
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को युवा उपाध्यक्ष पदमा सुपेन्द्र घिसिङले आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको छ।
‘सक्षम एनआरएनए, समृद्ध नेपालः हाम्रो साझा सङ्कल्प’ भन्ने मूल नाराका साथ घिसिङले संस्थाको सुदृढीकरण, एकता र संस्थागत विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुन गइरहेको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान तीव्र पार्नुभएको छ।
उम्मेदवारी घोषणा गर्दै घिसिङले एनआरएनए लिनका लागि नभई दिनका लागि हुनुपर्ने पवित्र मान्यतामा जोड दिनुभएको छ। उहाँले संस्थाभित्रको फुटलाई अन्त्य गरी सबैलाई मिलाएर लैजाने समन्वयकारी भूमिका निर्वाह गर्ने सङ्कल्प समेत गर्नुभएको छ। उहाँका मुख्य प्राथमिकताहरूमा एनआरएनएलाई समाजसेवाको शुद्ध माध्यम बनाउने, आर्थिक पारदर्शिता कायम गर्ने, र प्रवासमा सिकेको ज्ञान, सीप एवं लगानीलाई नेपालको आर्थिक समृद्धिमा जोड्ने रहेका छन्।
यसैगरी, घिसिङले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकहितका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ। विदेशमा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपालीलाई नेपालको कला र संस्कृतिसँग जोड्ने पुल बन्नु आफ्नो मुख्य ध्येय रहेको उहाँको भनाइ छ।
लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहँदै आउनुभएका घिसिङले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई समस्यामा परेका नेपालीहरूको सहयोगी बन्नका लागि भएको दाबी गर्दै विश्वभरका नेपालीहरूसँग साथ र समर्थनको अपिल गर्नुभएको छ।
अपिल जस्ताको तस्तै
हाम्रो पसिनाको मूल्य, हाम्रो साझा एनआरएनए र समृद्ध नेपालको सपना
आदरणीय एनआरएन अभियन्ता एवं विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार !
परदेशको यो व्यस्त जीवन, कर्मप्रतिको लगाव र मुटुको कुनै कुनामा सधैँ धड्किरहने प्यारो मातृभूमिको याद। हामी सबैको कथा उस्तै छ। एउटै सपना बोकेर हामी सात समुद्र पार आएका थियौँ र आज हामी जहाँ भए पनि हाम्रो पहिचान ‘नेपाली’ नै हो।
गैरआवासीय नेपाली संघ (NRNA) को स्थापनाकालदेखि नै यस अभियानमा होमिँदै गर्दा मैले एउटा कुरा गहिरोसँग महसुस गरेँ— एनआरएनए लिनका लागि होइन, दिनका लागि हुनुपर्छ। यही पवित्र मान्यतालाई शिरोपर गर्दै, संघको सुदृढीकरण, एकता र संस्थागत विकासका लागि मैले आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को युवा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।
मैले किन युवा उपाध्यक्षमा उम्मेदवारी दिएँ?
१. एकता र सहकार्यका लागि: एनआरएनएमा फुट होइन, जुट चाहिन्छ। सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी भूमिका निर्वाह गर्न म प्रतिबद्ध छु।
२. पारदर्शिता र नैतिकता: एनआरएनएलाई समाजसेवाको शुद्ध माध्यम बनाउन र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो।
३. नेपालसँगको साइनो: प्रवासमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालको आर्थिक समृद्धिमा जोड्ने र ‘एनआरएन नागरिकता’को पूर्ण कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने मेरो सङ्कल्प छ।
४. श्रमिक र दोस्रो पुस्ता: वैदेशिक रोजगारीमा रहेका श्रमिक साथीहरूको हकहित र विदेशमा हुर्कँदै गरेको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने पुल बन्नु मेरो मुख्य ध्येय रहनेछ।
म सुपेन्द्र घिसिङ, तपाईँलाई विश्वास दिलाउँछु कि मेरो नेतृत्व पदका लागि मात्र हुने छैन, तपाईँको अप्ठ्यारोमा नजिकको साथी र सहयोगी बन्नका लागि हुनेछ।
आउनुहोस्, हामी सबै मिलेर एनआरएनएलाई फेरि एकपटक “सबैको साझा र गौरवशाली” संस्था बनाऔँ। मेरो यस यात्रामा यहाँहरूको अमूल्य साथ, सल्लाह र समर्थनको अपेक्षा गरेको छु।
“सक्षम एनआरएनए, समृद्ध नेपाल: हाम्रो साझा सङ्कल्प !”
तपाईँकै,
सुपेन्द्र घिसिङ
युवा उपाध्यक्ष पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC)



