
बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीका गमबहादुर कुँवर केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरिया पुगे । उनले कोरियामा नेपालको जस्तो स्रोतसाधन प्रशस्त नभएको तर विकास भने निकै भएको पाए । पाँच वर्ष कोरियामा बिताएर कुँवर आफ्नै गाउँ फर्किएका कुँवरले बाख्रापालन गर्ने सोच गराइ र पारिवारिक रूपमा बाख्रापालन थालनी गरे ।
४१ वर्षीय कुँवरले चार वर्षअगाडि १०/१२ वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले पहाडी इलाकाकै सबैभन्दा ठूलो फर्मका रूपमा स्थापित भएको छ । संयुक्त परिवार रहेको कुँवरका सबै सदस्यले व्यवसायमा सघाउँदै आएका छन् । कुँवरले करिब छ रोपनी क्षेत्रमा व्यवस्थित खोर निर्माण गरेर बाख्राहरू पालेका छन।
कुँवरको फर्म वरपर विभिन्न रंगमा बाख्रा, खसीबोकाले भरिएका छन् । उहाँको फर्ममा अहिले सानाठूला गरी ३५० बढी बाख्राहरू रहेका छन् । बाख्राको संख्या बढ्दै गएपछि कुँवरले सातजनालाई रोजगारसमेत दिएका छन । कुँवर बिहान उठेदेखि रातीसम्म बाख्राको स्याहारसुसारमा लाग्छन । परिवारका सबै सदस्यहरूले पनि दैनिक फर्ममा काम गर्दै आएका छन् ।

११ जनाको परिवार रहेकोे कुँवरको घरमा सबैजना सोही कार्यलाइ सघाउने गर्दछन । बाख्रापालन व्यवसाय फस्टाउँदै गएपछि परिवारका सबै सदस्य सन्तुष्ट छन् । युवाको इच्छाशक्ति भए सबै क्षेत्रमा काम गर्न सक्ने र व्यावसायिक बन्न सक्ने कुँवरको भनाइ छ । उनी आफ्नो व्यवसायबाट परिवार सन्तुष्ट बनेको भन्दै व्यवसायलाई थप व्यवस्थित गर्दै जाने बताउछन । ‘म कोरिया गएर पाँच वर्ष काम गरेँ, त्यहाँ प्रशस्त स्रोतसाधन छैन तर विकास भने निकै भएको देखेँ, यहाँ हाम्रोमा प्रशस्त स्रोतसाधन हुँदा पनि विकास हुन सकेको छैन,’ उनले भने, ‘कोरियामा त्यस्तो विकास भएको देखेपछि गाउँ फर्केर व्यवसाय गर्ने सोच जाग्यो त्यसपछि गाउँ आएर व्यवसाय सुरु गरेको हुँ, यो व्यवसायले सबै सन्तुष्ट हुनुहुन्छ ।’
उनले विदेश जाने युवाहरूले गाउँमै व्यावसायिक बन्ने सोच बनाएर लागे घरमै काम गरेर पनि मनग्ये आम्दानी गर्न सकिने बताए । ‘युवाहरूमा विदेश जानेबाहेक अरू सोचै छैन, अनि कसरी हाम्रो देश विकास हुन्छ ?’ कुँवर भन्छन, ‘म पनि सुरुमा लहैलहैमा लगेर कोरिया गएँ तर धेरै बसिनँ, फर्केर बाख्रापालन थालेको हुँ ।’ पाँच लाख ३२ हजारबाट सुरु गरेको व्यवयास अहिले फस्टाउँदै गएपछि कुँवर पनि निकै खुसी छन । उनले अहिले वार्षिक ५० लाखको व्यापार गर्दै आएका छन। यस वर्ष ८० लाख बढीका बाख्राहरू बेच्ने तयारीमा रहेको उनले बताए । यस वर्षपनि २०० बढी बाख्रा बेच्ने तयारीमा रहेको कुँवर रहेका छन ।
‘गत वर्ष झण्डै २०० वटा बाख्रा बेचेँ, यस वर्ष पनि त्योभन्दा बढी बेच्ने लक्ष्य छ,’ कुँवरले भने, ‘अहिले नै दुई सय बाख्रा बेच्नका लागि तयार भइसकेका छन् ।’ उनले सरकारी अनुदानमा दुई वर्षअगाडि पशु विज्ञ केन्द्र बागलुङबाट दुईवटा बाख्रा प्राप्त गरेको भन्दै त्योभन्दा बढी अनुदान सरकारबाट नपाएको बताए ।
यस ठाउँमा बाख्रापालनका लागि एकदमै राम्रो वातावरण रहेको उनको भनाइ छ । उनले सरकारले समय-समयमा प्राविधिक तालिम तथा ज्ञान दिन सके समस्याहरू भोग्नुनपर्ने बताए । ‘यहाँ प्राविधिक नहुँदा समस्या हुने गरेको छ, कहिलेकाहीँ बाख्रा ब्याउनेक्रममा बच्चा जन्माउन नसक्ने र मर्ने अवस्था आउँछ, त्यस समयमा प्राविधिकको आवश्यकता पर्छ तर प्राविधिक नपाउने अवस्था छ,’ कुँवरले भने, ‘समय–समयमा प्राविधिक सहयोग हुने, प्राविधिक ज्ञानसम्बन्धी तालिम दिने हो भने त्यति समस्या भोग्नुपर्ने थिएन ।’

उनले बजारको मागअनुसार उत्पादन गर्न नसकेको समेत बताए । बाख्राको माग बढ्दो भएको भन्दै आफूहरूले उत्पादनमा जोड दिइरहेको उनको दाबी छ । उत्पादनले बजार नपाउला भन्ने चिन्ता नरहेको भन्दै खोरबाटै बाख्रा बिक्री हुने गरेको उनी बताउछन । ‘बाख्रा नबिक्ने हो कि भन्ने चिन्ता नै छैन, बरु मागअनुसारको उत्पादन गर्न सकिएको छैन, बाख्रा खोरबाट बाहिर लैजानै पर्दैन, ग्राहकहरू खोरमै आएर लैजानुहुन्छ,’ उनले भने, ‘हाम्रो उत्पादन राम्रो भएर होला एक पटक आएको ग्राहक पटक-पटक आउने गर्नुहुन्छ ।’
नेपाली युवाहरू अर्काको देशमा जे पनि गर्न तयार हुने तर आफ्नो देशमा केही गर्नुपर्छ भन्ने सोच नै नराख्ने अहिलेको मुख्य समस्या रहेको उनको बुझाई छ । ‘धेरै युवाहरूमा व्यावसायिक बन्ने, स्वदेशमै केही गरौँ भन्ने भाव नै जाग्दैन, विदेश जाने नै यहीँका युवाहरूको मनमा छ,’ हाम्रो गाउँठाउँमा भएको स्रोतसाधनको प्रयोग गरियो भने विदेश जानुपर्दैन,’ उनी भन्छन।
तस्विर: गमबहादुर कुँवर



