
जनस्तरबाट ‘राष्ट्रिय आमा’ को उपाधि पाएकी प्रधानमन्त्री तथा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा नेकपा (माओवादी) केन्द्रकी सल्लाहकार स्वर्गीय सीता दाहालको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
सोमबार जापानको टोकियोमा नेपाल सरकारका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिले उक्त सभा आयोजना गरेको हो ।
स्वर्गीय सीता दाहालले देशमा भएको जनयुद्द र त्यसपछि देशको मुख्य कार्यकारी पदमा रहदा प्रचण्डलाई नजिकबाट सहयोग गरेर परिवर्तनका निम्ति योगदान प्रदान गरेकोले उहा राष्ट्रकै लागि सम्मानित व्यक्तित्व भएको प्रमुख अतिथि समेत रहेका मन्त्री ज्वालाले बताए ।
सडक सुरुङ मार्ग, आकाशे पुल, निर्माणको अध्ययन र अनुदानमा थप गराउने वातावरण सृजना गराउने उदेश्यले जाइकाको आमन्त्रणमा नेपाली सरकारी टोलीको नेतृत्व गर्दै जापान भ्रमणमा रहेका मन्त्री ज्वालाले श्रद्धांजली सभा बोल्दै पुष्पकमल दाहाललाई प्रचण्ड बनाउन धेरै मध्य सीता दाहालको मुख्य हाट रहेको बताउदै भने- शक्तिका पछाडि नलागेर आफनो धरातल नबिर्सेंकै कारण स्वर्गीय सीता दाहाललाई देशले सम्मान गरेको हो ।
सो अवसरमा मन्त्री ज्वालाले विदेशमा रहेका नेपालीलाई परदेशको जुनसुकै भूगोलमा रहेपनि आफू जन्मिएको आफू हुर्किएको धरातललाई कहिल्यै नविर्सन आग्रह गरे । उनले नेपालप्रतिको माया विदेशमा रहेका नेपाली अझै प्रगाढ़ होस भन्ने कामना समेत सो अवसरमा गरे ।
फरक सन्दर्भमा मन्त्री ज्वालाले भने- अहिले प्रचण्ड नेतृत्वको सरकार सुसाशनको मिशन लिएर अगाडि बढेकोले जस्तोसुकै परिस्थितिको सामना गरेको यो मिशनमा सफल भै छाड्छौ ।
उक्त कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष गोविन्द श्रेष्ठ, उप महासचिव ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले स्वर्गीय सीता दाहालको बारेमा बोलेका थिए भने प्रधानमन्त्रीका स्वकीय सचिव शिव खकुरेलले स्वर्गीय सीताको व्यक्तित्व र चिनारी बारेमा बोलेका थिए ।
कार्यक्रममा महामहिम डा. दुर्गा बहादुर सुबेदी लगायत नेपाल सरकारका सचिव, महानिर्देशकसहित जापान स्थित राजनैतिक दलको भातृसंगठनका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि सर्वसाधारण व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सीता दाहालप्रति श्रद्धान्जली व्यक्त गर्न मौन धारणसहित माल्यार्पण गरेर सम्पन्न भएको कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष भवानी पन्त र कार्यक्रम संचालन महासचिव बाबुराम पौडेलले गरेका थिए ।