराजकी प्रेमीका उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजायको फैसला गरिएको हो ।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ ।
जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँमा प्रेमीका लिन जाँदा गाउँलेले लखेट्दा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो। अनुसन्धानमा उनको हत्या भएको खुलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। मंगलबार रुकुम जिल्ला अदालतले नवराज घटनामा फैसला सुनाएको हो।