गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे।
‘फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिएझैं लागेको छ,’ सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्तीमगरले भने।
यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहज रूपमा फोन गर्न नपाएका उनलाई आफन्तसँग फोन गर्न परे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो। आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो। म्यासेज आएको केही बेरमा बेंसीबाट आफन्तले फोन गरे। गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे।
नेटवर्कले काम गरेपछि उनले सम्झिए, गाउँमाथिको डाँडामा नेपाल टेलिकमको टावर बन्दैछ भन्ने। सूचना र प्रविधिले फड्को मारिसक्दा पनि निसेलढोरमा अहिलेसम्म फोन गर्नका लागि टावरसमेत बनेको थिएन। विद्युत समेत नपुगेको यस ठाउँमा टेलिकमको टावरले काम गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको छ। अब फोन गर्नका लागि तीन घण्टा धाएर ढोरपाटन पुग्न नपर्ने घर्तीमगरले बताए। विद्युत र टावर विस्तार नहुँदा यहाँका सयौं नागरिक वर्षौंदेखि सूचना र सञ्चारको पहुँचभन्दा टाढा रहनुपरेको उनको भनाइ थियो।
घर्ती मगरले भने, ‘मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ। बेसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोबाइल अफ गरेर राख्नुपर्ला। अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जिते जस्तो भयो। पहिलो दिन टावरले काम गर्दा मोबाइल खुल्ला नै रैछ, घण्टी बज्दै म्यासेज आउँदा दंग परें, माथि डाँडामा टावर बन्दै छ भन्ने त सुनेको थिए तर मैले बिर्सिएको रैछु, पछि मोबाइल हेर्दा त टावरको चिन्ह देखिएको रहेछ, अब यस ठाउँका मान्छेले पनि बसेकै ठाउँबाट फोन गर्न पाउने भए।’
नेपाल टेलिकमले निसीखोला गाउँपालिका–५ को ऐसेलुधारामा टावर निर्माण गरेर सेवा सुरु गरेको छ। तीन हजार ७३० मिटरको उचाइमा निर्माण भएको टावर सोलारबाट सञ्चालन गरिएको हो। गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले भौगोलिक विकटताका कारण सूचना र प्रविधिको विकास भइसक्दा पनि यहाँका जनता निकै समस्या भोग्नु परेकाले सञ्चारसँग जोड्न टावर निर्माण गरिएको बताए।
निसेलढोरमा एउटा विद्यालय, सामुदायिक स्वास्थ्य इकाई र नेपाली सेनाको क्याम्प छ। नेटवर्क नहुँदा सूचना आदानप्रदानमा निकै कठिनाइ हुँदै आएकामा अब धेरै सहज भएको उनले जानकारी दिए। ऐसेलुधारामा टावर निर्माण गरेर सञ्चालनमा आउनुपूर्व निसेलढोरका बासिन्दा करिब दुई घण्टाको यात्रा गरेर अग्लो डाँडामा पुगी फोन गर्ने गरेको उपाध्यक्ष घर्तीमगरले भनाइ थियो। सडक सञ्जालले जोडिए पनि यहाँ अहिलेसम्म विद्युत पुगेको छैन।
यहाँ निर्माण गरिएको टावरले निसीखोलाको निसेलढोरसँगै ढोरपाटन नगरपालिकाको काँग, मस, बिजा, पूर्वी रुकुमको भूमे गाउँपालिका, पुथा उत्तरगंगालगायत ठाउँमा राम्रोसँग काम गर्न थालेको नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले बताए। हाल टुजी सेवा सञ्चालन गरिएको र यसले धेरै ठाउँमा ‘कभरेज’ गरेको छ। अब यस टावरबाट फोरजी सेवासमेत सञ्चालन गरिने उनको भनाइ थियो।
प्रमुख शर्माले भने, ‘टावर निर्माण गरेको ठाउँ निकै उच्च स्थानमा छ, अहिले सोलार सिस्टम प्रयोगमा ल्याएका छौं। यसलाई थप व्यवस्थित गर्दै फोरजी सेवा सञ्चालनका लागी तयारी गरिरहेका छौं। टावरले काम गर्न थालेपछि यस क्षेत्रका धेरै नागरिक उत्साहित भएको पायौं। पहिले सूचना आदानप्रदान गर्न निकै गाह्रो परेको रहेछ। अब सहज हुन्छ तर कहिलेकाहीँ मौसमका कारण अवरुद्ध हुने बाहेक अन्य बेला निरन्तर सेवा सञ्चालन हुनेछ।’
निसेलढोरमा गत वर्षसम्म स्वास्थ्य संस्था थिएन। यसै वर्षदेखि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिन थालेको हो। यहाँका अधिकांश नागरिक हिउँदको समय निसी (औल) र बर्खाको समय निसेलढोर बस्दै आएका थिए। सडकले नजोडिँदासम्म घुम्ती बसाइँ गर्ने स्थानीयवासी सडक पुगेपछि स्थायी रूपमा बस्न थालेका छन्। उनीहरुको निसीमा पनि घर छ। पशुपालन र कृषि मुख्य पेसा बनाएका त्यहाँका किसानले स्याउ, आलु, सिमीलगायत उत्पादन गर्छन्। केही वर्षयता सडकले निसेलढोर जोडेपछि बजारीकरणमा केही सहज बनाएको छ। -रासस