३५,२२१ पदको लागि १,५२,६७६ उम्मेदवार स्थानीय निर्वाचनको मैदानमा

-


     जनहित न्युज    
     वैशाख १५ गते २०७९


राष्ट्रिय मान्यता प्राप्त ६ दलको मेयर र अध्यक्षमा महिलालाई उपेक्षा, उपमेयर र उपाध्यक्षमा पुरुषभन्दा महिला बढी उम्मेदवार

देशभरका सात सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता सकिएको दुई दिनपछि बुधबार निर्वाचन आयोगले सम्पूर्ण पदमा परेको उम्मेदवारीको विवरण सार्वजनिक गरेको हो ।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब छिटफुटबाहेक तथ्यांक अपडेट गर्न बाँकी नरहेको बताए । उनका अनुसार कर्णाली प्रदेशबाट तथ्यांक अपडेटमा केही समस्या परेको छ । ‘लगभग यही संख्या अन्तिम–अन्तिम मान्न सकिने अवस्था छ । कर्णालीबाट गरिने अपडेटमा केही समस्या छ । अब छिटफुट मात्रै थपिन सक्छ,’ पौडेलले भने । 

आयोगको प्रणालीमा प्रविष्ट भएको तथ्यांकअनुसार दुई सय ९३ नगरमा मेयरका लागि तीन हजार चार सय ९९ र उपमेयरका लागि दुई हजार एक सय ५८ जनाको उम्मेदवारी परेको छ । यसैगरी चार सय ६० गाउँपालिकामा अध्यक्षका लागि तीन सय तीन ८७ र उपाध्यक्षका लागि दुई हजार चार सय दुईको उम्मेदवारी दर्ता भएको छ ।

हजार सात सय ४३ वडाध्यक्षका लागि ३५ हजार तीन सय सय १० जनाको उम्मेदवारी परेको छ भने १३ हजार चार सय ८६ खुला वडासदस्यका लागि ५५ हजार पाँच सय ५९ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, ६ हजार सात सय ४३ दलित महिला सदस्यका लागि २३ हजार आठ सय ८७ र ६ हजार सात सय ४३ महिला सदस्यका लागि २६ हजार आठ सय ८४ जनाको उम्मेदवारी परेको छ । 

एमालेले मेयरमा दुई सय ६४ पुरुष र २७ महिला गरी जम्मा दुई सय ९१ जनाको उम्मेदवारी दिएको छ । त्यसैगरी, अध्यक्षमा चार सय १८ पुरुष र २८ महिला गरी ४४६ जनाको उम्मेदवारी दिएको छ । उपमेयरमा एमालेले २६ पुरुष र दुई सय ६० महिला गरी दुई सय ८६ जनाको उम्मेदवारी दिएको छ । त्यसैगरी, उपाध्यक्षमा ३५ पुरुष र चार सय १० महिला गरी चार सय ४५ जना उम्मेदवार बनाएको छ । 

त्यसैगरी, कांग्रेसले मेयरमा दुई सय ५३ पुरुष र १२ महिला गरी दुई सय ६५ जनाको उम्मेदवारी दिएको छ । कांग्रेसले अध्यक्षमा तीन सय ६३ पुरुष र १९ महिला गरी तीन सय ८२, उपमेयरमा ३१ पुरुष र एक सय ८० महिला गरी दुई सय ११, उपाध्यक्षमा ६७ पुरुष र दुई सय ९२ महिला गरी तीन सय ५९ जनाको उम्मेदवारी दर्ता गराएको छ । 

माओवादी केन्द्रले मेयरमा एक सय ५६ पुरुष र १८ महिला गरी एक सय ७४, अध्यक्षमा दुई सय ६१ पुरुष र २९ महिला गरी दुई सय ९०, उपमेयरमा ८४ पुरुष र एक सय ३० महिला गरी दुई सय १४ र उपाध्यक्षमा एक सय १२ पुरुष र दुई सय तीन महिला गरी जम्मा तीन सय १५ जनाको उम्मेदवारी दर्ता गराएको छ । 

एकीकृत समाजवादीले मेयरमा एक सय २७ पुरुष र २३ महिला गरी एक सय ५०, अध्यक्षमा एक सय ७५ पुरुष र १२ महिला गरी एक सय ८७, उपमेयरमा ७१ पुरुष र एक सय ६ जना महिला गरी एक सय ७७ तथा उपाध्यक्षमा ६८ पुरुष र एक सय १२ महिला गरी एक सय ८० उम्मेदवारी दर्ता गरेको छ । 

जसपाले मेयरमा एक सय ४५ पुरुष र १४ महिला गरी एक सय ५९, अध्यक्षमा एक सय ७९ पुरुष र १० महिला गरी एक सय ८९, उपमेयरमा २८ पुरुष र एक सय १० महिला गरी एक सय ३८ र उपाध्यक्षमा २६ पुरुष र एक सय ३० महिला गरी एक सय ५६ उम्मेदवारी दर्ता गरेको छ । 

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मेयरमा ८८ पुरुष र पाँच महिला गरी ९३, अध्यक्षमा ७५ पुरुष र तीन महिला गरी ७८, उपमेयरमा आठ पुरुष र ७२ महिला गरी ८० तथा उपाध्यक्षमा तीन पुरुष र ५५ महिला गरी ५८ जनाको उम्मेदवारी दर्ता गराएको छ । 

सबैभन्दा धेरै उम्मेदवारी स्वतन्त्रबाट परेको छ । स्वतन्त्रबाट मेयरमा एक हजार तीन सय ९२, अध्यक्षमा एक हजार ३२, उपमेयरमा तीन सय ९६ र उपाध्यक्षमा तीन सय ६४ उम्मेदवारी दर्ता भएको छ । 

प्रमुख पदमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै
नगरका मेयर–उपमेयर र गाउँपालिका अध्यक्षमा दलहरूका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार देशभर मेयरमा तीन हजार चार सय ९९ जनाको उम्मेदवारी परेको छ, त्यसमध्ये एक हजार तीन सय ९३ स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै,  गाउँपालिका अध्यक्षमा परेका तीन हजार तीन सय ८७ उम्मेदवारीमध्ये एक हजार ३२ जना स्वतन्त्र उम्मेदवार छन् ।

उपमेयरमा देशभरबाट दुई हजार एक सय ५८ जनाको उम्मेदवारी परेको छ, त्यसमध्ये तीन सय ९६ स्वतन्त्र उम्मेदवार छन् । देशभरबाट उपाध्यक्षमा दुई हजार चार सय दुईजनाको उम्मेदवारी परेको छ, जसमा तीन सय ६४ जना स्वतन्त्र उम्मेदवार छन् । वडाध्यक्षमा पाँच हजार आठ सय ९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगको तथ्यांक छ । 

दलहरूमध्ये एमालेको उम्मेदवारी सबैभन्दा धेरै 

दलहरूमध्ये सबैभन्दा धेरै पदमा एमालेले उम्मेदवारी दिएको छ । निर्वाचन आयोगका अनुसार एमालेबाट मेयरमा दुई सय ९१, उपमेयरमा दुई सय ८६, गाउँपालिका अध्यक्षमा चार सय ४६ र उपाध्यक्षमा चार सय ४५ जनाले उम्मेदवारी दिएका छन् । एमालेपछि प्रमुख पदहरूमा धेरै उम्मेदवारी दिनेमा कांग्रेस छ । मेयरमा दुई सय ६५, उपमेयरमा दुई सय ११, गाउँपालिका अध्यक्षमा तीन सय ८२ र उपाध्यक्षमा तीन सय ५९ जना कांग्रेसका उम्मेदवार छन् ।

त्यस्तै, माओवादीबाट मेयरमा एक सय ७४, उपमेयरमा दुई सय १४, गाउँपालिका अध्यक्षमा दुई सय ९० र उपाध्यक्षमा तीन सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभर वडाध्यक्षमा ३५ हजार तीन सय १० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये एमालेका ६ हजार पाँच सय १३, कांग्रेसका ६ हजार एक सय ३६ र माओवादीका चार हजार चार सय ३७ जनाको उम्मेदवारी परेको छ । 

नमिलेका ठाउँमा मिलाउन गठबन्धनका शीर्ष नेताको पहल : पालिकासम्मकै संयन्त्रलाई सातबुँदे निर्देशन, बागीलाई मनाउने, नमाने कडा कारबाही

आसन्न निर्वाचनलाई प्रतिष्ठा बनाएका पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताले देशैभर नमिलेका ठाउँमा तालमेलको निर्णायक पहल थालेका छन् । शीर्ष नेताको बुधबार बसेको बैठकले गठबन्धनलाई थप प्रभावकारी बनाउन देशैभर तालमेल गर्ने गरी प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रमा सातबुँदे निर्देशन पठाएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रूपमा जारी गरेको निर्देशनमा बागी र असन्तुष्ट नेता–कार्यकर्तामाथि कठोर कदम चाल्ने जनाउसमेत छ ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकको निर्णयमा सात सय ५३ वटै पालिकामा सकेसम्म गठबन्धन गर्ने र चुनावी नतिजा आफ्नो पक्षमा पार्ने शीर्ष नेताको प्रयास अन्तर्निहित छ । महानगर र उपमहानगरदेखि देशका विभिन्न पालिकामा दलभित्रबाटै स्वतन्त्र रूपमा बागी उम्मेदवारी परेपछि त्यसले नतिजामा पार्न सक्ने प्रभावलाई हेरेर शीर्ष नेताले संयुक्त रूपमा निर्देशन जारी गरेका हुन् । 

स्थानीय तह निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पाँचदलीय गठबन्धनभित्र गर्नुपर्ने सात काम गर्न–गराउन आ–आफ्ना दलका निकायलाई निर्देशन गर्ने बैठकको निर्णय छ । यसबाहेक ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने र गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने निर्णय छ ।

यसैगरी, ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक बुधबार नै राखेर वडाका विभिन्न पदमा गठबन्धनभित्रका दलहरूका बीचमा सिट बाँडफाँडको समझदारी गर्ने तथा नगरपालिका र गाउँपालिकामा गठबन्धनका दलहरूका बीचमा भइसकेको सिट बाँडफाँड समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने गठबन्धनको निर्णय छ । हिमाल पौडेल र केशवप्रसाद पाण्डेले नयापत्रिकाको लागु लेखेको समाचार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?