वैदेशिक रोजगारमा जाने नेपाली सवैभन्दा बढि साउदी अरबमा, मजदुर भिषामा जाने धेरै

-


     जनहित न्युज    
     श्रावण ७ गते २०७९


वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत्‌ नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ।

सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्।

साउदी अरबपछि कतार ७१,२८० जना, यूएई ४३,६८० जना, कुवैत २०,८७८ र मलेशिया १९,६३५ जना गएको तथ्याङ्क छ।

त्यसपछि म्यानपावर कम्पनीमार्फत्‌ धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान र क्रोएशिया रहेका छन्।

गत आर्थिक वर्षमा व्यक्तिगत पहलमा नेपालीहरू गएका देशको सूचीमा क्रोएशिया चाहिँ पहिलो स्थानमा देखिन्छ।

त्यहाँ ३,५५२ जना गएका तथ्याङ्क छ भने त्यसपछि कतार, यूएई, माल्दिभ्स, यूके, जापान र पोल्यान्डलगायत देश रहेका छन्।

दोहर्‍याएर कुन देश धेरै?

वैदेशिक रोजगारीबाट फर्केर फेरि नेपालीहरू जाने गरेका देशको सूचीमा कतार पहिलो नम्बरमा देखिएको छ। 

गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत्‌ १,५८,८०८ जना नेपाली पुनः कतार गएको विभागको तथ्याङ्क छ।

त्यसपछि ६७,३३३ जना यूएई र ६२,०५२ जना साउदी अरब पुनः कामका लागि गएको पाइएको छ। 

नेपाली कामदारहरू फर्केर पुनः गएका देशको सूचीमा जापान र माल्दिभ्स पनि रहेका छन्।

कुन काममा बढी?

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ।

त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन्। 

म्यानपावरमार्फत्‌ नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको तथ्याङ्कले देखाउँछ।

यद्यपि त्यो सङ्ख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको पाइएको छ। 

कम पैसा आउने काम

मागअनुसार सम्बन्धित देशमा नेपाली कामदारहरू जाने गरेको अधिकारीहरू बताउँछन्।

“जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यही नै धेरै जाने हुन्,” वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बीबीसीसँग भने।

तर नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको अधिकारीहरू पनि स्वीकार्छन्।

“अधिकांश हाम्रा कामदार अदक्ष हुने गरेका छन् जसका कारण उनीहरूले पाउने तलब, सुविधा पनि कम नै हुने गर्छ,” निर्देशक सुनुवारले थपे। 

नेपालबाट विभिन्न देशमा जान लागेका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

“हामीले धेरै दक्ष कामदार पठाउन सक्ने भए उनीहरूले पठाउने रेमिट्यान्स पनि बढी हुन्थ्यो भने राज्यले उद्धारलगायत काममा पनि धेरै समय खर्चिनुपर्दैनथ्यो।”

घरेलु हिंसामा पर्ने, अलपत्र पर्ने नेपाली कामदारको उद्धारमा पनि राज्यको समय र रकम खर्च हुने गरेको अधिकारीहरू बताउँछन्।

यो अवस्थामा सुधारका निम्ति प्रयासहरू जारी रहे पनि अझै अपेक्षित उपलब्धि हुन नसकेको निर्देशक सुनुवारको भनाइ छ।

आप्रवासन विज्ञ के भन्छन्?

तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रम बजारमा भन्दा पनि जहाँबाट माग आयो त्यहीँ नै नेपालले कामदार पठाउने प्रवृत्ति रहेको कतिपय विज्ञ बताउँछन्। 

“एकातिर अदक्ष कामदार बोलाउँदा कम पैसा दिनुपर्ने भएर गन्तव्य मुलुकले फाइदा देख्ने भए भने अर्कोतिर नेपालमै रोजगारी नभएकोले पठाइहाल्ने प्रवृत्ति छ,” आप्रवासनसम्बन्धी विज्ञ सरू जोशीले भनिन्।

“हाम्रा कामदारले कहाँ राम्रो र धेरै सुविधा पाउँछन् उनीहरूको कहाँ धेरै सुरक्षा हुन्छ भन्ने कुरामा त्यति ध्यानै दिइएको देखिँदैन।”

उनका अनुसार नेपालले दक्ष कामदारहरू पठाउने गरेको भए यहाँ भित्रिने रेमिट्यान्स अर्थात्‌ विप्रेषणको अवस्था नै बेग्लै हुन्थ्यो। 

“नेपाल आउने रेमिट्यान्स नै अहिलेको भन्दा दुई/तीनगुना बढी हुन्थ्यो। कामदारले व्यक्तिगत रूपमा र राज्यले लिन फाइदा पनि धेरै हुन्थ्यो,” जोशीले थपिन्।

श्रम कूटनीति र अर्थ कूटनीतिलाई लिएर राज्य गम्भीर हुनुपर्ने उनको सुझाव छ। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?