कस्तो हुनुपर्छ जनता र जनप्रतिनिधिको सम्बन्ध ?

-


     प्रकाश घर्तीमगर    
     फागुन १० गते २०७८


जनताका आवाज, विचार र भावनालाई विभिन्न निकायमा समावेश गराई आवश्यक नीति बनाएर उनीहरूको हितमा काम गर्ने दायित्व सबै तहका जनप्रतिनिधिको हो ।

यसैका आधारमा निर्वाचनअगाडि आम नागरिकको बीचमा गएर समुदायको हितका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिने प्रतिबद्धता जनाइन्छ ।

समाजमा केही असल काम गर्ने अपेक्षाबाटै जनताले जनप्रतिनिधिलाई आफ्नो मत दिने हुन् । त्यसैले जनप्रतिनिधिले समाज र समुदायका सामूहिक उद्देश्य पूरा गर्ने क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । त्यसो नहुँदा समाजको रूपान्तरण र विकास होइन, दुर्घटना र विद्रोह निम्तिन सक्छ ।

हरेक क्षेत्रका जनप्रतिनिधिले सामाजिक सम्बन्धलाई बलियो बनाउन प्रयत्न गरिराख्नु पर्छ । जनता इतिहासका निर्माता हुन् जसबाट धेरै ज्ञान आर्जन गर्न सकिन्छ । जनता र जनप्रतिनिधिको सम्बन्ध माछा र पानीको जस्तो हुन्छ, एक अर्काबिना अपूरो । त्यो सम्बन्ध त्यही भावनाका साथ मजबुत बनाउनु पर्छ ।

राजनीतिक दल सत्ता र शक्तिमा पुग्नेबित्तिकै नेतृत्वप्रतिको जनविश्वास कमी हुँदै जानुमा मुख्य कारण चुनावी नारामा अपेक्षाभन्दा बढी आश्वासन बाँड्ने तर विजयी भएपछि जनताले दिएको मतको गरिमाअनुसार विश्वासनीयता कायम राख्न नसक्नु हो ।

राष्ट्रिय समस्यामा केन्द्रित हुनेभन्दा पनि आफ्नो निर्वाचन क्षेत्रको मत सुरक्षित गर्नतिर मात्र ध्यान हुनुले अहिले नेपालको संसदीय निर्वाचन प्रणालीमै बेथिति बढाउँदै लगेको छ ।

यसको विकल्पमा स्थानीय तहको निर्वाचनजस्तै संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीरमुख्यमन्त्री वा राष्ट्रपति हुने हो भने जनताप्रति उत्तरदायी बन्न अभिप्रेरित गर्नेछ ।

संसदीय ननिर्वाचन प्रणालीको अभ्यासबाट जनतामा जुन नकारात्मक प्रभाव परिरहेको छ, विकल्पमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको नीति अवलम्बन गर्न सकिन्छ ।

यसबाट स्वच्छ, निष्पक्ष तरिकाले जनताको मतको कदर गर्न सकिन्छ । यस सन्दर्भमा सकारात्मक ढंगले वैचारिक छलफल हुन आवश्यक छ ।नेतृत्व स्थापनाको विषय समाजका लागि एकै छिनमा जन्मने–मर्ने वा स्थापित–विस्थापित हुने विषय होइन । यो त निरन्तर लामो शृङ्खलाको प्रारूप हो । यसलाई बुझ्ने सवालमा समाजका दुईवटा अतिवादी दृष्टिकोणहरू छन् ।

एकथरी– नेतृत्वलाई आफ्नो स्वार्थ अनुकूल, उसमा कमजोरी भए पनि ढाकछेप गर्ने, अतिरञ्जित तरिकाले चाकडी गर्ने । अर्कोथरीचाहिँ समाजका लागि जति राम्रो काम गरे पनि विचार नमिलेकै कारण अवमूल्यन गर्नतिर लाग्ने प्रवृत्ति छ ।

यी दुवै प्रवृत्ति नेतृत्व स्थापना र विकासका लागि बाधक छन् । नेतृत्वको सही या गलत प्रवृत्ति के हुन् छुट्याउनुपर्छ । नेतृत्वका पनि सीमा, समस्या हुन्छन् । समाजभित्र विविधता छ। त्यस कारण एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्छ ।

पूर्वाग्रह त्यागी, जुनसुकै विचारधाराको लिडर भए पनि उदारणीय कामका लागि उसको सहयोगी बनिदिनुपर्छ । हामी अल्पविकसित राष्ट्रबाट विकाशसील राष्ट्रमा पुग्ने अभियानमा छौं ।

संविधानमा व्यवस्था भएअनुसार समानतामूलक समाज, समाजवाद–उन्मुख अर्थतन्त्र विकासको चरणमा रहेकाले असल नेतृत्व महत्त्वपूर्ण विषय हो ।
विकासका लागि समाजमा तीव्र अपेक्षा छ ।

तर विकास जादुको छडी पनि होइन, छु मन्तर गर्नासाथ चाहेजस्तो भइहाल्ने । यसका लागि निश्चित कामहरू हुनुपर्छ । त्यसलाई लागू गर्न समय लाग्छ । नेतृत्व त्यो उद्देश्य, त्यो विकास प्राप्तिका लागि प्रयत्नशील छ कि छैन, त्यसको चाहिँ अन्वेषण हुन जरुरी छ ।

नेतृत्वले बोलेको कुरा व्यवहारमा लागू गर्नै पर्छ । परिस्थितिअनुरूप निर्णय लिने क्षमता राख्दै समस्या देख्ने मात्रै होइन, गाँठो फुकाउन सिपालु पनि हुनुपर्छ ।

नेताले समाजबारे चिन्तनमनन थर्दै सैद्धान्तिक रूपमा प्रस्तुत भए मात्र पुग्छ भने नेतृत्वले जिम्मेवारी लिएर अगुवा बन्नुपर्छ । नेतृत्व कस्तो बनाउने भन्ने सवालमा समाजको पनि मुख्य भूमिका हुन्छ ।

तर समाजमा नागरिक अधिकार, प्रजातन्त्रको कुरा मात्र गर्ने तर सामाजिक कर्तव्य बिर्सने, आफूले गर्न सक्ने कामबाट पनि पन्छिन खोज्ने समस्या बढ्दै गएको छ ।

समस्या राखिदिँदैमा जिम्मेवारी पूरा भएजस्तो मनोवृत्ति, उदाहरणीय कामका लागि जोखिम मोल्न नचाहने, सामाजका लागि निस्श्वार्थ तरिकाले सेवा नगर्ने प्रवृत्तिले पनि परिस्थितिलाई दास र बन्धक बनाउने सम्भावना देखिन्छ ।

त्यसैले नागरिक र नेतृत्व सबै इमानदार हुँदा मात्र राम्रो काम हुन्छ । जहाँ राजनीतिक नेतृत्व र जनताको हल मिलेको छ त्यहाँ विकासले गुणात्मक फड्को मारेको छ । जुन ठाउँमा केवल खिचातानी भइरहेको छ त्यो ठाउँ सम्भावना हुँदाहुँदै विकासमा पछाडि परेको छ ।

बैठकमा नीति निर्माण तहमा आफ्ना मतहरू राख्ने, बहस गर्ने, सुझाव दिने काम गर्नुपर्छ । कार्यान्वयनमा जाँदा तदातारुकताका साथ सहयोग गर्नुपर्छ किनभने हामी राजनीतिक स्थायित्वसँगै विकासको चरणमा प्रवेश गरेका छौं ।

सबैभन्दा बढी काम गर्नुपर्ने बेला यही हो । त्यसका लागि एकताको बल पैदा कसरी गर्न सकिन्छ, समयमै सोचौं । विकसित राष्ट्रहरू कामै गरेर समृद्ध बनेका हुन्। हामीले पनि एकअर्काबाट सिकेर अघि बढ्न आवश्यक छ ।

( प्रकाश घर्तीमगर अध्यक्ष, ताराखोला गाउँपालिका )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?