
टोकियो – जापानबासी नेपालीहरुले नेपालमा रहेका घरपरिवारहरुले जस्तै गरि परम्परागत ढंगले आफ्नो रीतिरिवाज अनुसार तिहार मनाएका छन् ।
जापानका टोकियो, ओसाका, नायोगा योकोहामा,सेन्दाई लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाइ आपसी सत्भाव आत्मियता र बन्धुत्व साटासाट गर्दै तिहार मनाएका हुन् ।

व्यस्त देशको रुपमा परिचित जापानमा आफ्नो कामलाई केहि थाती राखेर भेट्न सम्भव परिवारजन साथीभाइहरुका बिचमा गाउँघरमा जस्तै गरि टिकाटालो गरेर सेल रोटी लगाएतका परिकारहरु खादै साथीभाइहरु मिली देउसी र भैलो खेलेर यसपालिको तिहार मनाएको दोलखा समाज जापानका अध्यक्ष महेश खड्काले बताए ।

घरपरिवारमा संगै रहदा लक्ष्मी पूजा गर्न सारै मजा लाग्थ्यो क्योतोको आफ्नो घरमा लक्ष्मी पूजा गर्दै गरेकी बागलङकी सृजना जिसी गैरेले भनिन ’ जापानमा रहेपनि आफुले सकेसम्म र जानेसम्म मिलाएर लक्ष्मी पूजा गरेको छु , जापानमै रहेका परिवारसंग रमाइलो गर्दै तिहारका परिकार बनाएर जापानमा रहेका परिवारसँग तिहार मनाउन पाएकोमा नेपालको नियास्रो मेटिएको छ ’।

टोकियोबाट भाइटिका लगाइदिन कै लागि योकोहामामा पुगेकी बागलङकी माया पुनले पनि वर्ष दिनमा एकचोटी आउने चाडबाडमा विदेशमै भए पनि आफ्नो परिवारका सदस्यहरुसंग रहन पाउदा मन फुरुंग भएको बताइन । उनले जापानमा कामको चाप रहेपनि त्यसलाई केहि पन्छाएर दाइको निधारमा सप्तरंगी टिका लगाइ दिएर आशिर्वाद दिन पाउदा आफुलाई भाग्यमानी बहिनीको रुपमा लिएको बताइन ।

टोकियोमै रहेकी एनआरएन जापानकी संरक्षक समेत रहेकी अनिता गुरुङको संयोजनमा भएको समुहिक भाइटिकामा नेपालका विभिन्न ठाउबाट जापान आएका दाजुभाइहरुलाई आफुहरुले टिका लगाइदिएको बताइन । ’ आफ्नो परम्परालाई जोगाउन र कसैलाई पनि दिदीबहिनी नभएर तिहार खल्लो भएको महशुस गर्न नपरोस भनेर आफुले टोकियोमा पहिलो पटक सामुहिक भाइटिकाको आयोजना गरेको उनको भनाइ छ ।

टोकियोमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै आफ्नो संस्कृति र परम्परा मनाउने चलन बढ्दै गएको छ। तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृष्य जापानको सिनओकुबोमा देख्न पाइन्थ्यो । अझ रमाइलो त विभिन्न समाजहरुले आयोजना गरेका देउसी भैलोहरुमा जापानी नागरिकहरु तलामा ताल मिलाई नाच्दै गाउदै गरेको दृश्य रोमान्चक देखिन्थ्यो । मगर संघ जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान, गुल्मेली समाज जापान लगाएतले नेपाली परम्परागत शैलीमा देउसीभैलो कार्यक्रमको आयोजना गरेका थिए जहाँ नेपाली सहित जापानी नागरिकको बाक्लो उपस्थिति थियो ।

ओसाकाको जिग्री दोहोरी साँझमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका नारायण थापाले परदेशमा नै भएपनि आफ्नो मौलिकता र परम्परालाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली कला संस्कृति, रीतिरिवाज परम्परालाई समयानुसार व्यवस्थितरुपमा निरन्तरता दिनु जुनसुकै ठाउमा रहेका हरेक नेपालीको दायित्व भएको बताए ।

ओसाका कै पारिवारिक देउसी भैलिमा छम छम नाच्दै गरेका गलकोट समाज जापानका प्रवक्ता समेत रहेका दिलिप कँडेलले नेपाली मातृभूमिलाई सम्झन, नेपाली संस्कृति रीतिरिवाजलाई जोगाउन संरक्षण गर्न र आपसमा भाइचाराको सम्बन्ध बढाउदै लैजानका लागि तिहारले महत्वपूर्ण भूमिका खेलेकोले आफुले तिहारलाई जापानमा खुशी साथ मनाएको र सबैलाई मनाउन आग्रह समेत गरेको बताए ।

’जापानको व्यस्थताका बाबजुद पनि केही समय मिलाएर टोकियोमा दिदीबहिनी समूहले आयोजना गरेको सामुहिक भाइटिका कार्यक्रम दिदीबहिनीहरुको हातबाट संयुक्त रुपमा टीका लगाएँ’, जापानमा लामो समयदेखि अन्तराष्ट्रिय कानून व्यवसायीको रुपमा काम गर्दै आएका डा. बलराम श्रेष्ठले भने— जापानमा कामको बेफुर्सदीका बिचमा पनि नेपाली परम्परा र संस्कृतिलाई निरन्तरता दिन परदेशमा रहेका नेपालीले गरेका यस्ता कार्य प्रशंसनीय रहेका र मानक रुपमा समेत स्थापित हुदै जाने विश्वास मैले लिएको छु ।’
जापान आएको १० वर्ष भयो हरेक वर्षको तिहारमा मेरो निधार खाली नै रहन्छ’, ओसाकामा रहेका रहेका अर्का नेपाली सुरज थापाले भने नमीठो अनुभव सुनाउदै भने हरेक तिहारमा र चाडवाडमा दिदीबहिनीहरु घरपरिवारको यादले सताउछ ।
नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र जमघट भै देउसी भैलो खेलेर पनि तिहार मनाएका छन् । नेपालमा जस्तै गरि मादल, लगाएत नेपाली मौलिक बाजामा भटाएर नाचेको परम्परागत देउसी भैलोमा रमाएको जापानका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुमा देख्न पाइन्थ्यो ।

राती अबेरसम्म पनि टिका लगाएको देखिन्थ्यो । पछिल्लो समय विदेशमा रहने नेपालीहरुलाई आफ्नो कला, संस्कृति, रीतिरिवाज, परम्परा ,पहिचान चाडवाडप्रति मोह बढ्दै जान थालेको यसप्रकारका चाडबाडमा हुने गतिविधिले देखाएको छ ।



