
जापानका लागि नेपाली दूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानूनी परामर्श लगायतका सेवालाई सरल, सुलभ र सहज बनाउनका लागि दूतावासले टेलीफोन प्रयोगमा ल्याएको जनाएको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै दूतावासले जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासबाट प्रदान गरिने सेवालाई सहज र सुलभ बनाउनका लागि ०३-३७१३-६२४१ नम्बरको टेलिफोन प्रयोगमा ल्याइएको उल्लेख गरिएको छ ।

“कार्यालय खुलेको दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म ( अपरान्ह १:०० देखि २:०० खाजाको समय बाहेक) उपर्युक्त नम्बरमा फोन गर्न सकिने सकिनेछ” विज्ञप्तिमा भनिएको छ ।
हाल जापानबासी नेपालीले आफूलाई परेको समस्या दूतावासमा राख्न र जानकारी लिन प्रयोगमा राखिएको टेलीफोन नउठने समस्या रहेको व्यापक गुनासो गर्दै आएका थिए । हालका राजदूत डा. दुर्गाबहादुर सुवेदी राजदूतको रूपमा जापान आए लगत्तै जापान भ्रमणमा रहेका तत्कालीन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमको मञ्चबाट यो समस्या समाधान गर्न आफूको पहिलो प्राथमिकतामा राखेको र दूतावासमा फ़ोन सहज नहुने अवस्थासम्म आफूले पनि फोन नबोक्ने बुकने घोषणा गरेका थिए । उक्त घोषणा गरेको करिब १० महिनापछि उक्त समस्या समाधान गरिन लागेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै सोहि दिन अर्कों विज्ञप्ति जारी गर्दै दूतावासले जापानबासी नेपालीहरूको अभिलेख राख्नका लागि अभिलेखीकरण कार्यक्रम प्रारम्भ भएको समेत जनाएको छ ।
दूतावासमा रहने उक्त अभिलेखमा आफ्नो विवरण दर्ता गर्नको लागि अनुरोध गर्दै दूतावासले भनेको छ- यस कार्यका लागि गैर आवासीय नेपाली संघ, जापान लगायत जापानमा क्रियाशिल सम्पूर्ण नेपाली संघ संस्था र समाजहरूको सहयोग र सहकार्यको लागि अनुरोध गरिन्छ।
उक्त अभिलेख किताबमा दर्ताका लागि दूतावासले बेवसाइटको लिंक निकट दिनमा नै उपलब्ध गराउने जनाएको छ ।




