जापानका उडानमा मोबाइल ब्याट्री प्रयोगमा प्रतिबन्ध: आगामी अप्रिलदेखि नयाँ नियम लागू हुँदै

-


     जनहित न्युज    
     फागुन ७ गते २०८२


जापानको यातायात मन्त्रालयले आगामी अप्रिल महिनादेखि जापान भित्रिने र बाहिरिने सबै उडानका केबिनभित्र मोबाइल ब्याट्री (पावर बैंक) को प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

नागरिक उड्डयन ऐनमा आधारित निर्देशिकामा परिमार्जन गर्दै मन्त्रालयले स्वदेशी एयरलाइन्सहरूलाई यसबारे जानकारी गराइसकेको सञ्चार माध्यमहरूले जनाएका छन्। विमानभित्र लिथियम-आयन ब्याट्रीहरूमा आगलागी हुने वा धुवाँ निस्कने जस्ता जोखिमपूर्ण घटनाहरू बढेपछि उडान सुरक्षालाई ध्यानमा राख्दै यो कठोर निर्णय लिइएको हो।

नयाँ नियम लागू भएपछि यात्रुहरूले विमानको यात्राका क्रममा आफ्नो स्मार्टफोन वा अन्य इलेक्ट्रोनिक उपकरणहरू चार्ज गर्न मोबाइल ब्याट्री प्रयोग गर्न पाउने छैनन्। साथै, विमानको सिटमा उपलब्ध रहेका पावर आउटलेटहरू प्रयोग गरेर मोबाइल ब्याट्री वा पावर बैंक चार्ज गर्न पनि पूर्ण रूपमा निषेध गरिनेछ। यसका अतिरिक्त, सुरक्षा मापदण्ड अनुरूप अब एकजना यात्रुले आफूसँग केबिनमा बढीमा दुईवटा मात्र पोर्टेबल चार्जर लैजान पाउने गरी संख्यामा समेत सीमा तोकिएको छ।

विमानभित्र मोबाइल ब्याट्रीका कारण हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो कदम चालिएको हो। गत जनवरीमा दक्षिण कोरियाको बुसानबाट उड्न लागेको विमानको सामान राख्ने ओभरहेड बिनमा रहेको मोबाइल ब्याट्रीका कारण आगलागी भएको थियो। त्यस्तै, गत सेप्टेम्बरमा जापान एयरलाइन्सको एउटा अन्तर्राष्ट्रिय उडानमा मोबाइल चार्ज गर्ने क्रममा ब्याट्रीबाट धुवाँ निस्किएपछि खैलाबैला मच्चिएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले पनि यस्ता ब्याट्रीहरूको नियमनका बारेमा विश्वव्यापी अध्ययन गरिरहेको छ। कतिपय विदेशी एयरलाइन्सहरूले यसअघि नै यस्तो प्रतिबन्ध लगाइसकेको अवस्थामा जापानले पनि आफ्ना सबै उडानमा यसलाई अनिवार्य बनाउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?