
विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा जापानको टोकियोमा पहिलो केस पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै सोमबार टोकियोमा ३० वर्ष उमेरको एक जना पुरुषमा मन्कीपक्सको पहिलो केस पोजेटिभ देखिएको पुष्टि भएसंगै टोकियोमा पहिलो केस पुष्टि भएको टोकियोका गभर्नर कोइके युरिकोले सोमबार पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गरेका हुन्।
अधिकारीहरूका अनुसार ती व्यक्ति जुनको अन्त्यमा युरोप भ्रमण गरेका थिए र जुलाईको मध्यमा जापान फर्केका थिए।उनी युरोपमा हुँदा भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको बताइएको छ।
हाल अस्पतालमा भर्ना भएका ती व्यक्तिले जुलाई १५ मा अस्वस्थ महसुस गर्न थालेको टोकियो सरकारले जनाएको छ। उनलाई लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र दाग लाग्ने लगायतका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार जुलाई १५ मा संक्रमित ती व्यक्तिमा दाग, उच्च ज्वरो, टाउको दुखाइ र थकानसहितका लक्षण विकास भएपछि सुरुमा स्वास्थ्य सेवा केन्द्रमा गएका थिए।हाल उनलाई टोकियोको अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको बताएका छन् । उनको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
स्वास्थ्य मन्त्रालयले संक्रमणको रुट निर्धारण गर्न र ती व्यक्तिसँग कसैको नजिकको सम्पर्क थियो कि भनेर पत्ता लगाउन प्रयास गरिरहेको छ।
कोइकेले टोकियोका स्वास्थ्य अधिकारीहरू संक्रमणको तुरुन्तै रिपोर्ट गर्न राम्रोसँग समन्वय गरिएको बताइन्।उनले भाइरसको बारेमा धेरै चिन्तित हुनुपर्ने आवश्यकता नभएको बताइन्।उनले मानिसहरूलाई आफ्नो हातलाई कीटाणुरहित गर्न र संक्रमणको शंका लागेमा चिकित्सकसँग परामर्श लिन आग्रह गरिन।
मध्य र पश्चिम अफ्रिका बाहिर मे महिनादेखि संक्रमण रिपोर्ट गरिएको थियो। घनिष्ट शारीरिक सम्पर्कबाट फैलिने रोगका लक्षणहरूमा ज्वरो, चर्को दाग, छालाको घाउ र सुन्निने लिम्फहरू पाँच देखि २१ दिनको इन्क्युबेशन अवधिमा समावेश हुन्छन्।
मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ
यता डब्लुएचओले दक्षिण-पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ। दक्षिण-पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम क्षेत्रपाल सिंहले विज्ञप्ति जारी गर्दै मंकीपक्स द्रुत गतिमा फैलिरहेको र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको जनाएकी छन्।
डब्लुएचओका अनुसार विश्वभर ७५ देशका १६ हजारमा मंकीपक्स सङक्रमण पुष्टि भएको छ। दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा ३ र थाइल्याण्डमा १ गरी जम्मा ४ जनामा मंकीपक्सको सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ।
भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मंकीपक्स सङ्क्रमणको पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रभावित समुदायलाई सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपाय तीव्र बनाउनु, स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रण बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धान बढाउनु संक्रमण रोक्ने मुख्य उपाय हुन्।
मंकीपक्स सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ। सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासको प्रत्यक्ष सम्पर्कमा आएमा बिरामीबाट अर्को मानिसमा यो रोग सर्न सक्छ।
हाल प्रकोप फैलिएका देशमा मंकीपक्स सङ्क्रमणमध्ये मुख्य रूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ। सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सामग्रीबाट पनि रोग सर्न सक्छ।
पछिल्लो समय १२ देशसम्म पुगिसकेको यो भाइरस पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो।
त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो। पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो।



