जापानमा भारी हिमपात, यातायात अवरुद्ध कम्तिमा ३ जनाको मृत्यु

-


     जनहित न्युज    
     माघ १२ गते २०७९


भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् । 

जापानका केही भागमा कीर्तिमानी चिसो तापक्रम देखिएको छ, देशको उत्तरदेखि पश्चिमसम्म फैलिएको सी अफ जापानको तटमा हिउँ परेको छ ।प्रशान्त महासागरको तटीय क्षेत्रलगायत तल्लो क्षेत्रमा थप हिमपात हुने मौसम विभागले जनाएको छ । 

बाक्लो तुसारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ । 

तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरु गरिने रेल सेवाका अधिकारीले बताएका छन् । हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ । चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ । 

मौसमले व्यापक अवरोध ल्याएको छ।पश्चिम जापानको क्योटो र शिगा प्रान्तहरूमा स्थानीय रेल सेवाहरू प्रयोग गर्ने हजारौं मानिसहरू रातभर गाडी वा स्टेशनहरूमा बस्न बाध्य भए भने देशभरका प्रमुख सडकहरूमा सवारी साधनहरू अलपत्र परे र सयौं उडानहरू रद्द गरियो।

जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भएनभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झै मौसम सफा नरहने विभागको अनुमान छ ।

दक्षिणपश्चिम जापानको ओइटा प्रिफेक्चरमा झरेको रुख हटाउने क्रममा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । निगाता प्रिफेक्चरमा चिसो मौसमको कारण थप दुई जनाको मृत्युको सम्बन्धमा पनि अनुसन्धान भइरहेको उपमुख्य क्याबिनेट सचिव योशिहिको इसोजाकीले  बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?