
छोरी निक्कीको भविष्यका लागि नवराज सिलवाल निकै चिन्तित थिए- हुर्किंदै जाँदा जापानकै रहनसहनमा घुलेर नेपाल फर्किन नमान्ने पो हो कि ? उनलाई यो चिन्ताले सधैँजसो पिरोलिरहन्थ्यो । १० वर्षकाे जापान बसाइका क्रममा उनले त्यस्ता घटना देखेका पनि थिए ।
एक दिन नवराजले श्रीमती कल्पनालाई नेपाल फर्किने योजना सुनाए । उनले पनि त्यो निर्णय सहजै स्वीकारिन् । उनीहरू २०१९ मा नेपाल फर्किए ।
जापानमा उनले दाम मात्रै कमाउँथे । त्यो दिनको निर्णयले उनलाई दाम, नाम र त्योभन्दा धेरै सन्तुष्टि दिएको छ । अहिले उनले काठमाडाैंकाे पुतलीसडक चोकमा ‘बर्गर हब’ सञ्चालन गरिरहेका छन् । उनले भारतबाट क्रिम मगाएर भए पनि ‘ब्ल्याक बर्गर’ लाई ब्रान्डिङ गरेर नेपालमा बर्गरपारखीहरूकाे संख्या पनि बढाइरहेका छन् । त्यस्तै, उनले पर्वअनुसार रातो रङको बर्गर पनि बेच्छन् ।

बर्गरबाहेक उनको रेस्टुरेन्टमा मम, चाउमिन, पिज्जा, फालाफिललगायत धेरै प्रकारका परिकार पाइन्छ । उनी नेपाली मसला प्रयोग गरेर बर्गर बनाउने सोचमा छन् । हाल सात जनाले रोजगारी पाइरहेका छन् उनको रेस्टुरेन्टमा । दैनिक ३०/४० हजारको हाराहारीमा व्यापार हुन्छ । यो रेस्टुरेन्टको सफलतासँगै उनी अरु ठाउँमा पनि फ्रेन्चाइज खोल्ने सोचमा छन् ।
अहिले सफलता चुमेका नवराज यो स्थानमा सजिलै आएका भने होइनन् । २०४३ सालमा धादिङको नलाङमा जन्मिएका उनी प्लस टू सकेर २०६३ सालमा उच्च शिक्षाका लागि काठमाडौं हानिए । पब्लिक युथ क्याम्पसमा स्नातक गर्दै गर्दा ठमेलमा कोरियनले चलाएको रेस्टुरेन्टमा वेटरको जागिर गरे । वेटरबाट उनी बार टेन्डर, बारिस्ठा हुँदै होटलमा सबै व्यवस्थापन हेर्न थाले ।
‘किन–किन यो पेसामा म साह्रै रमाएँ । त्यहाँ काम गर्दादेखि नै मैले एक दिन आफ्नै रेस्टुरेन्ट खोल्छु भन्ने सोच बनाएको थिएँ,’ उनले भने । रेस्टुरेन्टबारे बुझ्ने उनको भोक ठमेलको रेस्टुरेन्टले पूरा भएन । आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्न पनि २५–३० लाख पैसा पनि थिएन । त्यसपछि २०११ मा जापान जाने निर्णय गरे ।
‘रिसर्च गर्दा जापान हस्पिटालिटीमा नम्बर एक नै रहेछ । मान्छेलाई सम्मान गर्ने, कसरी बोल्ने, ग्राहकलाई कस्तो व्यवहार गर्नेलगायत होटल–रेस्टुरेन्टसम्बन्धी धेरै कुरा सिक्न पाइने रहेछ,’ उनले भने, ‘त्यसमाथि राम्रो कमाइ । कमाइएपछि त नेपाल फर्किए पनि केही गर्न सकिन्छ नि जस्तो लाग्यो । ऋण नै खाेजेर भए पनि जापान गएँ ।’
जापान बसाइको सुरुवाती दिनमा भाषा नजान्दा उनले खाना प्याकिङ गर्ने काम गरे । त्यसपछि सेभेन इलाभेन मार्टमा काम गरे र भाषा अझ राम्रो हुँदै गएपछि बर्गर किङमा काम गरे । बर्गर किङमै हो उनले बर्गरको विज्ञता हासिल गरेको । त्यहाँ उनले बर्गर बनाउन सिके । काम राम्रो गर्दै गएपछि उनलाई अलराउण्डरको जिम्मा आयो ।
‘रेस्टुरेन्टमा केही काम गर्ने मान्छे भएन भने त्यो ठाउँमा जानुपर्थ्याे । कहिलेकाहीँ त रातैभरि भुइँ पुछेर बसेको पनि अनुभव छ । भाँडा पनि माझेँ,’ विगत सम्झिँदै उनले भने ।
कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने कुरा त्यहीँबाट बुझे । जापानमा होटल म्यानेजमेन्टमा स्नातक गरिसकेपछि उनले जापानको निकै चर्चित प्रिन्स होटलमा फ्रन्ट डेक्समा काम पाए । त्यति ठूलो जिम्मेवारी नेपालबाट गएका थोरै मात्र मान्छेले पाउने उनी बताउँछन् । उनले त्यो लेबलमा काम गरेको देखेर साथीहरू पनि दंग पर्थे । जापानको अन्तिम समयमा नवराजले महिनाको करिब ३ लाख ५० हजार कमाउँथे र कम्तीमा २ लाख जोगाउँथे ।
कमाइ राम्रै भए पनि उनी त्यहाँ सन्तुष्ट थिएनन् । एउटा होटलमा खुम्चिएर बस्नुपरेको पीडा, रातभरि काम गर्नुपरेको पीडा, छोरी निक्कीको भविष्यको चिन्ताले उनलाई नेपाल नै डोर्यायो ।
जापान गएको केही वर्षपछि विवाह गरेर श्रीमतीलाई पनि उतै लगेका नवराजलाई छोरी जन्मिएपछि जापान बस्न मन मर्याे । छोरी १ वर्ष भएपछि २०१९ मा उनीहरू नेपाल फर्किए । रेस्टुरेन्ट नै खोल्छु भनेर नेपाल फर्किएका उनी राम्रो ठाउँ नपाउँदा अलमलमा थिए । त्यही बेलामा उनले पुतलीसडकमा कन्सल्टेन्सी पनि सुरु गरे ।
नजानेको काममा हात हाल्दा कहाँ सफल भइन्छ र ! कन्सल्टेन्सी असफल भयो । कन्सल्टेन्सीमै हुँदा उनले पुतलीसडकमा बर्गरको राम्रो सम्भावना देखेका थिए । मार्केट रिसर्चका लागि कति दिन त उनी पुतलीसडकमा हिँड्ने मान्छे गनेरै बसे । बर्गर बेच्न पुतलीसडक ठीक ठाउँ भए पनि उनले ठाउँ भने भेट्न सकेका थिएनन् ।
उनकै कन्सल्टेन्सीकै तल एउटा जुत्ता पसल बिक्रीमा रहेछ । उनले त्यो पसल ७ लाखमा किने । पसलमा भएका जुत्तालाई जसले जति पैसा दिन्छ, त्यतिमा दिएर केही दिनमै सके । ‘जुत्ता बेचेर करिब १ लाख ५० हजार आयो । र खाली ठाउँलाई आफ्नो तरिकाले डिजाइन गरेँ,’ उनले भने ।
त्यसपछि सुरु भयाे बर्गर हब ।
२०१९ को अन्तिममा सुरु भएको बर्गर हवमा जम्मा १० जना मात्रै अट्ने ठाउँ थियो । सुरुवाती दिनमा ३ जना मात्रै स्टाफ राखे । बर्गर मात्रै बेच्दा दैनिक ८ हजारको सेल्स हुन्थ्यो ।
उनको बर्गरको डिमाण्ड बढ्दै गयो र ठाउँ पुगेन । संयोगवश सँगै जोडिएको फर्निचर पसल हट्ने भयो । उनले त्यो ठाउँ पनि लिए । ‘करिब २० लाख जति लोन झिकेर रेस्टुरेन्टमा करिब ५० लाख लगानी गरेँ,’ उनले भने ।
रेस्टुरेन्ट ५० जना अट्ने क्षमताको भइसकेपछि स्टाफ संङ्ख्या पनि सात जना पुर्याए । कोठा भाडा मात्रै मासिक १ लाख पुग्यो । खर्च बढे पनि व्यापार राम्रो भएकाले उनी खुसी थिए । तर, रेस्टुरेन्ट ठूलो बनाएको दुई महिना पनि पुग्न नपाउँदै लकडाउन सुरु भयो । लकडाउनले उनलाई नराम्रोसँग थला पारेकाे थियाे । याे अवधिमा उनले १८ लाख नोक्सानी व्यहोरे ।
‘नेपालमा व्यवसाय गर्नुभन्दा बरु जापान नै बसेको भए ठीक हुन्थ्योजस्तो पनि लाग्यो । तर, मम्मीले नबिराउनू नडराउनू भन्नुहुन्थ्यो । र, जो टिक्छ. त्यो ठीक छ भन्ने कुरा पनि मनमा थियो,’ उनले भने ।
अहिले उनको व्यवसाय लयमा आएको छ । रेस्टुरेन्ट कुनै बेलामा पनि खाली हुँदैन । पुतलीसडकका अफिसहरूमा डेलिभरी पनि गरिदिने भएकाले ग्राहक पनि दिन प्रतिदिन बढ्दैछन् । डेलिभरी कम्पनीहरूमार्फत टाढाटाढा पनि डेलिभरी हुन्छ । अहिले उनले साथीसँग मिलेर ग्रो हस्पिटालिटी म्यानेज्मेन्ट ग्रुप नामको कम्पनी खोलेका छन् ।
यो कम्पनीमार्फत उनीहरूले चलाउन नजानेका वा नसकेकाहरूका लागि रेस्टुरेन्टको व्यवस्थापन गरिदिने, रेनोभेसन गरिदिने, केही शुल्क लिएर समस्या हल गरिदिने र शेयर नै हालेर चलाइदिनेसम्म काम गर्छन् ।

यो कम्पनीमार्फत अहिले उनीहरूले पाँचवटा रेस्टुरेन्ट व्यवस्थापन गरिरहेका छन् । ‘यो कम्पनीमार्फत हामीले मूलत: सर्ट टर्म र लङ टर्ममा काम गर्छौं । सर्ट टर्ममा ५५ दिनमा सबै व्यवस्थापन मिलाएर ह्याण्डओभर गर्ने र लङ टर्ममा काम गर्दा नाफाको हिस्सेदारीका आधारमा काम गर्ने,’ उनले भने ।
अब उनी बेकरी खोल्ने र बर्गर हबको केही फ्रेन्चाइज खोल्ने तयारीमा छन् । बर्गर हबमा प्रयोग हुने बेकरी आइटम राम्रो गुणस्तरको दिन बेकरी खोल्न लागेको उनले बताए । कन्सलटेन्सीको असफलता र लकडाउनको पीडा भोगेका नवराज जापानबाट नेपाल फर्किएकोमा दु:खी छैनन् । ‘जापानमै भएको भए अरुकै काम गरिरहेको हुन्थेंँ । नेपाल फर्किएर केही व्यक्तिलाई रोजगारी दिन पाएको छु । त्यो बेलामा जापानबाट फर्किने ठीक निणर्य गरेँछुजस्तो लाग्छ,’ उनले भने । शिलापत्रबाट



