व्यवसायीक माछा पालनबाट मनग्य आम्दानी गर्दै 

-


     जनहित न्युज    
     कार्तिक १६ गते २०७९


गाउँमा रोजगारी नपाएपछि नेपाली युवा खाडी मुलुक तथा भारतमा कामको खोजीमा जाने गरेका छन् ।

गाउँमा सम्भावना नदेख्ने र गाउँमा इलम गर्न लाज मान्ने प्रवृत्तिका कारण रोजगारी खोज्न विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दो छ ।

एकातर्फ तीन वटै तहका सरकारसँग रोजगारी सृजनाको ठोस नीति नहुनु र अर्कोतर्फ शिक्षित युवाहरू नै गाउँघरमा काम गर्न, व्यापार व्यवसाय, कृषि उद्यमशीलता गर्न हिचकिचाउने प्रवृत्तिले गर्दा बेरोजगारीको समस्या चुलिँदै गएको छ । अझ मुलुकका सात प्रदेश मध्ये बेरोजगारीको समस्या कर्णाली प्रदेश बढी यो समस्या छ । गत आवको आर्थिक सर्वेक्षणको रिपोर्ट अनुसार कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेर ३९ प्रतिशत पुगेको छ ।

तथ्यांकीय रुपमा हेर्दा गरिबी घटेको छ । यस अर्थमा कर्णालीका युवा युवतीको रोजगारी दर बढेको हुनुपर्ने हो । तर वास्तविक रुपमा रोजगारी बढेको देखिदैन् ।  अझै दसैँ तिहार मनाई सकेपछि हजारौँको सङ्ख्यामा कर्णालीबाट कमाउन कालापहाड जाने गरेका छन् । त्यही रुपमा खाडी मुलुकमा जानेको सङ्ख्या पनि अत्याधिक छ ।

तर सङ्घीयतापछि बेरोजगारी अन्त्यका लागि उल्लेखीय काम हुन नसकेको अवस्थामा जुम्ला तातोपानी गाउँपालिका ४ का ददिमने सार्की विगत एक दशकदेखि गाउँमै व्यवसायीक माछापालन गरेर मनग्य कमाउँदै आउनुभएको छ । परीक्षणका रुपमा गरिएको माछापालन सफल भएपछि सार्की माछा पालनमा जम्नुभएको हो । गाउँमै रोजगारी सृजनासँगै मनग्य आम्दानी गर्दै आउनुभएका सार्की दशकदेखि माछा पालनमा लाग्दै आउनुभएको छ ।

उहाँले सदरमुकाम खलङ्गादेखि करिब १५ किलोमिटर टाढा दुर्गम खिडिखोला गाउँमै एक दशकदेखि माछापालन गरि आम्दानी गर्दै आउनुभएको छ । गाउँमा माछाको माग बढ्दो छ । माछा पालनबाटै उहाँको परिवारको घर खर्च चलेको छ । आम्दानी पनि राम्रो छ ।

“कमलकार जातको माछाबाट व्यवसाय सुरु गरेको हुँ । अहिले झण्डै ५ प्रकारका माछा छन् । गाउँपालिकाको सहयोग शून्य छ । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालयबाट घेराबार पाएको छु । व्यक्तिगत ६ लाख लगानी छ । कतैबाट सहयोग नपाए पनि तर मैले माछा पालनलाई निरन्तरता दिएको छु ।” ददिमनेले भन्नुभयो ।

उहाँले गत आवमा माछा पोखरी निर्माण गरेपनि स्टमेट अनुसार काम नभएको भन्दै तातोपानी गाउँपालिकाले बजेट भुक्तानी नदिएको गुनासो गर्नुभयो । गाउँमै गरेको उधमशीलाई प्रोत्साहन गर्ने ठाउँमा पूर्वाधार निर्माण गरेको पनि बजेट भुक्तानी नदिएको उहाँले दुखेसो पोख्नुभयो ।

जुम्ला सदरमुकामदेखि विभिन्न स्थानीय बजारमा लिएर बेच्ने गरेको उहाँको भनाई छ । गाउँमै पुगेर माछा लिनेलाई सहुलियत मूल्यमा समेत दिने गरेको उहाँले बताउनुभयो । गाउँमै ५ सय माथिदेखि एक हजार सम्म प्रति केजी माछा बिक्री भइरहेको छ । सिजनमा माछा बिक्रीबाट मासिक १० हजारभन्दा बढी आम्दानी भइरहेको समेत सार्कीले बताउनुभयो  । कात्तिकदेखि वैशाख जेठसम्म माछा बिक्री हुने गरेको छ भने माछा पालनमा छोराछोरीको साथ पनि उहाँलाई साथ दिएका छन् ।

असारमा मात्र ३ हजार भुरा पोखरीमा छोडिएको र कम्तीमा ५ लाख बढी आम्दानी हुने अपेक्षा ददिमने सार्कीको भनाई छ । कात्तिक अन्तिम साताबाट माछा बिक्री गरिने उहाँले बताउनुभयो । गाउँमै गरिएको उद्यमशीलताले उहाँ अन्य युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ ।

“गाउँमै गरेको माछा पालनले सेवासँगै आम्दानी पनि भएको छ । बेरोजगार युवाका लागि पनि एक उदाहरण बनेको छ । व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्न जरुरी छ ।”, स्थानीय गोपीकृष्ण पाण्डेले भन्नुभयो ।

गाउँमै रोजगारी सृजना र व्यवसाय प्रवर्द्धनका लागि स्थानीय सरकारले ठोस नीति निर्माणमा जोड दिन आवश्यक छ । युवालाई निर्ब्याजी ऋण दिने, सहुलियत कर्जा, उत्पादनका आधारमा अनुदान तथा उत्कृष्ट उद्यमीलाई सम्मान प्रोत्साहनको नीति निर्माण तथा कार्यान्वयनमा जुम्लाका आठै स्थानीय तहले  ध्यान दिनुपर्ने माछा पालक सार्कीको भनाई छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?