जापानमा विदेशी बासिन्दाको संख्या उच्च विन्दुमा, कुल जनसंख्याको ३.४ प्रतिशत पुग्यो

-


     जनहित न्युज    
     असाेज ३० गते २०८३


टोकियो — जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या जून महिनाको अन्त्यसम्ममा रेकर्ड ४२ लाख ८० हजार पुगेको छ, जुन जापानको कुल जनसंख्याको ३.४ प्रतिशत हो। केही क्षेत्रमा भिसासम्बन्धी नियम कडा पारिँदा असर देखिए पनि विदेशी बासिन्दाको समग्र संख्या भने बढेको सरकारी तथ्याङ्कले देखाएको छ।

सन् २०२५ को अन्त्यको तुलनामा विदेशी बासिन्दाको संख्या करिब १ लाख ५५ हजारले वृद्धि भएको हो। अर्कोतर्फ, सन् २०२६ को पहिलो छ महिनामा Business Manager भिसा लिएर जापानमा नयाँ प्रवेश गर्ने विदेशीको संख्या ६३५ जना मात्र रह्यो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८०.९ प्रतिशतले कमी हो। अध्यागमन सेवा निकायका अनुसार गत वर्ष अक्टोबरदेखि उक्त भिसाका सर्तहरू कडा पारिएपछि यस्तो गिरावट आएको हो।

जापानले एक वर्षअघि Business Manager भिसाका लागि आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याएको थियो। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारअन्तर्गत विदेशीसम्बन्धी नियमहरू थप कडा पार्ने व्यापक नीतिको भागका रूपमा बसोबास हैसियतसम्बन्धी आवेदन शुल्क पनि बढाइएको छ र स्थायी बसोबास अनुमति का सर्तहरू थप कडा बनाइएको छ।

बसोबास हैसियतअनुसार हेर्दा, स्थायी बासिन्दा सबैभन्दा ठूलो समूह रहेको छ। उनीहरूको संख्या ९६१,३४२ पुगेको छ, जुन सन् २०२५ को अन्त्यको तुलनामा १.५ प्रतिशतले बढी हो।

त्यसपछि इन्जिनियर, मानविकी विशेषज्ञ तथा अन्तर्राष्ट्रिय सेवा अन्तर्गत पर्ने भिसाधारीको संख्या ५१६,१८४ पुगेको छ, जुन ८.५ प्रतिशतले वृद्धि हो। यस श्रेणीमा अनुवादक लगायतका पेशा पनि समावेश हुन्छन्।

विद्यार्थी भिसाधारी को संख्या पनि ३.२ प्रतिशतले बढेर ४७९,६२६ पुगेको छ।

जापानमा प्रशिक्षण नलिई आफ्नो निश्चित सीप र अनुभवका आधारमा तुरुन्त काम गर्न सक्ने Specified Skilled Worker अर्थात् विशिष्ट सीपयुक्त कामदारको संख्या ४४४,२५६ पुगेको छ। तीमध्ये उच्च अनुभव आवश्यक पर्ने Type 2 श्रेणीका कामदारको संख्या गत वर्षको अन्त्यको तुलनामा दोब्बरभन्दा बढी बढेर १८,२९५ पुगेको छ।

देश र क्षेत्रअनुसार हेर्दा, चीन, भियतनाम र दक्षिण कोरिया का नागरिकहरूले जापानमा रहेका विदेशी बासिन्दाको करिब आधा हिस्सा ओगटेका छन्। सन् २०२५ को अन्त्यको तुलनामा म्यानमारका नागरिक १५.९ प्रतिशत र इन्डोनेसियाका नागरिक १५.६ प्रतिशत ले बढेका छन्।

यात्रीसहित जापान प्रवेश गर्ने विदेशीको कुल संख्या सन् २०२६ को पहिलो छ महिनामा २ करोड १४ लाखभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ७१ हजारले बढी हो।

तर नयाँ प्रवेश गर्ने विदेशीको संख्या भने अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले घटेर करिब १ करोड ९७ लाख १० हजार मा सीमित रह्यो। जापान–चीन द्विपक्षीय सम्बन्धमा आएको गिरावटका कारण चीनबाट आउने मानिसहरूको संख्या घटेको प्रभाव यसमा देखिएको बताइएको छ।

त्यसैगरी, जुलाई १ सम्म जापानमा अवैध रूपमा बसोबास गर्ने विदेशीको संख्या ६५,२२९ रहेको थियो, जुन छ महिनाअघिको तुलनामा ४.८ प्रतिशतले कमी हो। यस समूहमा सबैभन्दा धेरै थाइल्यान्डका १०,२६० जना छन्। त्यसपछि भियतनाम र दक्षिण कोरिया का नागरिक रहेका छन्।

स्रोत: KYODO

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?