
सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आह्वान गर्दै नेकपा माओवादी केन्द्रको प्रवास एसिया समितिले १० हजार सदस्य थप्ने गरी अभियान चलाउने भएको छ ।
जन जनमा माओवादी घर घरमा माओवादी भन्ने योजनाका साथ जनतासँग माओवादी अभियान चलाउन लागेको पार्टीलाई सहयोग पुर्याउने उदेश्यका साथ प्रवासमा समेत अभियान सञ्चालन गर्न लागिएको हो ।
नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिको आइतबार सम्पन्न भर्चुअल बैठकले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्न लागेको समितिका अध्यक्ष शनि कुमार वलीले जानकारी दिए ।
‘समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदुरको ऐक्यबद्धता, सामाजिक सुरक्षा सहित मजदुरहरूको हकहितका निम्ति जनप्रगतिशिल मञ्चको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबारदेखि ६ महिनासम्म अभियान सञ्चालन हुने उनको भनाइ छ ।
प्रवास एसिया संगठन समितिका इन्चार्ज ओम शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा विशेष अतिथि सहइन्चार्ज डीबी क्षत्री रहेका थिए । बैठकले केन्द्रमा जस्तै प्रवासमा ६ महिने अभियान गर्ने र उक्त अभियान तीन चरणमा हुने नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिका सचिव भवानी पन्तले जानकारी दिए ।
समिति मातहतका सबै देशहरूका समितिले सोमबारबाटै अभियान सुरु गरि पूर्वी एसियामा अध्यक्ष वली र पश्चिम एसियामा डीबी क्षेत्रीले अभियानको संयोजन गर्ने बताइएको छ ।
अभियानअनुसार पहिलो २ महिना सदस्यता वितरण, दोस्रो २ महिना संगठन निर्माण र तेस्रो चरणमा प्रशिक्षण तथा संगठन निर्माण अभियान चलाउने सहइन्चार्ज क्षत्रीले बताए । अभियानअनुसार १० हजार सदस्य थप्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ ।