
जापानको ओसाकाका गभर्नर यासीमुरा हिरोखुमीद्वारा कोभिड-१९ कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीको लागि प्रोत्साहन भत्ता र स्वास्थ्य सामग्री संकलनको अभियानमा आर्थिक तथा जिन्सी सहयोग गरेबापत बागलुङका कमलबहादुर कार्कीलाई त्यहाको सरकारले सम्मान गरेको छ ।
गत वर्षदेखि कोरोना महामारीका बिरामीको उपचारमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन स्वरूप थप आर्थिक सहायता प्रदानका लागि गभर्नर यासिमुराद्वारा संचालन गरिएको आर्थिक संकलन र स्वास्थ्यकर्मीका लागि आवश्यक कोट संकलन अभियानमा कार्कीले आर्थिक तथा जिन्सी सामग्री प्रदान गरेबापत गभर्नरले सम्मानपत्रद्वारा सम्मानित गरेका हुन ।
व्यावसायी कार्कीले गतवर्षदेखि नै ओसाकाको सरकारले संचालन गरेको अभियानमा सहयोग गर्दै आइरहेको बताऊदै याद वर्ष आर्थिकसहित स्वास्थ्यकर्मीले लगाउने कोट जिन्सीको रूपमा वार्ड अफिसमार्फत प्रदान गरेको बताए । के कति आर्थिक र जिन्सी सहयोग गरिएको बारेमा उल्लेख गर्न नपाइने भएकोले सहयोग गरेको आधारमा सम्मानपत्रद्वारा बिदेशी भुमिमा रहेर पनि सम्मानित हुन पाउदा खुशी लागेको कार्कीले बताए ।
सामाजिक क्रियाकलापमा सक्रिय कार्की बागलुङको गल्कोट नगरपालिका २ नरेठाँटीको भुङ्खानी घर भै बिगत १३ बर्षदेखि जापानको ओसाकामा होटल व्यवसाय संचालन गर्दै आएका छन ।
सम्मान ग्रहणपछि कार्कीले बिदेशी भुमिमा रहेर सामाजिक क्षेत्रमा काम गर्दा र जापान सरकारले त्यसको मुल्याङ्कन गरेर सम्मान गर्दा अझै सामाजिक क्षेत्रमा काम गर्ने हौसला मिलेको बताए ।
करिव ९६ हजार नेपाली सहित २० लाख २८ हजार बिदेशी रहेको जापानमा नेपालीहरूले जापान सरकारलाई स्वास्थ्य सकारात्मक सूचना प्रवाह सार्वजनिक स्थलमा सरसफ़ाइ अभियान संचालन भाषा अनुवाद लगायत योगदान गरेबापत जापान सरकारका विभिन्न निकायले व्यक्ति तथा संस्थागत रूपमा सम्मानित गर्दै आइरहेको छ ।



