
दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ ।
एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ ।
काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजारभन्दा बढी हवाई भाडा पर्छ । काठमाडौं– विराटनगरमा ९ हजार ७ सय रुपैयाँ छ । धनगढीकी निशा पाण्डे महँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिइन् । मुस्किलले उनले महँगो दरमा हवाई टिकट पाइन् । पाण्डेलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोरे । मोरङकी सङ्गीता सापकोटा विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् ।
हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो ।
किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाईभाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिमबुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा १७ हजार रहेकामा १२ हजार ५ सय रुपैयाँसम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’
सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदियात्रु वा कार्गोको भाडादर तोक्नु परेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भए–नभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ ।
सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐनअन्र्तगत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक, जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहिँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ ।
सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम् हवाईभाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिकतर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडादर क्यानबाट स्वीकृत हुनुपर्छ ।
नियमित उडानमा यदि पाँच हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमताभन्दा सानो जहाज छ भने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ,’ सूचना अधिकारी भूलले भने । उदाहरणका रूपमा काठमाडौंबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडादर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम् र अधिकतम भाडादर तोक्ने र एयरलाइन्सले न्यूनतम्, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् ।
हाल विराटनगरको हवाई भाडा ५ हजार १०० बाट ९ हजार ७ सय रुपैयाँ कायम छ । एयरलाइन्सले ५ हजार १०० देखि ९ हजार ७०० सम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, पाँच हजार एक सयभन्दा कम र ९ हजार ७०० भन्दा बढी लिएमा गैरकानुनी हुन्छ ।
उनले काठमाडौंबाट विराटनगरको भाडादर निर्धारण वायुसेवा कम्पनीको लागतदरका आधारमा हुने जानकारी दिए । सरकारले वि.सं २०७३ मा निर्धारण गरेको हवाईभाडा नै हालसम्म कायम छ । लागतदरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रुसेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो ।
अहिले बजारमा एटीआर–७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाईभाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् ।
राज्यकातर्फबाट इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् ।
कसरी बढ्छ हवाई भाडा ?
यसै पनि काठमाडौंबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् । रुस र युक्रेनको युद्धले जहाजका पार्टपुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनैलगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ ।
‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्र गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ’, क्यानका सूचना अधिकारी भूल बताउँछन् ।
उनले कानुनीरूपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडादर कम गर्न कि एकल भाडादरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ ।
वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाईन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडादर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्नेगरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ ।
वायुसेवा सेवा सञ्चालक सङघका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडादरभन्दा बढी भाडा नलिएको बताए । काठमाडौंबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महंँगो भएको उनको भनाइ छ ।
वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ ।
दसैँका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक एकसय ६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्ट्रियमा दैनिक १ सय २० हाराहारी उडान भइरहेका छन् ।
निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडादर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरूको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । रासस