न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो, तरपनि सधैं सफा रहनेको राज यस्तो पो रहेछ जापानमा

-


     जनहित न्युज    
     माघ ११ गते २०७९


दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्। 

शिक्षकले अन्तिममा भने: “आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।”

पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए। 

यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा अंशको रुपमा राखिएको छ ।

पहिलोपटक जापान पुगेकाहरू देश कति सफा छ भन्ने कुराबाट अचम्भित हुन्छन्।त्यसपछि उनीहरूले फोहोर हाल्नका लागि सार्वजनिक स्थलमा भाँडो नभएको पनि याद गर्छन्। 

त्यसपछि उनीहरूको मनमा प्रश्न उब्जिन्छ: जापान कसरी सफा रहन्छ?

यसको सरल जवाफ: सबै जापानीहरू आफ्नो ठाउँ सफा राख्छन्।

हिरोसिमाका सरकारी अधिकारी माइको अवाने भन्छिन्: “विद्यालयमा १२ वर्ष बिताउँदा विद्यार्थीका लागि सफा गर्ने काम समय दैनिक सूचीकै हिस्सा हो।” 

“हाम्रो गृहजीवनमा पनि आफ्ना सामान र बस्ने ठाउँ सफा नगर्नु खराब हो भनेर हामीलाई आमाबुवाले सिकाउनुहुन्छ।”

“मलाई कहिलेकाहीँ विद्यालय सफा गर्न मन लाग्दैन थियो,,” अनुवादक शिका हायासी भन्छिन्। 

“तर त्यो हाम्रो नियमित कामको एउटा हिस्सा भएकोले मैले स्वीकार गरेँ।”

“मलाई लाग्छ विद्यालय सफा गर्नुपर्ने काम राम्रो हो किनभने हामीले प्रयोग गर्ने ठाउँ र सामानहरू सफा गर्नुपर्ने जिम्मेवारी बोध हुन्छ।” 

जापानमा विद्यालय आइपुगेपछि विद्यार्थीहरूले आफ्नो जुत्ता खोल्छन् र चप्पल लगाउँछन्। 

जापानी एउटा घरको बाहिर देखिएको चप्पल

घरमा पनि मानिसहरू बाहिर हिँड्दा लगाएको जुत्ता ढोका बाहिरै राख्छन्। 

विद्यार्थी हुर्किएसँगै कक्षाकोठाबाट बाहिर पनि आफ्नो वरपरको क्षेत्र, सहर र देशमा सफा गर्नुपर्छ भन्ने अवधारणा विकास हुन्छ।

जापानले गर्ने सफाइको केही उदाहरणहरू भाइरल पनि भएका छन्। 

झोलाभरी फोहोर बोकेका एक जापानी फुटबल प्रशंसक
तस्बिरको क्याप्शन, सन् २०१८ को विश्वकपमा बेल्जियमसँग हारे पनि जापानका समर्थकहरू सरसफाइ गर्न पछि परेनन्

जापानका फुटबल समर्थकहरू पनि सरसफाइबारे सचेत छन्।

ब्राजिलमा सन् २०१४ मा र रुसमा सन् २०१८ र २०२२ मा क़तारमा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीका प्रशंसकले खेलपछि पनि आफू बसेको स्थान वरपर सफा गरेर विश्वलाई चकित पारेका थिए।

खेलाडीहरूले पनि आफ्नो लुगा परिवर्तन गर्ने कोठालाई एकदमै सफा बनाएका थिए।

राम्रो उदाहरण

तत्कालीन विश्व फुटबल महासङ्घ फिफाका संयोजक प्रिस्सिल्ला ज्यानसेनस्‌ले ट्वीट गरेका थिए: “सबै टोलीका लागि कस्तो राम्रो उदाहरण!” 

अवाने भन्छिन्: “हामी जापानीहरू अरूको दृष्टिकोणमा हाम्रो छवि र प्रतिष्ठा कस्तो छ भन्नेमा धेरै संवेदनशील छौँ।” 

“हामीलाई अरूले सफा गर्ने शिक्षा नपाएका खराब मानिस भनेर चिनून् भन्ने हामी चाहँदैनौँ।”

फुजी रक फेस्टिभल
तस्बिरको क्याप्शन, खुल्ला क्षेत्रमा हुने कार्यक्रममा पनि जापानमा फोहोर हुँदैन

जापानमा भएका साङ्गीतिक कार्यक्रमहरूमा पनि त्यस्तै दृश्य देखिन्छ।

जापानको सबैभन्दा पुरानो र ठूलो साङ्गीतिक कार्यक्रम फुजी रक महोत्सवमा प्रशंसकले फोहोर फाल्ने भाँडो नपाउँदासम्म फोहोर आफैँसँग राख्छन्।

चुरोट पिउने मानिसहरूलाई एस्ट्रे ल्याउन भनिएको थियो। 

महोत्सवसम्बन्धी वेबसाइटका अनुसार अरूको स्वास्थ्य खराब गर्न सक्ने अवस्था भए चुरोट नपिउन भनिएको थियो।

सामाजिक सचेतनाको उदाहरणहरू दैनिक जीवनमा पनि देखिन्छ। 

उदाहरणका लागि बिहान ८ बजे कार्यालयका कामदार वा पसलका कर्मचारीहरू आफ्नो कार्यक्षेत्र वरपरको गल्लीहरू सफा गर्छन्।

नदेखिने फोहोरले पनि समस्या निम्त्याउँछ

स्वयंसेवी बालबालिकाहरू मासिक सामूदायिक क्षेत्र सफा गर्ने काम अन्तर्गत विद्यालय नजिकैको सडकका फोहोरहरू उठाउँछन्।

स्थानीय बासिन्दा पनि सडक सफा गर्ने कार्यक्रमहरू नियमित गर्छन्। 

मानिसहरूले आफ्नो फोहोर घरमै लैजाने भएर पनि त्यहाँ धेरै सफा गर्ने ठाउँ हुँदैन।

आफ्नो छिमेकमा सफाइ गर्ने एकजना पुरुष
तस्बिरको क्याप्शन, घर वा काम गर्ने ठाउँमा स्वयंसेवी रुपमा सफाइ गर्नु जापानमा सामान्य हो

कीटाणुजस्ता नदेखिने फोहोर अर्को चिन्ताको विषय हो।

जब मानिसहरूलाई चिसो लाग्छ वा कुनै रुघाखोकीबाट बिरामी हुन्छन् तब उनीहरू मास्क लगाउँछन्। 

अरूलाई आफ्नो रोगको सङ्क्रमण नहोस् भनेर उनीहरू यसो गर्छन्।

लामो समयदेखिको सरसफाइ

जापानीहरू कसरी सरसफाइबारे यति धेरै जागरुक भए त?

यो पक्कै पनि नयाँ कुरा होइन। 

सन् १६०० ताका ब्रिटिश जलसेनाका विलियम एडम्स जापानमा पाइला टेक्ने पहिलो अङ्ग्रेज थिए।

भुईँ सफा गर्दै गरेका एक पुरुषको पुरातन चित्र
तस्बिरको क्याप्शन, सरसफाइका लागि जापानको यो प्रतिबद्धता नयाँ होइन

उनको कुरा उनको सामुराइ विलियममा नामक जीवनीका लेखक गिल्स मिल्टनले उल्लेख गरेका छन्।

त्यसमा लेखिएको छ: “त्यो क्षेत्र अत्यधिक सफा छ।”

पुस्तकमा शौचालयहरू पनि धेरै सफा रहेको उल्लेख छ।

छैठौँ र आठौँ शताब्दीको बीचमा चीन र कोरियाबाट आएको बुद्ध धर्मको एउटा महत्त्वपूर्ण हिस्सा हो सरसफाइ। 

खासमा बाह्रौँ र तेह्रौँ शताब्दीमा जापान आएको बुद्ध धर्ममा सरसफाइ र खाना बनाउने कुरालाई ध्यान गरे भन्दा फरक नहुने खालको आध्यात्मिक अभ्यास भनिएको छ।

“जेनमा दैनिक जीवन उपयोगी क्रियाकलापहरू खाना खानुदेखि बस्ने ठाउँ सफा गर्नुलाई बुद्ध धर्मको अभ्यास गर्ने एउटा अवसरको रुपमा लिनुपर्छ,” फुकुयामास्थित शिनशोजी मन्दिरका इरिको कुवागाकीले भने।

“शारीरिक र आध्यात्मिक दुवै तरिकाले फोहोर सफा गर्नु दैनिक अभ्यासको महत्त्वपूर्ण भूमिका हो।” 

स्पाइडर म्यानको लुगा लगाएका एकजना मानिस सडक सफा गर्दै
तस्बिरको क्याप्शन, जापानमा सफा गर्ने कामलाई पराक्रमी काम मानिँदैन

त्यसो भए अन्य बौद्ध धर्मको बाहुल्यता भएका देशहरू किन जापान जस्तै सफा छैनन् त? 

बुद्ध धर्म आउनुभन्दा धेरै अगाडि नै जापानमा शिन्तो भनिने एउटा जातीय धर्म थियो। सरसफाइ शिन्तोसँग पनि जोडिएको छ।

शुद्ध हुने संस्कार

बौद्ध धर्मले जोड दिएको सरसफाइको कामलाई जापानीहरूले पहिलै देखिनै अभ्यासमा ल्याएका थिए।

शिन्तोको मुख्य अवधारणा भनेकै अशुद्धतासँग जोडिएको छ। अशुद्धता हटाउनका लागि शुद्धताको संस्कार बेलाबेलामा गरिरहन आवश्यक छ।

“यदि कुनै व्यक्ति अशुद्धताबाट पीडित छ भने त्यसले पुरै समाजलाई हानि पुर्‍याउन सक्छ,” हिरोशिमाको कान्दा नामक पवित्र स्थलका सहायक पुजारीले व्याख्या गरे।

शिन्तो तीर्थस्थलमा रहेको हात मुख धुने ठाउँ
तस्बिरको क्याप्शन, शिन्तो तीर्थस्थलमा प्रवेश गर्नुअघि मानिसहरूले आफ्नो हात र मुख धुनुपर्छ

“सरसफाइ एकदमै महत्त्वपूर्ण छ। यसले तपाईँलाई शुद्ध बनाउँछ र समाजमा दुर्दशा आउँदैन। त्यसैले जापान सफा देश हो।”

यदि तपाईँ जापानमा बस्नुभयो भने तपाईँले यहाँको सरसफाइ गर्ने जीवनशैलीमा छिट्टै भिज्नुहुन्छ।(बिबिसी तथा एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?