
ज्यूखाई जंगलमाथिका लोककथा–किंबदन्ती डरलाग्दा छन्, जंगलको इतिहास पनि सुन्दर छैन, सदियौंदेखि मानिसको ठूलो संख्या त्यो आध्यारो जंगलमा हराइरहेको छ, किन ?
विश्वप्रसिद्ध जापानी कलाकार युको ताकेउची हलिउडका नयाँ सिनेमामा काम गर्ने तयारीमा थिइन्, तर कोरोना महामारीपछि उनलाई मानसिक तनावले समात्यो ।
काठमाडौँ —पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल सुन्दर छैन । यो जंगलमाथि लेखिएका लोककथा–किंबदन्ती असाध्यै डरलाग्दा छन् ।
यो जंगल पर्यापयर्टनका लागि होइन, हाराकिरी अर्थात् आत्महत्याका लागि कुख्यात छ । त्यसैले यो एक घातक जंगल हो, जसको सम्झना सबैका लागि भयानक र डरमर्दो छ । वर्तमानमा पनि यो जंगल अभिघातको प्रतीक बनिरहेको छ । संसारैभर सधैं निरुत्साहित गर्नुपर्ने आत्महत्याजस्तो जीवनविरोधी, अति अँध्यारो, खराब र कुत्सित मनोविज्ञान यो जंगलसँग जोडिन्छ ।
२१ औं शताब्दीमा जापानमा पीडादायी हाराकिरी देखिएको छैन । ‘जनताले आत्महत्या नगरून्’ भनेर सरकारले निरुत्साहनका अनेक उपाय अपनाइरहेको छ । तर, लुकिछिपी नै जापानीहरू आफ्नो अन्त्य गरिरहेका छन् । यसरी आत्महत्या गरिने स्थानमध्ये ‘आत्महत्याको जंगल’ को कथा बेग्लै छ ।
राजधानी टोकियोबाट दुई घण्टा ड्राइभिङमा पुगिने फुजी हिमाल फेदको यो जंगल घना र विशाल छ । भनिन्छ– जंगलभित्र घामका किरण पनि पस्न सक्दैन । यो जंगलको क्षेत्रफल ३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यति ठूलो क्षेत्रफल भएको र मानवविहीन भएका कारण जापान सरकारले यसभित्र मोबाइल टावर टिप्ने व्यवस्था गर्न आवश्यकता महसुस गरेको थिएन । तर, यहाँ वर्षौंदेखि लगातार आत्महत्या गर्नेको भीड बढेपछि सरकारले त्यो कदम रोक्न केही प्रयास भने गरेको छ ।
यो जंगल माउन्ट फुजीसँग जोडिएको यामानासी प्रान्तको आओकीहारा भन्ने ठाउँमा पर्छ । यो जंगललाई जापानी भाषामा ‘ज्यूखाई’ पनि भन्ने गरिन्छ । यसको अर्थ ‘रूखहरूको समुद्र’ हो । कारण, यहाँ हावा चलिरहेका बेला माथि माउन्ट फुजीबाट हेर्दा समुद्रमा पानी हल्लिएझैं देखिन्छ । माउन्ट फुजीबाट देखिने त्यो सबैभन्दा सुन्दर एवम् रोमाञ्चक दृश्यमध्येको एक हो ।
यो विशाल जंगल भएको स्थानमा विगतमा ठूलो पोखरी भएको वैज्ञानिकले पत्तो लगाएका छन् । सन् ८ सय ६४ को विशाल ज्वालामुखीको लाभाले पोखरी पुरियो र बिस्तारै बुट्यानहरू उम्रँदै गए । ठूलो प्राकृतिक घटनाबाट जन्मेको जंगल भएका कारण यसबारे विभिन्न डरलाग्दा लोककथा लेखिँदै–सुनिँदै गयो ।
यी कथासँगै यो जंगल आसपास पुगेर सम्पर्कविहीन हुनेको संख्या बढ्दै जान थाल्यो । फाट्टफुट्ट रूपमा मृतकका शवहरू पनि भेटिन थाले । जंगलसम्म सडक यातायात पुगेपछि वरपरका मात्रै होइन, टाढाटाढाबाट आत्महत्याका लागि यो जंगलमा पुग्नेहरू पनि बढ्दै गए । त्यसैले जंगलको बाटोका ठाउँ–ठाउँमा जीवनको महत्त्व झल्कने भनाइहरू राखेको देखिन्छ । यिनै भनाइ पढ्दा थाहा हुन्छ, हामी आत्महत्याको जंगलमा प्रवेश गरिरहेका छौं ।
मैले धेरै पटक यो जंगल हुँदै यात्रा गर्ने अवसर पाएको छु । बाटोबाटै आत्महत्या गर्नेहरूले छाडेका बेवारिसे झोला, कपडा र सँगै उनीहरूको कंकाल वर्तमानमा पनि देख्न सकिन्छ । अग्ला–अग्ला घाँसले छोपेका थोत्रा गाडीहरू पनि भेटिन्छन् । घना जंगलभित्र पस्ने अठोट जीवन त्याग गर्ने आँट गर्नेहरूले मात्र गर्न सक्छन् । भनिन्छ– जंगलभित्र कम्पासले पनि काम गर्दैन । जंगलभित्र छिरेपछि बाटो भड््किएर मानिसहरू भोक र तिर्खाले समेत मर्ने गरेको पाइएको छ ।
जंगलभित्र छिरेको मान्छे विरलै फर्किएको घटना भेटिन्छन् । तैपनि वार्षिक रूपमा थुप्रै मानिस यस जंगलमा छिर्ने गरेको तथ्यांक छ । केही आत्महत्या गर्ने नियतले र केही जीवनमाथि प्रयोग गर्न पनि यो जंगल छिर्ने गरेको अनुमान गरिएको छ । ठाउँ–ठाउँमा राखिएको जीवनमाथिका चेतनामूलक बोर्डका लेखनीले उनीहरूमा फरक पर्नुपर्ने हो, तर त्यस्तो देखिँदैन ।
जंगलमा पसेर मानिस लगातार बेपत्ता भएपछि स्थानीय सरकारले वरपर मोबाइलको टावर टिप्ने आवश्यक प्रबन्ध मिलाएको छ भनिन्छ, तर आत्महत्याको नियत राखेर हिँडेका मानिसले यो नेटवर्कको प्रयोग गरेको भेटिँदैन । बरु आफन्तहरूले आफ्ना मान्छे बेपत्ता भएपछि टिपाएको मोबाइल नम्बरका कारण बर्सेनि यो जंगलमा हराउने मान्छेको संख्या बढिरहेको तथ्यांक पत्तो लगाउन भने उनीहरूलाई सजिलो भएको छ । यस्ता तथ्यांकले भन्छ– यो जंगलमा आत्महत्या गर्न आउने मानिस नजिकका मात्र होइन, जापानका दूरदराज मानिस पनि आउँछन् ।
यहाँ आत्महत्या गर्नेहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् । केहीको शव रूखमा झुन्डिएको भेटिन्छ । केहीचाहिँ रूखको फेदीमा बसेर आफ्नो शक्ति क्षीण गराउँदै मृत्युको मुखसम्म पुगेको तथ्य सरोकारवालाले उल्लेख गरेका छन् । आत्महत्याको योजना बनाएर गए पनि पछि मन फर्किएर बाटो खोज्ने प्रयासमा भोक र तिर्खाले बिचल्ली परेर मरेको पनि पाइएको छ । केही मानिसले आफूलाई खोज्न मोबाइलमार्फत प्रयास गरेको पनि पाइएको छ । यसरी मानिस खोज्न जंगल जाने सुरक्षाकर्मीले रूखहरूमा झुन्डिएका वर्षौं पुरानो कंकाल पनि देखेको बताउने गरेका छन् । यस्ता भनाइले पनि महसुस हुन्छ– यो जंगल एक डरलाग्दो मसानघाट हो ।
आत्महत्या गर्न जंगल पसेका यस्ता व्यक्तिहरू आफ्नो परिचय नखुलोस् भन्नेमा निकै सचेत भएको पाइएको छ । यही कारण कंकाल वरपर मात्र होइन, ताजा शव वरपर पनि उनीहरूको परिचय खुल्ने सामग्री भेटिँदैन । जापानमा परिवारको कुनै सदस्य बेपत्ता भयो र जतिसुकै खोजी गर्दा पनि फेला परेन भने आत्महत्याको जंगलमा गएको होला भनेर आस मारेर पनि चित्त बुझाउँछन् मानिसहरू ।
यामा नासी केनको स्थानीय सरकारले यो जंगल र यहाँ हुने आत्महत्यालाई राज्यकै कलंक मानेको छ । माउन्ट फुजीका कारण यो क्षेत्रमा मानिसको आवतजावत बाक्लो हुने भएकाले पनि सबैलाई निगरानीमा राख्न सम्भव छैन । ठूलो क्षेत्रमा फैलिएको जंगलमा जहाँबाट पनि छिर्न सकिने भएकाले स्थानीय सरकारले लाख प्रयास गर्दा पनि आत्महत्या रोक्न सकेको छैन । ठ्याक्कै कुन मितिबाट यो जंगल आत्महत्या गर्ने स्थलको रूपमा विकास भयो ? यो विषयमा अनुसन्धानकर्ता र जापानी समाज नै अलमलमा छन् ।
…
त्यसो त जापान सरकारले चाहेर पनि आत्महत्या दर रोक्न सकेको छैन । कोरोना महामारीबीच कोभिड–१९ का बिरामीमा दुई मुख्य कुरा देखिए । एउटा थियो, विगतको भन्दा तुलनात्मक रूपमा अत्यधिक गर्भधारण र अर्को मानसिक तनाव एवम् आत्महत्या । उसै पनि जापान विश्वमा धेरै आत्महत्या गरिने मुलुकमध्ये पर्छ । यस्तोमा कोरोना महामारीबीच बढेको आर्थिक संकट र बेरोजगारीले आत्महत्याको ग्राफ ह्वात्तै उक्लियो ।
आत्महत्या गर्नेमा सर्वसाधारण मात्रै थिएनन्, ग्ल्यामरको दुनियाँमा अत्यधिक नाम कमाएका, प्रसिद्धि–पैसाको कुनै कमी नभएका कलाकार पनि थिए । तीमध्येकी एक थिइन्, युको ताकेउची । जापान मात्र होइन, हलिउडमा समेत प्रसिद्ध युकोलाई राम्रा सिनेमादेखि जापानका ठूला कम्पनीका उत्पादनका पोस्टरसम्म देख्न पाइन्थ्यो । घर–घरमा उनका फ्यान थिए ।
यही लोकप्रियता देखेर एचबीओ टेलिभिजन च्यानलले सन् २०१८ मा तयार पारेको वेभसिरिज ‘मिस सोर्लोक’ मा युकोलाई मुख्य रोलमा अफर गर्यो । अंग्रेजी भाषाको ‘मिस सोर्लोक’ को मुख्य भूमिकामा युको ताकेउचीले गरेको अभिनय यति लोकप्रिय भयो कि जापानभित्रको उनको प्रसिद्धि विश्वभर फैलियो । उनी हलिउडका नयाँ वेभसिरिज र सिनेमाहरूमा काम गर्ने तयारी गर्दैथिइन् । तर, यसैबीच फैलिएको कोरोना महामारीपछि फैलिएको मानसिक तनावले यिनलाई पनि समात्यो । यही तनावकै कारण सन् २०२०, सेप्टेम्बरको तेस्रो बिहीबार टोकियोस्थित आफ्नै फ्ल्याटमा उनले आत्महत्या गरिन् ।
त्यसअघि सेप्टेम्बरको पहिलो साता अर्की लोकप्रिय अभिनेत्री सेई आसिनाले पनि आत्महत्या गरेकी थिइन् । त्यसको दुई महिनाअघि अर्का लोकप्रिय कलाकार हारुमा मियुराले पनि आत्महत्या गरेका थिए । त्यसअघि नेटफ्लिक्सकी लोकप्रिय कलाकार हाना किमुराले पनि आत्महत्या गरेकी थिइन् । कोरोना महामारीका समाचारबीच हरेक दिनजसो आत्महत्याको समाचार पनि सुन्न पाइन्थ्यो । कोरोना महामारी उत्कर्षमा पुगेको अगस्टमा मात्र जापानमा १ हजार ९ सयभन्दा बढीले आत्महत्या गरेका थिए । सन् २००३ मा जापान विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकमा दरिएको थियो ।
आत्महत्या गर्ने देशमध्ये जापान सन् १९६० देखि नै अगाडि छ । आत्महत्या गर्नेहरूको उमेर २० देखि ४४ वर्षका बीच हुने गरेको छ । यसले जापानमा वृद्धहरूको संख्या लगातार बढ्ने र युवाहरूको संख्या लगातार घटिरहने समस्या पनि देखिएको छ । तर, विश्वका अन्य देशका तुलनामा बच्चा र वृद्धहरूले पनि जापानमा आत्महत्या गर्छन् । यो अर्को अनौठो सत्य हो । यही कारण अन्य देशको तुलनामा जापानको आत्महत्याको खबरलाई संसारले समाचार पनि बनाइरहेको हुन्छ । यहाँ हरेक १० लाखमध्ये १ सय ८५ व्यक्तिले आत्महत्या गरिरहेको तथ्यांकले बताउँछ ।
जापानमा आत्महत्या दर उकालो लाग्न थालेको ८० र ९० को दशकमा हो । अत्यासलाग्दो ढंगबाट बढोत्तरी हुन थालेको सन् १९९८ देखि रहेछ । यो वर्ष एसियाली मुलुकमा आर्थिक मन्दी सुरु भएपछि बढेको आत्महत्या दर त्यसपछिका केही वर्ष घट्न थाल्यो । तर, सन् २००८ मा विश्वमा आर्थिक मन्दी सुरु भएपछि पुनः त्यहाँ आत्महत्या बढ्न थाल्यो । त्यसपछि पुनः घटेको आत्महत्या कोरोना महामारीपछि पुनः बढेको छ । यो लेखौट लेखिरहँदा पनि जापानका कुना–कुनाबाट आत्महत्याका समाचारहरू आइरहेका छन् ।
…
आखिर जापानमा लगातार आत्महत्याका घटना किन बढिरहेका छन् ? जापान पुगेदेखि नै मेरो मनमा प्रश्न आइरहन्थ्यो । केही पछि जापानमा आत्महत्याको दर घटेको समाचारहरू नआएको होइन, तर पनि विश्वमा आत्महत्या धेरै गर्ने मुलुकमध्ये जापान कुनै न कुनै रूपमा उच्च रहँदै आएपछि मलाई पनि यस विषयमा चासो बढ्दै गयो र केही टिपोट गर्दै गएँ ।
कतै–कतै लेखिएको छ– जापानीहरूको रगतमै आत्महत्याको संस्कृति छ । तर, अब त्यो संस्कृति बन्नु हुँदैन, खराब संस्कृति अवलम्बन गर्नु जीवनविरोधी काम हो । मान्छे जीवनविरोधी कदापि बन्नु हुँदैन । जापानमा सामुराई योद्धा युद्धका लागि प्रख्यात मानिन्छन् । यिनीहरू आफूले कुनै युद्ध हारे भने वा आफूले सोचेको विषय प्राप्त गर्न सकेनन् भने सार्वजनिक रूपमा हाराकिरी गर्थे । हाराकिरीलाई सेप्पोकु पनि भन्ने गरिन्छ ।
जापानको इतिहासमा लेखिएअनुसार, हाराकिरी अत्यन्तै पीडादायी आत्महत्यामध्ये पर्छ, जसमा सामुरायी योद्धा जनताका अघि सार्वजनिक रूपमा एउटा धारिलो, तर सानो चक्कु दाहिने हातमा लिन्थे र आफ्नो पेटको आन्द्रासहितका भित्री अंग काटिने गरी देब्रेबाट दाहिनेतिर चिर्थे । यो बाँच्न नसकिने, तर मृत्यु पनि तुरुन्तै नहुने पीडादायी आत्महत्या हो ।
यसरी चक्कु प्रहारपछि सामुराई योद्धाहरूलाई गाउँलेहरू जयजयकार गर्दै सलाम गर्थे र केही घण्टाको दुःखदायी अवस्थापछि उनीहरूको मृत्यु हुन्थ्यो, जसलाई जनताहरू योद्धाका रूपमा सम्मान गर्छन् । हाराकिरी गर्दा तत्कालै मृत्यु सम्भव नभई पीडादायक हुन थाल्ने अवस्थालाई मध्यनजर गरी पहिल्यै दुई जनालाई तयारी अवस्थामा राखिएको हुन्थ्यो र मृत्युवरण गर्न चाहनेलाई तिनले पीडा अवधि छोट्याइदिने काम गर्थे ।
सन् १९७० मा विश्वप्रसिद्ध जापानी लेखक मिसिमा युकिओसहित केही राजनीतिक योद्धाहरूले गरेको हाराकिरीले विश्व हल्लाएको थियो । रेडियोको युग उत्कर्षमा पुगेको र टेलिभिजनको युग सुरु भइसकेको बेला भएको त्यो हाराकिरी विश्वका हरेक कुनामा पुग्यो, बौद्धिकहरूको चासोमा पर्यो । जापानबाट नोबेल पुरस्कारका लागि नोमिनेसनमा परेका मिसिमा युकिओ राजतन्त्रवादी थिए । दोस्रो विश्वयुद्धपछि राजाको अधिकार खोसिएर राजा आलंकारिक भएको उनलाई मन परेको
थिएन । मिसिमाको नेतृत्वमा ताते नो खाई भन्ने राजावादीको एउटा दस्ताले सैनिक मुख्यालयमा आक्रमण गरेर सत्ता परिवर्तनको असफल प्रयास गर्यो । सन् १९७० को उक्त क्रान्ति असफल भएपछि उनले आफ्ना कमान्डरहरूसँगै टोकियो, इचिगायास्थित सैनिक मुख्यालय परिसरमा हजारौं सैनिक सामुन्ने दर्दनाक रूपमा सार्वजनिक हाराकिरी गरेर संसार त्यागेका थिए ।
जापानी योद्धाहरू सुरुदेखि नै अरू देशप्रति आक्रामक भएर युद्ध लड्थे । तर, सबै युद्धमा जित सम्भव हुँदैनथ्यो । यस्तो बेला कैदमा परेका सामुरायी योद्धाहरू दुश्मनकै अघि हाराकिरी गर्थे । आफ्नो युद्ध नीतिको पोल दुश्मनसँग खोल्नु नपरोस् भनेर गरिने हाराकिरी यति प्रसिद्ध भयो कि राजाको मृत्युमा पनि उनीप्रति सम्मान जनाउन जनता र सेनाका केही योद्धाहरू हाराकिरी गर्थे । जापानका सैनिक प्रमुखहरूले समेत हाराकिरी गरेको उदाहरण छन् ।
यस्ता योद्धालाई ठूलो सम्मान मिल्थ्यो । यही सम्मानका कारण पनि जापानमा हाराकिरी २० औं शताब्दीसम्म लोकप्रिय हुँदै आयो । दोस्रो विश्वयुद्धमा अमेरिका र उसका सहयोगी देशहरूसँग हार भोग्दै जाँदा संसारभरिका जापानी सेनाले आत्मसमर्पण गर्नुभन्दा हाराकिरी गर्नु उपयुक्त ठाने । हाराकिरी गरिएका अनेक लोकगीतहरू आज पनि जापानमा लोकप्रिय छन् । त्यस्ता गीतहरूमा योद्धाले लडेका युद्ध र आफ्ना साथीहरूको बचाउमा गरेको हाराकिरीको प्रशंसनीय वर्णन पाइन्छ ।
पछि–पछि राजद्रोह गर्नेहरूलाई सरकारले सार्वजनिक रूपमा हाराकिरीको आदेश सुनाउँदथ्यो । यस्तो आदेश पाएपछि राजद्रोहीहरूले पनि सजिलै आफूलाई दुःखदायी अन्त्य गर्थे । हेइयान काल (७९४–११८५) बाटै जापानमा हाराकिरीको आरम्भ भएको विश्वास गरिन्छ । एदो काल (१६०३–१८६८) मा हाराकिरीले ग्रामीणस्तरसम्म जरा गाडिसकेको थियो । तत्कालीन अवस्थाको ठूलो सजाय पनि त्यही थियो ।
इतिहास भन्छ– हाराकिरीको सजाय पाउने पहिलो व्यक्ति फुजिवारा नोयासुसुके हुन् । पुरुषहरू मात्र होइन, महिला योद्धाहरूले पनि हाराकिरी गर्थे । महिलाहरूको हाराकिरीलाई जिगाई भनिन्यो, जसमा योद्धाले एकै झमटमा आफ्नो अन्त्य गर्थे । आज जापानमा हाराकिरीलाई कानुनी रूपमै अपराध मानिएको छ । र, त्यो भयानक अपराधविरुद्ध ठूलो अभियान चलाउनु जरुरी छ ।
(अनेसास केन्द्रीय कार्य समितिका पूर्वअध्यक्ष पौडेल जापानमा बस्छन्)



