
जापान सरकारले विदेशी नागरिकहरूलाई रोजगारी दिँदा रोजगारदाताहरूले पालना गर्नुपर्ने नियमहरूमा संशोधन गर्ने तयारी थालेको छ। यसका लागि श्रम मन्त्रालयको एक विशेष प्यानलको बैठक फेब्रुअरी २० मा सम्पन्न भएको छ। करिब १८ महिनापछि बसेको यो बैठकको मुख्य उद्देश्य जापानमा गैरकानुनी रूपमा बसोबास गर्ने वा काम गर्ने विदेशी कामदारहरूको संख्या न्यूनीकरण गर्नु रहेको छ।
प्रधानमन्त्री सानाए ताकाइचीको विदेशी नागरिकहरूलाई जापानी समाजमा थप व्यवस्थित ढंगले समाहित गर्ने योजना अनुरूप यी संशोधनहरू अघि बढाइएको हो। बैठकमा विज्ञहरूका साथै व्यवस्थापन र श्रमिक पक्षका प्रतिनिधिहरूको सहभागिता थियो।
छलफलका क्रममा श्रमिक प्रतिनिधिले कार्यस्थलमा हुने उत्पीडन, लामो काम गर्ने घण्टा र समयमै तलब भुक्तानी नहुने जस्ता गम्भीर समस्याका कारण विदेशी कामदारहरूले आफ्नो मूल काम छोड्ने र अन्ततः गैरकानुनी बन्ने बाध्यता रहेको औंल्याए। उनले कम्पनीहरूले विदेशीहरूका लागि उपयुक्त कार्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
यता, व्यवस्थापन पक्षका प्रतिनिधिले भने अधिकांश कम्पनीहरूले हालका नियमहरू पालना गरिरहेकाले व्यापक संशोधन आवश्यक नरहेको तर्क गरे। उनले नियम उल्लंघन गर्ने खराब कम्पनीहरूमाथि मात्र कारबाही केन्द्रित गर्नुपर्ने सुझाव दिए। यो प्यानलमा हुने आगामी छलफलहरूले विदेशी कामदार राख्ने कम्पनीहरूका लागि बाध्यकारी हुने नयाँ व्यवस्थापन दिशानिर्देशहरू (गाइडलाइन) तयार गर्ने अपेक्षा गरिएको छ।



