
गलकोट क्षेत्रमा भलिबल खेलको संरक्षण, सम्वर्धन र खेलाडीको वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यले नेपाल भलिबल संघ गलकोट नगर समिति अन्तर्गतका ११ वटै वडाका समितिहरूलाई घुम्टे युवा परिवार जापान शाखाले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
परदेशमा रहेर पनि विशेषतः भलिबल खेलको विकास र जापानमा रहेका खेलाडीलाई सो खेलप्रति सक्रिय बनाईराख्न आफ्ना क्रियाकलापहरू गर्दै आइरहेको जापान शाखाले जन्मभूमिको पालिकामा खेलकूदप्रति चासो जगाई राख्न र खेलाडीहरूको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि रु १ लाख ५० हजार बराबरको खेलकुद सामाग्री सो समितिलाई सहयोग स्वरूप हस्तान्तरण गरिएको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।

राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने र राष्ट्रिय खेल भलिबलमा गलकोटबाट कुशल खेलाडी उत्पादनमा केहि योगदान पुर्याउने र गलकोट नगरको खेलकुद विकास सँगै खेलाडीहरुलाई भलिबल खेलप्रति आकर्षित गर्दै थप प्रोत्साहन गर्न गलकोट भलिबल संघका अध्यक्ष हुम थापाको आग्रहमा खेलकुद सामाग्री सहयोग गरिएको अध्यक्ष थापाले बताए ।
गलकोट नगरपालिकाको हटिया बजारमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममार्फत जापान शाखाका सचिब तुलबिर थापासहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको सो कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता समेत रहेका वार्ड नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले खेलकूदको माध्यमबाट युवा पिढीलाई सामाजिक कार्यमा सक्रिय बनाई राख्न र स्वास्थ्य, अनुशासन र मेलमिलापको निम्ति भलिबल खेल गलकोट क्षेत्रमा उपयुक्त रहेकोले यसको विकासका लागि घुम्टे युवा परिवार जापान शाखाले गरेको कार्य स्राहनिय रहेको बताए ।

कार्यक्रममा नेपाल भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी, नेपाली काँग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, घुम्टे युवा परिवार जापान शाखाका सचिव तुलविर थापा लगायतले घुम्टे युवा परिवारले मल्म हुदै गलकोट र जापानमा समेत भलिबल खेलका लागि पुर्याएको योगदानको चर्चा गर्दै यस कार्यलाई निरन्तरता दिन र खेल र खेलाडीको विकासमा मदत गर्नका लागि आग्रह गरेका थिए ।
सो अवसरमा गलकोट नगरमा खेलकुदको विकास, समस्या र चुनौतिको विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका ११ वटै वडाका नेपाल भलिबल संघको वडा समितिलाई २ थान बल, १ थान नेट र १ थान पम सहयोग हस्तान्तरण गरिएको जापान शाखाका खेलकूद संयोजक मनोज केसीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशको भूमिमा रहेर पनि पर्वद्धन, संरक्षण र विकास गर्दै जापानमा रहेका खेलाडीहरुलाई खेल क्षेत्रमा अझै क्रियाशिल गराउन र खेलको माध्यमबाट प्रवास तथा स्वदेशमा रहेका खेलाडी/खेलप्रेमीहरुलाई जोडेर समग्र खेल क्षेत्रको विकास गर्ने उदेश्यका साथ संस्थाले प्रथम सिल्भर रनिङ कप पुरुष खुल्ला भलिवल प्रतियोगिता समेत गरिसकेको छ ।
कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



