जापानमा रक्तिमको प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न

-


     जनहित न्युज    
     कार्तिक १७ गते २०८१


जापानमा रक्तिम सांस्कृतिक अभियानको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

राजधानी टोकियोको कामता सोलमारी रेस्टुरेन्टमा अक्टोबर ३०, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जापान नेपाली एकता समाजका कावा अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्य रहेको थियो ।

सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष केसीले परदेशमा पनि रक्तिमले देशप्रतिको आन्दोलनमा गीतसङ्गीतको माध्यमबाट देउसीभैलो खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

‘यस्ता कार्यक्रम नछुटाई हेर्ने, सुन्ने बानी बसाले जनचेतना फैलिन्छ’ उहाँले भन्नुभयो ।

जापानमा मात्रै नभएर देशको चिन्ता गर्ने सङ्गठन विश्वका धेरै देशमा रहेको र त्यो सङ्गठन एकता समाज भएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो– ‘मजदुरी गर्न गएका नेपालीहरू अन्य सङ्गठनभन्दा एकता समाजमा सङ्गठित भए अनुशासित भएर सामाजिक परिवर्तनको सिपाही बन्न सक्दछन् ।’

विशिष्ट अतिथि एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले रक्तिम भन्नेबित्तिकै सचेत नेपाली युवाका नसानसामा बसेको सङ्गठन बताउनुभयो ।आफू पनि बाल्यकालदेखि नै रक्तिमका गीतसङ्गीतसँग निकै नजिक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका अन्य अतिथिहरूमा गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेत, नवलपुर समाजका अध्यक्ष सुभास सापकोटा, द गोर्खाली भ्वाइसका प्रधान सम्पादक विश्वास आचार्य, एनआरएनएका सचिव दीपेश केसी, जापान नेपाली एकता समाजका सचिव धनराज शर्मा, कान्तो क्षेत्रीय समितिका अध्यक्ष नारायण कँडेल, केन्द्रीय सदस्य उमेश निउरे र गोम बुढाथोकी हुनुहुन्थ्यो ।

त्यस्तै, नेपालबाट जापान भ्रमणमा आउनुभएका बेलु साहनी, पुतली साहनी, पुनराम गौतम, डिलकुमारी गौतमलगायतको पनि कार्यक्रममा आतिथ्य रहेको थियो । पहिलो औपचारिक कार्यक्रमपछि दोश्रो चरणको कार्यक्रम सचित्र केसीको सञ्चालनमा अघि बढेको थियो ।

कार्यक्रममा रक्तिमका कलाकारले नेपालको सस्कृति झल्किने गरी देउसीभैलो प्रस्तुत गरेका थिए । सोही अवसरमा “पूर्व बग्ने सुनकोसी”, “रातो लालटिन”, “झुक्दैन शिर हाम्रो”, “सालैजो”, “सोरठी पैयुँ फुल्दा”, “तिहारै आउँदा”, “सिमली छायामा बसी”, “पञ्चेबाजा म जन्मेर हुर्केको ठाउँमा” जस्ता दर्जनौँ गीतसङ्गीतलाई नृत्यको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

‘कलाकारहरूले नेपालै सम्झिने गरी प्रस्तुति राखेका थिए । परदेशमै भए पनि एकछिन दुःख बिर्सी राष्ट्र, राष्ट्रियताप्रतिको गीतले दर्शको ध्यान तानेको थियो’ रक्तिमका कोषाध्यक्ष नवीन बस्यालले भन्नुभयो– ‘कलाकारले कार्यक्रमको उदेश्य हाम्रो प्रगतिशील कलासंस्कृति बचाइराख्नु र देशप्रतिको आफ्नो जिम्मेवारी बढाउनु हो ।’

रक्तिमका सचिव नारायण ज्ञवालीको अध्क्षता तथा कोषाध्यक्ष नवीन बस्यालको सञ्चालनमा सम्पन उक्त कार्यक्रमलाई रक्तिम जापानका संरक्षक सचित्र केसीले शब्दद्वारा कलाकारद्वारा “परदेशी नेपालीको” गीतद्वारा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?