एनआरएनएको कार्यालयमा झडप, युवासंघको संलग्नतामा पत्रकारमाथि आक्रमण

-


     जनहित न्युज    
     कार्तिक १४ गते २०८०


गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा समानान्तर एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गर्दा तनाव भएको छ।

संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए ।

त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

“उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले भन्यो, “तर उहाँ निकट ओम शर्मालाई भने कुटपिट भएको छ ।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गरेको र आफू विदेशमा रहेर पत्रकारिता गरिरहेको ओम शर्मा बताउँछन् ।

उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।”

एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?