जुन गाउँ बालबच्चा बूढापाकाले धानेको छ

-


     जनहित न्युज    
     पौष १० गते २०८०


जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले।

अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का-थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका-११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ।

दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए। जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ। गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ। नजिकै स्वास्थ्य चौकी र आँगनै अघि गाडी गुड्छन्। सुविधा घरको आँगनमै पुगे पनि गाउँलेको बजार मोह घटेको छैन।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट २०५८ मै रायडाँडा जोड्ने सडकको काम सुरु भयो। ०६० मा रायडाँडासम्म गाडी पुग्यो। सडक पुगेको धेरै वर्षसम्म स्थानीय गाउँमै बसे पनि अहिले अधिकांश बागलुङ बजारमा बस्ने गर्छन्। रायडाँडा बागलुङ नगरपालिकाको सबैभन्दा टाढा र दुर्गमको वडा हो। यहाँ अहिले विकासले गति लिन थालेको छ।

भौगोलिक हिसाबले जैमिनी नगरपालिकासँग नजिक पर्ने भए पनि रायडाँडालाई बागलुङ नगरपालिकामा गाभिएको छ। रायडाँडा साबिक गाविस थियो। स्थानीय तह स्थापनापछि रायडाँडालाई एउटै वडा बनाइएको छ। बर्सेनि बसाइँसराइले गर्दा रित्तिएको गाउँका घरहरु मक्किन थालेका छन्। अहिले केही बालबालिका र बूढापाका मात्रैले गाउँ धानेका छन्।

उत्पादनका हिसाबले उर्वर ठाउँ भए पनि बढ्दो बसाइँसराइका कारण काम गर्ने जनशक्ति घट्दै गएका छन्। युवा शक्ति विदेश पलायन र हुनेखाने बजार झरेपछि यतिबेला रायडाँडामा सामान्य वर्गमात्र रहेका छन्। बसाइँसराइ गरेर बजार झरेका पनि बेलाबेला गाउँ जाने गरे पनि खेतबारीमा खेतीपाती भने गर्दैनन्। सीमित किसानले मात्रै खेती किसानी गर्दा गाउँमा उत्पादन कम भएर भोकमरी निम्तिने जोखिम बढेको स्थानीय दुर्गाबहादुर थापाले बताए।

Metro Mart
worldlink

पहिले-पहिले गाउँमा वरपर काम गर्ने छरछिमेकी पाइने, कुनै पनि जग्गा जमिन खाली नहुने भन्दै अहिले खेतीयोग्य जमिन सबै वनमाराले ढाकिँदै गएको गुनासो उनले गुनासो पोखे। दुई दशक पहिले गाउँमा कुनै विकास नभएको बेला बसाइँसराइ शून्य रहेको स्मरण गर्दै अहिले बस्तीनै रित्तिँदै गएको थापा बताउँछन्।

‘पहिले गाउँमा विकास थिएन, मान्छे थिए, अहिले गाउँमा विकास आयो, मान्छे बजार झरे। अब गाउँघर त हुँदा खाने र गरिब जनताको मात्रै हुने भयो। मान्छेले खेती गर्न छोडे, बजारबाटै चामल, पीठो लिएर खान्छन्। पहिले गाउँमा मकै, कोदो निकै उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर कम भएको छ, वर्षभरि खान पुग्दैन,’ थापाले भने, ‘यस्तै हुँदै गयो भने त भोकमरी आउने जोखिम बढ्यो। अहिले बारी हेर्न गयो भने बैराग लाग्छ, हाम्रो पालामा गाउँ घर कति रमाइलो थियो। मान्छेको चहलपहल थियो, अहिले केही छैन। सबैलाई बजार चाहिने, विदेश नै जानुपर्ने। यही हिसाबले बसाइँसराइ हुँदै गयो भने अबको १० वर्षमा गाउँमा कोही पनि रहने छैन।’

स्थानीय ओमबहादुर केसी गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतंक बढ्दै गएको बताउँछन्। पहिले जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ। विकास गाउँ उक्लने, मानिसहरु सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको केसीले बताए। गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बागलुङ बजारमै पुग्नुपर्ने भएकाले सरकारले गाउँमा सेवासुविधा थपे मात्रै बसाइँसराइ रोकिने उनको भनाइ छ।

केसीले भने, ‘मान्छेको चहलपहल भए पो जंगली जनावर गाउँ पस्दैन, मान्छे सबै बजार झर्न थालेपछि गाउँ सुनसान हुन थाल्यो। सुनसान भएपछि बाँदर गाउँ आउन थाले। अहिले गाउँमा बूढाबूढी मात्रै छन्, सरकारले गाउँमा बजारको जस्तो सेवासुविधा दिने गरी काम गर्नुपर्छ। बजार झर्नबाट रोक्न सके मात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ। नत्र भने बाँदर मात्रै होइन, अब गाउँ जंगली जनावरको बासस्थान बन्छ।अहिले गाउँमा खेतीपाती गर्ने किसान अर्को वर्ष यहाँ भेटिँदैनन्, कोही बागलुङ बजार, कोही चितवन कोही पोखरा जान्छन्।’

बागलुङ बजारबाट रायडाँडासम्म पुग्ने सडक पनि जोखिमपूर्ण छ। दुई दशकपहिले ‘ट्र्याक’ खुलेको सडक अहिले पनि साँघुरो र खाल्डाखुल्डी परेको छ। जसले गर्दा यात्रा निकै कष्टकर हुने गरेको छ। सडक अप्ठ्यारो हुँदा २० किलोमिटर सडकमा यात्रा गर्न दुई घण्टा बढी लाग्छ। रायडाँडाबाट अघिल्लो वर्ष करिब १६ र चालु वर्ष आठ घर परिवार बसाइँसराइ गरेर अन्तै गएको वडा कार्यालयले जनाएको छ। सडकको दुरावस्था र गाउँमा स्वरोजगारको अवसर नहुँदा धेरै स्थानीय बसाइँसराइ गर्छन्। बागलुङ नगरपालिका-११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँलाई राष्ट्रिय सडकसँग जोड्न नसक्दा र एसियाली विकास बैंकले समयमै काम नगर्दा पछि पर्नु परेको बताए।

एसियाली विकास बैंकले २० वर्षअघि खुलेको सडक पाँच वर्षअघि नै स्तरोन्नति गर्ने भनेको थियो। तर अहिलेसम्म प्रक्रिया पूरा हुन नसकेको उनको भनाइ छ। रायडाँडाबाट बसाइँसराइ रोक्नका लागि गाउँमै रोजगार सिर्जना गर्ने र स्थानीयलाई उत्पादनसँग जोड्नुपर्ने स्थानीयवासीको भनाइ छ।

‘भूगोलका हिसाबले पहिलेदेखि नै अलि पछाडि परेको क्षेत्र भएको हुँदा विकास ढिला भयो, अहिलेका हरेक नागरिकले प्रतिफल छिटो खोज्ने गर्छन्। पहिलेको तुलनामा विकास धेरै भएको छ, गाउँका मान्छेलाई गाउँमै रोक्ने धेरै प्रयास गरिरहेका छौँ,’ अध्यक्ष गौतमले भने, ‘अब युवा शक्तिलाई लक्षित गरी स्वरोजगार कार्यक्रम गर्नुपर्ने छ। सडकका कारण उत्पादनले बजार पाउन सकेको छैन, अब सडकको अवस्था पनि सुधार गर्ने चरणमा छौं। अबको केही वर्षमा बसाइँसराइ रोकिने विश्वास लिएका छौँ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?