सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ र तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
आयल निगमले दुई वर्षपछि भूगोलअनुसार फरक–फरक हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रणाली पनि ब्युँताएको छ। दुई वर्षअघि निगम चरम घाटामा जान थालेपछि भने देशभर एउटै मूल्य प्रणाली लागू गरेको थियो।
मूल्य घटेपछि काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल एक सय ७० रुपैयाँ तथा डिजेल र मटीतेल समान एक सय ५० रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्।
निगमले आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरलदे घटाएको छ।
मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १.०३५ डलर प्रतिलिटर कायम भएको छ।
निगमले यसअघि गत ५ असारमा हवाई इन्धनको मूल्य दश रुपैयाँ घटाएको थियो। यसैगरी, २ जेठमा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर दश रुपैयाँ घटाएको थियो भने २० चैतमा पेट्रोलमा तीन रुपैयाँ घटाएको थियो।