
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।
भएन जगन्नाथको उम्मेदवारी फिर्ता
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । तर उनले उम्मेदवारी फिर्ता लिएनन् । नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने पार्टी निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएका थिए ।
कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् । कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।
पोखरामा उम्मेदवारी फिर्ता
पोखरा महानगरपालिकामा बागी उमेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उमेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा क्रियाशील उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए । पार्टीले निर्देशन दिएको भन्दै उम्मेदवारी फिर्ता गरिएको जानकारी गराएका छन् । सापकोटा कास्की कांग्रेसका पूर्वसचिव हुन् भन् तिवारी पूर्व कोषाध्यक्ष । अर्का बागी विमलबहादुर कार्कीले भने उमेदवारी फिर्ता लिएका छैनन् ।



