
हर्लक्क बढेका जमरा काटेर थालीमा मिलाउदै टिकाटालोको चादोपाजो मिलाउनमा व्यस्त सात वर्षदेखि परदेशमा बस्दै आएका गुल्मीकी रेखा र पार्वती आचार्यमा छुट्टै उत्साह थियो । जापानमै रहेका तीन भाइ र नातिनीलाई १२ वर्षपछि सँगै राखेर टिका लगाइदिदा हेमराजका आँखामा हर्षका आशुँ छचल्किए । शीरभरि दशैंका जमरा र निधारभरि टिकामा सजिएर छोरा बुहारी र नातिनीहरुलाई टिका लगाइदिदा साच्चिकै घरमा भएजस्तो लागेको मंगलबार मात्र दशैं मनाउन जापान आएकी मुन्नी आचार्यलाई लाग्यो । उनको यो रमझम नेपालमा भने होइन, यो त समुद्रपारीको देश जापानमा हो ।
आचार्यको परिवारमा जस्तै जापानमा थुप्रै नेपालीहरु दशैंलाई घरदेशमा जस्तै मान्न चटारो भैरहेको थियो । कतै विभिन्न समाजद्धारा दशैं विशेष कार्यक्रमको आयोजना गरिएको छ भने कतै सामुहिक टिका ग्रहणको कार्यक्रमको चलेको थियो ।
आफ्नो परम्परा र संस्कृतिलाई बचाई राख्नकालागि आफुहरु जहाँ भएपनि आफ्नो रीतिरिवाज र परम्परालाई जोगाइ राख्नका लागि पछिल्लो समयमा परदेशमा रहेका नेपालीहरु उत्साहित भएको संस्कृतिविद्हरुको बुझाईछ ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानद्धारा दशैं शुभकामना, स्वागत तथा सम्मान कार्यक्रममो जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले राजदूतावासलाई जापानवासी नेपाली दाजुभाइहरुको आफ्नै घर अनि दिदीबहिनीहरुका लागि माईतीघर महसुस गराउन आफू प्रयासरत रहि रहेको बताए ।
आफुहरुले स्वदेशमा जस्तै गरेर घरपरिवारसँगै जापानमा पनि दशैं मान्न पाएको र नेपाली सस्कृति परम्परा मौलिकतालाई निरन्तरता दिदै नयाँ पुस्तामा हस्तान्तरण गर्नका उपयुक्त कडीको रुपमा विभिन्न चाडवाड हुने गरेको गैर आवासीय नेपाली संघ जापानमा कार्यबाहक अध्यक्ष नविन निउरेको धारणा रहेको छ । जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई एउटै परिवार मानेर शुभकामना आदानप्रदान गर्दै दशैं मनाइएको कार्यवाहक अध्यक्ष निउरेको भनाइ छ ।
त्यसो त यसवर्षकोे दशैमा आफ्नो टिका नभएपनि जापानबासी गलकोटेहरुले एकआपसमा जमघट भई हर्षोल्लासका साथ जापानमा दशैं मनाउने परम्परा नै बसिसकेको गलकोट समाज जापानका अध्यक्ष कालिका थापाको भनाई छ ।
आनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मालाई भने यस वर्षको विजया दशमी “अर्को दशैमा आउहै बाबु ।” भन्ने हजुरआमाले परदेशिका नातीलाई छोडेर गएको हुनाले त्यसपछी फूलेन गोदाबरी त्यसपछी सुनियन आमाको आवाज भन्दै सबैलाइ सम्झना सहित विजया दशमीको शुभकामना व्यक्त गरेका छन ।
आफ्नो पहिचानका साथै आत्मीयता र बन्धुत्व बढाउनका लागि दशैं जस्ता पर्वहरुले सेतुका रुपमा काम गर्ने बुझाईका साथ दशैंको अवसरमा बारबिक्यूसहितको शुभकामना कार्यक्रमको आयोजना गरिएको कानागावा नेप्लिज कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
कसैलाई पनि विदेशमा रहेर चाडपर्वले निराशा नल्याओस् भन्ने ध्येयले गरिने यस्ता कार्यक्रम फलदायी हुने गरेको सो कार्यक्रममा उपस्थित रहेकी एनआरएनए जापानकी संरक्षक अनिता गरुङले बताइन । कार्यक्रममा उपस्थित सम्पूर्णले यस विजया दशमीले आफ्नो देशले आर्थिक समृद्धिमा फड्को मारोस् र हरेक दशैं परिवारकै साथमा मान्ने अवसर प्राप्त होस् भन्ने कामना गरेका थिए ।
उता जापानको कन्साई क्षेत्रमा ओएनएस तथा गनेशा डाइनिङ परिवारद्धरा आयोजित द स्याडोज नेपालमा र्यापर भिटेनसहितका चर्चित कलाकारको प्रस्तुति रहने गरि दशैं विषेश लाइभ म्युजिक शो गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समिति कान्साइका अध्यक्ष समेत रहेका आयोजक दिलिप शर्माले बताए ।
पछिल्लो केही वर्षहरुमा नेपालीहरुले आफ्नो परम्परा र चाडवाडलाई विषेश महत्व दिन थालेको बुझाई परदेशी कलाकार सूर्य खड्काको छ । दुई महिना अघि मात्र जापान आएकी कलाकार रिना केसी ले प्रवाससहित स्वदेशमा रहेका सबैलाई जहा छौ त्यहीबाट स्वस्थ,व्यस्थ,मस्त भै सुरक्षित रहनुहोला सबैको मन सन्तुष्ट हुने गरि चाडबाड मनाइनुपर्ने बताईंन ।
लामो समय जापानमा रहेर नेपाली समुदायलाई नजिकबाट नियालिरहनु भएका नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लका अनुसार विदेशमा रहेरपनि नेपालीहरुले चाडपर्वलाई महत्व दिनु सकारात्मक भएकोले यसलाई व्यवस्थित र मर्यादित ढंगले मनाउले हो भने घरदेशको नियास्रो मेट्न निकै सजिलो हुने उनको बुझाई छ ।
जापानमा नेपालीहरुको उपस्थिति पछिल्ला केहीवर्षमा उल्लेख्य रुपमा बढेकोले पनि आफ्नो परम्परा रीतिरिवाज र चाडपर्वलाई महत्व दिनेहरुको संख्या बढ्नु स्वाभाविकै रहेको र यसलाई व्यवस्थित र तडकभडक भन्दा पनि आफ्नो संस्कार र संस्कृति बचाउन तर्फ जोड दिन नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तको आग्रह छ । परम्परा, संस्कृति र चाडपर्वलाई मनाउनु सकारात्मक रहेपनि त्यसलाई विकृतिको रुपमा उपयोग गर्न नहुने नेपाली समुदायहरुको चाह रहेको छ ।
आफ़नो परम्परा र संस्कृतिको संरक्षणमा स्वतस्फूर्त रूपमा मनाइने चाडपर्व हुने खानेका लागि मात्र हुने गरि भड्क़िलो बनाइन नहुने जापान एकता समाजका उपाध्यक्ष दण्ड केसीको भनाइ छ ।
कसैलाई यो चाडले उमंग र ख़ुशी दिएको छ भने कतिपयलाई यी चाड उराठ र उजाड़ पनि हुने गरेकाले जे जस्तो भएपनि सबैलाई नया ऊर्जा र सुख शान्ति मिल्ने गरि प्रवासमा चाडबाड मनाउनका लागि सामाजिक व्यक्तित्व सालिकराम भण्डारीको आग्रह छ ।



