अन्जनको गोलमा नेपाल विजयी

-


     जनहित न्युज    
     कार्तिक ३० गते २०७९


पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्।

पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा करिब ७ हजार समर्थकको उपस्थिति थियो।

नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । यस्तै नेपालले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जीत निकालेको छ । यसअघि सेप्टेम्बरमा नेपालले घरेलु मैदानमै बंगलादेशलाई ३-१ गोलले हराएको थियो ।

यता तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले हारसँगै अन्तराष्ट्रिय फूटबलमा पुनरागमन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?