बालक कालमा चैते दशैको खुसी

-


     दीर्घदत्त पाण्डे    
     चैत्र १६ गते २०७९


चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको ब्यबस्था द्वारेले गर्दथे । द्वारेले जस जसका बोका राँगामा पाती राखिदिन्थे त्यही बलिका लागि लगिन्थ्यो ।बोका राँगाका मालिकले केही बोल्न पाउदैनथिए ।त्यस बाहेक अन्य मानिसहरूले पनि पञ्चबली लान्थे । सिङ्गारपटार गरिएका बोका राँगा, हात हातमा बाँसका स्याउला, बाजागाजा सहित पञ्चबली लाने हुदा उधुम रमिता हुन्थ्यो । आजको मासु भात सेलरोटी भोलिको कोटको रमिता कस्तो खुसी कस्तो आनन्द यस्तो दिन अब काहाँ पाउनु ।
कोटको मेलामा जाने तयारी दुई तीन दिन अगाडीबाटै हुन्थ्यो ।आमाले खरानीमा पकाएर कपडाहरू धोइ दिनुहुन्थ्यो । हात खुट्टामा जमेको मयल फालेर राम्रो हुने धुन चल्थ्यो । कहिल्यै जुत्ता मोजा नदेखेका खुट्टा फुटेका हुन्थे । फुटेका चरबाट मयल भित्रसम्म पुगेको हुन्थ्यो । मयल सफा गर्न रगेड्दा रगत आउँथ्यो साह्रै दुख्थ्यो तै पनि राम्रो हुन रिठाले समेत रगठिन्थ्यो । रातो माटाले नुहाएर तेल लगाउँदा जुम्म्राहरू सलबलाउने गर्थे ।बाँसको काईयोमा धानका गेठाहरू बीचबीचमा गाडेर काइँयोलाई साँगुरो पारी कपाल कोर्दा जुम्म्रा लिखा कपालबाट चिफ्लेर काइँयो भरि हुन्थे ।कसका धेरै भन्ने हल्ला गरिन्थ्यो । धोएको लुगा लगाएर कपालमा तेल लगाएर धोएका हात खुट्टामा ठाँटिदा आफुलाई राजकुमार जस्तो भएको महसुस हुन्थ्षो । अझ कोटमा किनेर खान पाइने भेली सितलगेडी सम्झदा कस्तो आनन्द हुन्थ्यो भन्नै नसकिने खालको हुन्थ्यो ।
हाम्रो घरमा सुका मोहर पनि ब्यक्तिगत रूपमा राख्ने चलन थिएन । मामा घरमा टीका लगाएर दिएको पैसा पनि बालाई दिने चलन थियो । अरू हाम्रा दामलीहरूसँग पैसा हुन्थ्यो । हामीलाई बाले कोट जाने समयमा पाँच पैसादेखि पाचनीसम्म दिनु हुन्थ्यो । यसले कोटमा भेली सितलगेठी खाएर एक एकवाटा सिठी किन्न पुग्थ्यो । भेली सितलगेडी खानु सिठी बजाउनु यो भन्दा अरू के चाहियो ।उधुम रमाइलो हुन्थ्यो । हटियादेखि कोटसम्म मानिसहरूको लर्को, बीचबीचमा पञ्चोल बाजागाजा ठूलाबडा भनिएकाहरू राजा उनका परिवार ,मेजर, केही मुखीया जिम्वालहरूको घोडाको सवारी, लाहुरेहरूको खाकीको पहिरनमा बोल्ने देशीबात अच्छालेकिन सबै देख्न सुन्न पाइने दिन । राजाको घोडा आयो बाटो छोड छोडको आवाजहरू , दलितहरूलाई राजा हिड्ने बाटामा हिड्न मनाही भएकाले भिरपाखाबाट अघि बढीरहेको दृष्य अहिले सम्झदा सपना हो वा कथा जस्तो लाग्छ ।
कोटमा मान्छे मान्छेले भरिभराउ छ । सयौ ठाउँमा स्थानीय भाषामा झाम्म्रे रोदी चलेका छन् । भेली सिटीको ब्यपार खुब चलेको छ । केटाकेटीहरू प्राय सबैले सिठी बजाएका छन् । ठाउँ ठाउँमा लाहुरेहरूले रक्सि खाएर उधुम मच्क्यएका छन् । हुल भयो भन्ने हल्लाले दौडदा कोटको मैदानै हल्लेर भागे जस्तो देखिन्थ्यो । अझ दारेगाइनेले नाच्ने सराँई नाचको त भनेर साध्दे नै छैन । राँगाको टाउको मुखमा च्यापेर तीन चार गाइनेहरूले कोटको आँगनमा देखाउने नाच अनौठो हुन्थ्यो ।बेलुकातर्फ मार पिट झगडाहरू हुने भएकाले हामिहरूलाई चाँडै फर्कने आदेश हुन्थ्यो । लाउरे र तरूनीका बारेमा धेरै कल झगडाहरू हुन्थे । यस्ता काम हामी फर्के पछि हुने भएकाले देख्न पाइदैनथियो । लडाई गर्नेमा बाँसखोले र सिङ्गालेहरू अग्रस्थानमा हुन्थे । तर पछि सुन्न भने पाइन्थ्यो । दुई दिन बितेको थाहा नै हुदैन थियो । चैते दशै पछि निरासका साथ अर्को दशै कुर्नुको बिकल्प थिएन । अहिले सम्झदा पनि रोमान्च चाँही अझै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?