
गलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला । गाउँमा खेतियोग्य भूमि बाँझिएका छन् । गाउँको जायजेथा छोडेर दिनदिनै युवाहरु जापानमा पलायन भइरहेका छन् । केहीले सबै परिवारनै जापान लगेका छन् त केहीले बुढा बाआमालाई छोडेर विदेशीयका छन् ।
युवाहरुको जापान मोहले गाउँ उजाडिएको छ । अहिले गाउँमा वृद्धवृद्धा र बालबालिका बाहेक अरुलाई भेट्याउनै मुस्किल पर्छ । तर पछिल्लो समय केही युवाहरु विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्न थालेका छन् । त्यस मध्येका एक हुनुहुन्छ, गलकोट नगरपालिका वडा नम्बर ५ भैँसे बाँजबारीका रमेश बस्नेत ।

बस्नेत पनि आठ वर्ष जापानमा बिताएर अहिले गाउँमा आएर व्यवसाय सुरु गर्नु भएको छ । जापान जाने युवाहरुको लार्को चलेकै बेला बस्नेत पनि पलायन हुनु भयो । बस्नेतलाई जापान नगए पनि राम्रै खान लाउन पुग्थ्यो तर गाउँका सबै युवाहरु जाँदा उनीपनि रोकिन सकेनन ।
आठ वर्ष अगाडी ‘स्टुडेण्ट भिजा’मा जापान पुग्नु भएका बस्नेतले त्यहाँ विभिन्न दुःख गर्नु प¥यो । करिब एक दशक जापानमा दुःख गर्नु भएका बस्नेतले अहिले गलकोट नगरपालिका वडा नम्बर ९ गल्याङमा व्यवसायिक बाख्रापालन सुरु गरेका छन । बस्नेत दुई महिनादेखि यस व्यवसायलाई व्यवस्थित बनाउन लागि परेका छन ।
उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन । बस्नेतले प्रबिधिक शिक्षा हाँसिल गरे पनि पेशा भने अर्कै अंगाल्न थालेक़ा हुन । पोखरा इन्जिनियरिङ कलेजबाट डिप्लोमा इन्जिनियरी (ओभरसियर) गरेका बस्नेतले पढाई र पेसा भन्ने विषय फरक भएको बताए ।

‘पढाई र पेसा भन्ने विषय हाम्रो जस्तो मुलुकमा नितान्त फरक छ, पढाई अनुसारको जागरिको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशीनु पर्छ, कि त अरु कुनै पेसा समात्नु पर्छ,’ बस्नेतले भने ‘मैले पोखरा इन्जिनियरिङ कलेजबाट डिप्लोमा इन्जिनियरी गरेको हुँ, त्यो अनुसारको जागिर पाउन मुस्किल पर्छ, सितिमिति पाइँदैन ।’
बस्नेतले गल्याङ गाउँमा ६० लाख लगानीबाट व्यवसाय सुरु गरेका छन् । उनले फर्ममा अहिले साना ठूला गरि ३३ वटा बाख्राहरु छन् । उनी आजभोली उनै बाख्राहरुको स्याहारसुसारमा व्यस्त देखिन्छन ।
बाख्रापानलमा भविष्य खोजिरहेका भएका ३२ वर्षीय बस्नेत डिप्लोमा इन्जिनियरी (ओभरसियर) सकाएर जापान गएका हुन। उनले बाख्रापालन सुरु गरेको दुई महिना भयो । यस अवधीमा बस्नेतले खोर र साना ठूला बाख्राहरुको व्यवस्थापनमा लागेको उनको भनाई छ । उनले गाउँमा पहिलेदेखि नै २/४ वटा बाख्राहरु पाल्ने गरिए पनि यसरी व्यवसाय नै नगरेको बताए ।

‘घरमा पहिलेदेखिनै २/४ वटा बाख्रा त पाल्ने गरेका थियौँ, तर यसरी व्यवसायिक रुपमा भने पालेका थिएनौँ, अहिले हाम्रो फर्ममा साना ठूला गरि ३३ वटा बाख्राहरु छन्, व्यवसाय भर्खर सुरु गरेको छु,’ बस्नेतले भने ‘अब बिस्तारै राम्रो होला, यस ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ, घाँसपातको पनि राम्रो व्यवस्था छ ।’
बस्नेतलाई अहिले उनका ससुराबुबा रुमकान्त गौतम र श्रीमती पवित्रा गौतमले राम्रो साथ दिई राखेका छन। उनले विदेशमा जस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिने बताए । ‘जहाँ पनि काम नै हो गर्ने, विदेशमा सेवा सुविधा राम्रो होला तर काम निकै भारी हुन्छ, विदेशमा बगाउने पसिना हामीले यही हाम्रै भूमिमा बगायौँ बने पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने हिसाबले व्यवसाय सुरु गरेको हुँ ।’

बस्नेतले आफू सुरुमा साथीहरुको लहलैमा लागेर जापान गएको भन्दै अब आफू गाउँमै उद्यमी बन्ने बताए । उनले विदेश जाने युवालाई समेत गाउँमै फर्किएर व्यवसाय गर्न आग्रह गरे ।



