
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन।जापानको दक्षिण पश्चिमी फुकुओका क्षेत्रमा उनी बस्दै आएकी थिइन । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नसिङ होममा रहँदा उनले बोर्ड गेम्समा रमाउथे भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्थिन । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थे। उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन ।

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिएन । उनले चार सन्तान जन्माएका थिए । खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेका थिए । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएका थिइन ।
नारा प्रान्तका बासिन्दा १११ वर्षीय मिकिजो उएडा सबैभन्दा जेष्ठ पुरुष जापानी नागरिक हुन्।
जापानमा वृद्धको संख्या ३ करोड ६४ लाख भन्दा बढि
आन्तरिक मामिला मन्त्रालयका अनुसार वृद्धाहरुको जनसंख्या सन २०२१ को डिसेम्बरसम्ममा ३ करोड ६४ लाख भन्दा बढि रहेको बताएको छ । यो संख्या गतवर्ष भन्दा २ लाख २० हजारले बढि रहेको सर्वेक्षणले देखाएको छ ।
हाल जापानको कुल जनसंख्या १२ करोड ६० लाख ८ हजार ८ सय ४० रहेको छ ।यस मध्य १ करोड ५३ लाख ३ हजार पुरुष र २ करोड ५७ हजार महिला रहेका छन ।
मन्त्रालयका अनुसार ६५ वर्ष माथिको जनसंख्या २९ दशमलव १ प्रतिशतको हारहारीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष वृद्धाको जनसंख्या ० दशमलव ३ प्रतिशतले बढेको छ । तर जापानको कूल जनसंख्या गत वर्ष भन्दा ५ लाख १० हजारले घटेको छ ।
संयुक्त राष्ट्र संघको तथ्यांकले वृद्धाहरुको जनसंख्या सबैभन्दा बढि जापानमा रहेको बताएको छ । दोस्रोमा इटाली रहेको र त्यहा वृद्धाहरूको जनसंख्या कुल जनसंख्याको २३ प्रतिशत रहेको छ ।
मन्त्रालयले १७ वर्षदेखि यता यस वर्ष वृद्धाहरुको कामदार संख्या ९ दशमलव ०६ मिलियन रहेको बताउदै यो संख्या कुल श्रमशक्तिको १३ दशमलव ६ प्रतिशत देखिदा नया कीर्तिमान कायम गरेको बताएको छ ।
६५ वर्ष र सो भन्दा माथिको उमेर समूहका कामदारको संख्या लगातार ९ वर्षदेखि यता २५ दशमलव १ प्रतिशत रहेको छ जुन अन्य प्रमुख देशहरूको तुलनामा ज्यादै उच्च हो ।



