दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

-


     जनहित न्युज    
     असाेज १७ गते २०७९


काठमाडौँ । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।

file photo

विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्ने लगायतका समस्या यात्रुले भोगिरहेका छन् । कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयो । सवारी साधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उहाँको भनाइ छ ।

काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । आम नागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उहाँले बताउनुभयो ।

सबै क्षेत्रले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक सवारी साधनलाई दिनुपर्ने महासङ्घले सरकारसमक्ष माग गर्दै आएको थियो । शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म त्यस्ता सवारी साधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । यो वर्ष दसैँ चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दसैँलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्ण रूपमा नहटिसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?