उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार, लगनशीलताले उनको जीवनमा ल्याएको परिवर्तन

-


     जनहित न्युज    
     मंसिर ९ गते २०८०


म कृष्णराज तिमिल्सिना, नेपालको वाग्मती प्रदेशको रामेछापमा हुर्किए। मैले विद्यालय तहको प्रमाणपत्र (एसएलसी) परीक्षा दिनको निमित्त मेरो गाउँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थली पुग्न १२ घण्टा हिँड्नु पर्दथ्यो । त्यसबेला माओवादी जनयुद्धकालभएकाले गाउँमा बस्न निकै खतरनाक थियो। आफ्नो ज्यान जोखिममा राखेर अध्ययन पूरा गर्न हामीले धेरै चुनौतीहरू पार गर्नुपर्यो। मेरो ब्याचका १०६ जना विद्यार्थीमध्ये हामी १० जना मात्र एसएलसी परीक्षामा उत्तीर्ण भयौं।

म उच्च शिक्षाको लागि नेपालको राजधानी काठमाडौं गएँ र मलाई सार्वजनिक बसको छतमा चढेर त्यहाँ गएको सम्झना छ। मलाई सहरमा पढाउने मेरो परिवारको हैसियत नभएको हुनाले मैले कडा परिश्रम गर्नुपर्यो। मैले एउटा तयारी पोसाक पसलमा काम पाएँ। यसबाट मलाई प्रति महिना १२०० रुपैयाँ (अमेरिकी डलर ९.२०) प्राप्त हुन्थ्यो र त्यहाँ काम गर्दै जाँदा आफैंले तयारी पोसाक व्यवसाय सुरु गर्ने मेरो चाहना बढ्दै गयो।

तर व्यवसाय सुरु गर्न मसँग पुँजी थिएन, र मेरो परिवार वा साथीहरूको समूहबाट कोही पनि मलाई ऋण दिन इच्छुक थिएनन्। म मात्र १८ वर्षको थिएँ र उनीहरूले यो एक जोखिमपूर्ण प्रस्ताव भएको ठाने।

विदेशमा खिचिएको कृष्णराज तिमिल्सिनाको फोटो।

त्यसपछि मेरो उमेरका हरेक नेपालीले त्यसबेला जे गर्थे र अझै पनि गर्ने गरेका छन् मैले पनि त्यस्तै गरें: सन् २००८ मा मैले मेरो झोला पोको पारेर कामको लागि विदेश हानिएँ। मैले मलेशियाको एउटा कारखानामा काम पाएँ, ढुवानी कन्टेनरहरूमा सर्जिकल ग्लोब्सले भरिएका बक्सहरू लोड गर्ने काम। धातुको कन्टेनरहरू भित्र गर्मीले उकुस मुकुस हुन्थ्यो, म पसिनाले निथ्रुक्क भिज्थें। म हरेक आधा घण्टा वा त्यसभन्दा केही बढी समयपछि पसिनाले भिजेको मेरो टी-सर्ट निचोर्न रोकिनुपर्थ्यो। त्यसपछि, मैले शारीरिक रूपमा कम श्रमसाध्य कम्पनीमा काम पाएँ।

विदेशमा काम गर्नु चुनौतीपूर्ण थियो, तर थोरै भए पनि मैले केही पैसा कमाएँ। सन् २०१० मा म आफैंले तयारी पोसाक पसल खोल्ने उद्देश्यले बचत गरेको करिब ७ लाख रुपैयाँ (अमेरिकी डलर ५,३६८) लिएर नेपाल फर्कें। मेरो अधुरो सपना अन्ततः साकार हुँदै थियो । मानिसहरूले मलाई ऋण दिन विश्वास गर्न थाले; म वयस्क थिएँ, परिपक्व थिएँ र मसँग विदेशको अनुभव पनि थियो।

मेरो तयारी पोसाक पसल राम्ररी चल्यो र व्यापार विस्तार सँगै मैले राजधानीमा अन्य छवटा पसल खोलें। तर मैले बेच्ने तयारी पोसाक कहाँबाट आउँछन् र ती कसरी बन्छन् भन्ने बारेमा सधैं उत्सुक रहन्थेँ। जब म मेरो पसलको लागि तयारी पोसाक ल्याउन भारत, बंगलादेश र चीनको यात्रा गर्थें, म मेरा आपूर्तिकर्ताहरूको उद्योगहरूमा जान्थें। हामी नेपालमा तयारी पोसाक किन उत्पादन गर्न सक्दैनौं भनेर म सधैं सोच्ने गर्थें।

A garments factory
Image via Nepali Times. Used with permission.

अन्ततः मैले सातवटा सिलाइ मेसिन किन्ने साहस जुटाएँ र तयारी पोसाक बनाउने व्यवस्था गरें। ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक थियो। मैले मेरा पसलहरू बन्द गर्न थालें र थप ६० वटा मेसिनहरू थपेर उत्पादन विस्तार गरें।

छोटो समयमा नै मेरो तयारी पोसाक ब्रान्ड थ्रेड गार्मेन्ट पूर्ण रूपमा तयारी पोसाक आपूर्तिकर्ता बन्यो। हामी पुरूषका तयारी पोसाक उत्पादन गर्छौं र नेपालभर पसलहरूमा उपलब्ध गर्ने गर्छौं। नेपाल प्रहरी र नेपाली सेनाको लागि ट्र्याकसूट, स्लीपिङ ब्याग र थर्मो- कोटहरू पनि तयार गर्छौं, जुन पहिले आयात गर्ने गरिन्थ्यो। “मेड इन नेपाल” ट्याग भएका मेरा तयारी पोसाकहरू अहिले नेपाली काम गर्ने देशहरू मलेसिया, कतार र दुबईमा बिक्री हुन्छन्।

नेपाल सरकारबाट मैले कुनै सहयोग पाएको छैन। यदि सरकारले नेपाली तयारी पोसाक र अन्य उद्योगीहरूलाई युरोप र अमेरिकामा स्थापित गर्न सकेको खण्डमा लाभदायक हुनेछ। विदेशमा रहेका नेपाली दूतावासहरूले व्यापारलाई सहज बनाउन सक्छन् । अन्तर्राष्ट्रिय बजारमा पहुँच प्राप्त गर्न हामीलाई सहयोगको अत्यन्तै खाँचो रहेको छ।

अधिकांश मानिसहरूलाई कडा परिश्रम गर्न केवल प्लेटफर्म र आफ्नो क्षमता देखाउनको लागि केवल अवसर चाहिन्छ। यिनै कारणले ठूलो संख्यामा देश छाड्ने नेपालीहरूको लागि वैदेशिक रोजगार एक मात्र विकल्प बन्न पुगेको हो। म यहाँ थ्रेड गार्मेन्टमा नेपालीहरूलाई त्यो अवसर दिने प्रयास गर्दैछु – काठमाडौंको तयारी पोसाक उद्योगमा ६०० र इटहरी शाखामा २५० मजदुरहरू कार्यरत छन्।

म भर्खर ३४ वर्षको भएँ, तर म मजदुरहरू र उनीहरूको परिवारका लागि अभिभावक जस्तो महसुस गर्छु। कुनै आमा बिरामी पर्दा वा बच्चाको विद्यालयको शुल्क तिर्ने बेलामा म उनीहरूको लागि त्यहाँ हुनुपर्छ। मेरो आफ्नै विपन्न पृष्ठभूमि र संघर्षका कारण म उनीहरूसँग सम्बन्ध राख्न सक्षम छु।

तस्वीर: नेपाली टाइम्स

धेरै मानिसहरूको लागि आशाको केन्द्र बन्नु ठूलो जिम्मेवारी हो, तर हामीले कम्पनीप्रति स्वामित्वको भावना महसुस गर्ने ४२ कर्मचारीहरूको बलियो व्यवस्थापन टोली बनाएका छौं जुन वर्षौंदेखि संगठित रूपमा बढेको छ। म सफल हुँदा हामी सबैलाई फाइदा हुन्छ। उनीहरूलाई यो कुरा थाहा छ र मलाई साथ दिने बलियो खम्बा बनेका छन्।

मैले व्यवसाय सञ्चालन गर्नको निम्ति कहिल्यै तालिम लिइनँ। मसँग डिग्री छैन र केवल माध्यमिक तहको अध्ययन पूरा गरेको छु। तर मलाई कसरी धैर्य गर्ने भन्ने थाहा छ। काम गर्दै सिक्दै छु। यदि मैले यो गर्न सकें भने, जो कोहीले पनि गर्न सक्छ भन्ने मलाई दृढ विश्वास छ।

तस्वीर: नेपाली टाइम्स।

धेरै नेपाली आफ्नो कमाइ बचत गरेर विदेशबाट फर्किन्छन् । उनीहरूले कुनै व्यवसायमा लगानी गर्न खोज्छन् तर विदेशमा हुँदा नेपालसँग सम्पर्कविच्छेद हुनु र परिणामको लागि धैर्य गर्न नसक्दा उनीहरूले हतारमा लगानी गर्ने निर्णय गर्न सक्छन्। यदि यो असफल भयो भने, उनीहरू पुन: पलायन हुन्छन् र यो कहिल्यै अन्त्य नहुने दुष्चक्र बन्न सक्छ।

कतिपय अवस्थामा उनीहरूले गर्ने लगानी उनीहरूको विशेषज्ञता भएको क्षेत्रसँग सम्बन्धित हुँदैन। गार्मेन्ट क्षेत्रमा मेरो यात्रा वास्तवमा म १८ वर्षको हुँदा र विद्यार्थीको रूपमा कपडा पसलमा काम गर्दा सुरु भएको हो।

मलाई ज्ञान नभएको व्यवसायमा मैले लगानी गरेको भए सायद म यहाँसम्म पुग्ने थिइनँ। मानिसहरूले मलाई नचिने तापनि थ्रेड गार्मेन्ट बारे जान्दछन्। बजार बुझ्न र ब्रान्ड बनाउन वर्षौं लाग्छ।

कृष्णराज तिमिल्सिनासँगको कुराकानीमा आधारित यो लेख सुरुमा नेपाली टाइम्सको डायस्पोरा डायरी सिरिजमा प्रकाशित सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?