नेपालको अर्थतन्त्र रेमिटेन्सले धानेको विषय अब नयाँ रहेन। नेपाली युवाले वैदेशिक रोजगारीबाट कमाएको धनले नेपालको वैदेशिक मुद्राको सञ्चिति थेगेको मात्रै छैन, आन्तरिक माग बढाएर अर्थतन्त्र चलायमान बनाउन पनि मद्दत पुगेको छ।
युवा जनशक्तिको वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै नेपाल भित्रिने रेमिटेन्स रकममा पनि उल्लेख्य वृद्धि भइरहेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
मंगलबार सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महीना अर्थात् साउन र भदौमा नेपालमा रु. दुई खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिका तुलनामा १५.२ प्रतिशत धेरै हो।
अमेरिकी डलरमा यस अवधिमा एक अर्ब ९६ करोड रेमिटेन्स आएको देखिएको छ।
साउन र भदौमा वैदेशिक रोजगारीका लागि एक लाख १७ हजारले अनुमति लिएका थिए। यो संख्या अघिल्लो वर्षको भन्दा धेरै हो।
रेमिटेन्सको वृद्धिसँगै देशको वैदेशिक मुद्राको सञ्चितिमा पनि सुधार आएको छ। भदौसम्म नेपालको वैदेशिक मुद्राको सञ्चिति १६ अर्ब चार करोड अमेरिकी डलर पुगेको छ। यो असारका तुलनामा पाँच प्रतिशत धेरै हो।
यो सञ्चितिले १३.७ महीनाको वस्तु र सेवाको आयात थेग्छ। सामान्यतया सात महीनाको वस्तु र सेवा थेग्न मिल्ने विदेशी मुद्राको सञ्चिति राख्ने नेपाल राष्ट्र ब्यांकको लक्ष्य छ।
रेमिटेन्सकै कारण नेपालको बाहिरिनेभन्दा भित्रिने रकम धेरै हुन पुगेको छ। भदौसम्म देशको चालू खाता भनिने वैदेशिक कारोबारलाई जनाउने खाता रु. ४९ अर्ब ६९ करोड बचतमा छ। यो खाता बचतमा हुनुको अर्थ देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम धेरै हुनु हो।
देशले सामान र सेवा आयात गर्दा, नेपाली वैदेशिक भ्रमणमा जाँदा, विदेशी ऋण तिर्दा रकम बाहिरिन्छ भने रेमिटेन्स, वस्तु र सेवा निर्यात, पर्यटक आम्दानी आदि माध्यमबाट देशमा विदेशी रकम भित्रिन्छ।