रोमानियामा गीत गाइरहदा यसरी भयो प्रकाश सपुत माथि बोतल प्रहार

-


     जनहित न्युज    
     असार ११ गते २०८०


रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको नाकनेर सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

यसरी भयो प्रकाश सपूतलाई प्रहार

रोमानियामा आइतबार राति घडीले ९ बजेको घण्टी हान्दा सिमसिम पानी परिरहेको थियो । सिमसिम पानी नै सही, आफूले मन पराएका कलाकार स्टेजमा थिए । मनले खाएका गीत गाइरहेका थिए । त्यसैले गीतमा झुमिरहेका थिए– रोमानियाबासी नेपाली ।

सिमसिम पानीमै प्रिती आलेले गीत गाइन् । प्रितीको प्रस्तुतिपछि पालो आयो प्रकाश सपूतको । उनको पालो अन्तिममा थियो । अर्थात, दुईजना मात्रै थिए यसपटक ‘याद नेपाली म्युजिक फेस्टिभल’मा संगीतकर्मी ।

करिब ४०० दर्शकको अगाडि प्रकाश गीत गाइरहेका थिए । दर्शक उनका गीतमा झुमिरहेका थिए । ठूलो स्टेज थियो । स्टेजको छेउको भागमा आइपुगेका थिए, प्रकाश । ठिक त्यही समय भिडको बीचबाट कसैले बियरको बोतल प्रहार गर्‍यो । बोतलले प्रकाशको गालामा झ्याम्म लाग्यो ।

“जब प्रकाश सपूतलाई बियरको बोतलले लाग्यो । प्रहरीले बोतल प्रहार गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गर्‍यो,” उक्त फेस्टिभलका आयोजक नरेश गिरी रोमानियाबाट  भन्छन्, “अहिले उनी कानुनी प्रक्रियामा छन् । अब, उनले यहाँको कानुनअनुसार कारबाही भोग्छन् ।”

बियरको बोतलले प्रकाशलाई लागे पनि उनी सकुशल रहेको नरेशले जानकारी दिए । केही समय कार्यक्रम बिथोलिए पनि कार्यक्रम पुनः सुरु भयो । प्रकाश गीत गाउन थाले । १०० ले (रोमानियाको मुद्रा) तिरेर फेस्टिभलमा सहभागी भएका सहभागी उसै गरी प्रकाशसँगै संगीतमा झुम्मिए ।

नरेशलाई कुनै पूर्वाग्रह वा रिसिबीले प्रकाशमाथि बोतल प्रहार भएजस्तो लागेको छैन । बियर पिएर मात्तिएकाले होस गुमाएर प्रहार गरेको हुनसक्ने उनको अनुमान छ ।

“ऊ (बोतल प्रहार गर्ने व्यक्ति) पूरै ड्रंक थियो । त्यसैले इमोसनल भएर खाँदै गरेको त्यही बोतल प्रहार गर्‍यो कि भन्ने लाग्छ,” नरेश स्पष्ट पार्ने प्रयास गर्छन्, “कुनै पूर्वाग्रह वा रिसिबी जस्तो पनि लाग्दैन । तर, जे होस् उसले गल्ती गरिसकेको छ, कारबाहीको भागिदार हुनुपर्छ । र, हुन्छ ।”

रोमानिया पुलिसले नियन्त्रणमा लिएका ती व्यक्ति को हुन् भन्ने पहिचान खुल्न बाँकी रहेको उनी बताउँछन् । “उनको पहिचान खुलिसकेको छैन । म इमिग्रेसनमातर्फ जानकारी लिने प्रयासमा छु,” नरेश भन्छन्, “प्रहरीले उनलाई इमिग्रेसनमा बुझाइसकेको छ । अब उनलाई इमिग्रेसनले अदालत लैजान्छ । अदालतले जे फैसला गर्छ, त्यो उनले स्वीकार्नु पर्छ ।”

रोमानियामा सांगीतिक होस् अथवा अरु कुनै कार्यक्रम मध्यपानमा प्रतिबन्द लगाइएको हुँदैन । त्यसकै फाइदा उनले उठाएको नरेश बताउँछन् ।

सकुशल रहेका प्रकाश भोलि (मंगलबार) ११ बजेको फ्लाइटमार्फत नेपाल फर्किन लागेको उनले बताए । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रकाश भोलि स्वदेश फर्किन लागेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

रोमानियामा गीत गाइरहदा यसरी भयो प्रकाश सपुत माथि बोतल प्रहार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गर्यो भ्रत्सना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?