रुसले प्रधानमन्त्रीसहित ६३ जापानी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । रुसले प्रधानमन्त्री फुमियो किशिदा सहित ६३ जापानी नागरिकलाई प्रवेशमा “अनिश्चितकालका लागि” प्रतिबन्ध लगाएको जापानी सरकारी समाचार संस्था एनएचकेले बुधबार जनाएको छ।
किशिदाको मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्री योशिमासा हायाशी, रक्षा मन्त्री नोबुओ किशी, र अर्थमन्त्री शुनिची सुजुकीलाई पनि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, साथै संसदका सदस्यहरू,सेनाका अधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारहरूलाई रोक लगाइएको एनएचकेको समाचार प्रकाशित छ।यो युक्रेनमा आक्रमण गरेकोमा मस्को विरुद्ध जापानले लगाएको प्रतिबन्धको बदलास्वरुप आएको बताइएको छ ।
“फुमियो किशिदाको प्रशासनले एक अभूतपूर्व रुसी विरोधी अभियान सुरु गर्यो, रुसी संघ विरुद्ध अस्वीकार्य शब्दाडम्बरलाई अनुमति दियो, जसमा लान्छना र प्रत्यक्ष धम्कीहरू छन्,” रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा प्रकाशित गरि सो कुरा उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ टोकियोले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय अख्तियारलाई नोक्सान पुर्याउने कदम चाल्दै अभूतपूर्व रुस विरोधी अभियान चलाएको र रसियाका शीर्ष नेतृत्व लगायत रुसी नागरिकहरू विरुद्ध जापानले लगाएको प्रतिबन्धलाई ध्यानमा उनीहरूमाथि रुस प्रवेशमा प्रतिबन्ध लगाईएको हो ।
“यो जापानका सार्वजनिक व्यक्तित्वहरू, विज्ञहरू र संचार माध्यमहरूद्वारा प्रतिध्वनित छ, जो हाम्रो देशप्रति पश्चिमको दृष्टिकोणमा पूर्ण रूपमा संलग्न छन्।” विज्ञप्तिमा भनिएको छ ।
मार्चदेखि, जापानले युक्रेनमा रूसको आक्रमणको प्रतिक्रियामा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारका सदस्यहरूको सम्पत्ति रोक्का गर्ने सहित रुस विरुद्ध प्रतिबन्धहरूको श्रृंखला प्रस्तुत गरिसकेको छ।
रुस विरुद्ध जापानको प्रतिबन्धमा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका दुई छोरीहरूसहित सरकारी र सैन्य अधिकारीहरू रहेका छन साथै उनीहरुको सम्पत्ति रोक्का समेत गरिएको छ। जापानले आठ रुसी कूटनीतिज्ञ र अधिकारीहरूलाई पनि निष्कासन गरेको छ।
रुसले राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री बोरिस जोनसनलगायत अमेरिकी र बेलायती सरकारी अधिकारीहरूलाई पनि प्रवेशमा रोक लगाएको छ।
‘यो नितान्त अस्वीकार्य छ’-प्रधानमन्त्री फुमियो किशिदा
प्रधानमन्त्री फुमियो किशिदाले मे ४ तारिखमा रुसले आफूसहित ६३ जापानी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको बारेमा रोममा पत्रकारसँग भने, ‘यो नितान्त अस्वीकार्य छ । G7 (सात विकसित देशहरू) लगायत अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा उपयुक्त कदम चाल्न चाहन्छु।’ उनले भने- प्रधानमन्त्रीले भने, “यस्तो अवस्था निम्त्याएको रुसी पक्षले हो। यसमा रुस पूर्ण रूपमा जिम्मेवार छ।”