आगामी पाँच वर्षका लागि कांग्रेसले ल्यायो महत्वाकांक्षी घोषणापत्र 

-


     जनहित न्युज    
     कार्तिक १२ गते २०७९


काठमाडौं (जीएनएन)–  आगामी मंसिर ४ गते (२० नोभेम्वर २०२२ मा) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय,  सानेपा, मा शनिबार बिहान आयोजित एक कार्यक्रममा पार्टी सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। 

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ जस्ता नारा समेटिएको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउने, संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने प्रतिज्ञा गरेको छ।

त्यस्तै, बृहत् लक्ष्यका रूपमा नेपाली कांग्रेसले कोखदेखि शोकसम्मका कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाएको छ। जसअन्तर्गत मान्छे जन्मेदेखि मृत्युसम्मका लागि विभिन्न योजना अघि सारेको छ। जसमा प्रजनन स्वास्थ्य र अधिकार, सुरक्षित मातृत्व, बालविकास, शिक्षा, स्वास्थ्य, रोजगारी र श्रम, वृद्धावस्था, मृत्यु संस्कारलगायतका प्रतिबद्धता समावेश गरिएका छन्। 

घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो। अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक  गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायतका कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन्।

सरकारले हाल स्वास्थ्य बीमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएकोमा कांग्रेसले आगामी पांच वर्ष भित्र स्वास्थ्य बीमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने उल्लेख गरेको छ। पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख छ। त्यस्तै नेपाली कांग्रेसले तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ।  

यसै गरी नेपाली कांग्रेसले न्यूनतम वार्षिक आर्थिक वृद्धि ७ प्रतिशत पुराउनुको साथै सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तिय क्षेत्र, कला तथा मनोरंजन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार (पांच वर्षमा १२ लाख ५० हजार) नयाँ  रोजगारी सिर्जना गर्ने  घोषणा गरेको छ।  घोषणापत्रमा १५-२४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९५ प्रतिशत पुराउने, कक्षा ११ मा हुने भर्ना दर कम्तीमा ५० प्रतिशत पुराउने तथा शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने उल्लेख छ।  

यसैगरी नेपालको संविधानको प्रावधान अनुसार गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रत्याभूति गर्दै गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नवौं संसद् मार्फत ऐन जारी गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ। ‘गैरआवासीय नेपालीहरुलाई आफू जन्मिएको, हुर्किएको गाउँ तथा नगरले लिएका आर्थिक तथा सामाजिक पहलमा सहकार्य गर्न उत्प्रेरित गर्ने नीति र संयन्त्रको व्यवस्था गरिने छ,’  घोषणापत्रमा भनिएको छ। 

हेर्नुहोस् नेपाली कांग्रेसको घोषणापत्रको पूर्ण पाठ:

https://www.nepalicongress.org/single/notice/nepali-congress-election-manifesto-2079-house-of-representatives-and-provincial-assembly-election

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?