इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि: इरानमा ४० दिने शोक घोषणा

- ट्रम्पले भने- अब सर्वोच्च नेता को बन्छन् भन्ने हामीलाई थाहा छ

-


     जनहित न्युज    
     फागुन १७ गते २०८२


तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिका र इसराइलले गरेको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको पुष्टि भएको छ। इरानी सरकारी टेलिभिजन र विभिन्न सञ्चारमाध्यमहरूले आइतबार बिहान खामेनी मारिएको औपचारिक पुष्टि गरेका हुन्।

इरानी सुरक्षा बल ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कोर’ (आईआरजीसी) ले पनि एक विशेष वक्तव्य जारी गर्दै सर्वोच्च नेताको मृत्यु भएको स्वीकार गरेको छ। खामेनीको मृत्युसँगै इरानमा ४० दिने सार्वजनिक शोक घोषणा गरिएको छ भने सात दिनका लागि सार्वजनिक बिदादिइएको छ।

आक्रमण र क्षति

शनिबार बिहान अमेरिका र इसराइलले राजधानी तेहरानलाई लक्षित गरी संयुक्त रूपमा शक्तिशाली हवाई हमला गरेका थिए। विस्फोटका ठूला आवाजसँगै खामेनीको निवास नजिकै धुवाँको मुस्लो देखिएको थियो। अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ का अनुसार सोही आक्रमणमा ८६ वर्षीय खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नातिको समेत मृत्यु भएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरे पनि इरानी अधिकारीहरूले उनलाई सुरक्षित बंकरमा राखिएको र उनी जीवितै रहेको बताउँदै आएका थिए। तर, आइतबार बिहान अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उनको मृत्युको समाचार पुष्टि गरेको हो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

आक्रमणपश्चात् इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस कारबाहीको मुख्य उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको बताएका छन्। यता अमेरिकी राष्ट्रपति ट्रम्पले भिडियो सन्देश जारी गर्दै इरानी नागरिकहरूका लागि अब सत्ता आफ्नो नियन्त्रणमा लिने “सुनौलो अवसर” आएको टिप्पणी गरेका छन्। खामेनीको मृत्युपछि इरानका विभिन्न स्थानमा नागरिकहरूले उत्सव मनाएको रिपोर्टहरू सार्वजनिक भए पनि लगातारको आक्रमणको डरले अधिकांश मानिसहरू घरभित्रै बसिरहेका छन्।


अब को बन्छ सर्वोच्च नेता? कसरी छानिन्छ?

सन् १९८९ देखि इरानको नेतृत्व गर्दै आएका खामेनीको अवसानपछि अब नेतृत्व कसले सम्हाल्छ भन्ने विषयमा विश्वव्यापी चासो बढेको छ। इरानको संविधान अनुसार सर्वोच्च नेता छान्न निश्चित प्रक्रिया रहेको छ:

  • विज्ञहरूको सभा (Assembly of Experts): इरानमा ८८ जना सदस्य रहेको ‘विज्ञहरूको सभा’ले नयाँ सर्वोच्च नेता छान्ने जिम्मेवारी पाउँछ। सभाले उम्मेदवार चयन गरेपछि मतदान प्रक्रिया सुरु हुन्छ, जुन टुङ्गो लाग्न महिनौँ लाग्न सक्छ।
  • योग्यता: सर्वोच्च नेता बन्नका लागि उच्च तहको शिया धर्मगुरु र राजनीतिक रूपमा अनुभवी हुनु अनिवार्य मानिन्छ।

सम्भावित दाबेदारहरू:

१. मोज्तबा खामेनी (५६): खामेनीका दोस्रो छोरा। उनी सुरक्षा बल (आईआरजीसी) सँग नजिक छन्, तर छोरालाई सत्ता सुम्पिने परम्परा शिया प्रतिष्ठानमा त्यति रुचाइँदैन। २. अलिरेजा अराफी (६७): विज्ञ सभाका उपाध्यक्ष र शक्तिशाली गार्डियन काउन्सिलका पूर्व सदस्य। ३. मोहम्मद मेहदी मिर्बाघेरी (६०): पश्चिमा देशहरूप्रति कडा दृष्टिकोण राख्ने कट्टरपन्थी धर्मगुरु। ४. हसन खोमेनी: इरानका संस्थापक आयातोल्लाह रूहोल्लाह खोमेनीका नाति। उनी मध्यममार्गी मानिन्छन् तर सुरक्षा निकायमा उनको प्रभाव कम छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा आफूलाई इरानको आगामी नेतृत्व कसले सम्हाल्दैछ भन्ने थाहा भएको दाबी गरे पनि नाम भने खुलाएका छैनन्। इरानको यो राजनीतिक मोडले मध्यपूर्वको शक्ति सन्तुलनमा ठुलो फेरबदल ल्याउने निश्चित देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?