सहकारीको रकम हिनाबिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ‘म नआउन्जेल कार्यवाहक चलाउनू’ भन्ने पत्र टेबुलमा छोड़ेर फरार

-


     जनहित न्युज    
     जेठ ७ गते २०८०


आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए।

‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’

नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेका छन् । शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।नेपालीले आफनो मोबाइल अफ गरेका छन् । यता बाग्लुङका  सहायक प्रमुख जिल्ला अधिकारी  चित्रांगत बरालले मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको बताए।

‘उहाँ सम्पर्कविहीन भएपछि बचतकर्ताहरू हाम्रो कार्यालयमा आएका छन्। बाग्लुङ बजारमा  तनावको अवस्था छ,’ बरालले भने,‘बचतकर्ताको पैसा फिर्ता दिन हामीले पहिला पनि भनेका हौं। उहाँले आफ्नो पैतृक सम्पत्ति बेचेर भए पनि तिर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेका छौं।’

नेपालीको गाडी चालक पनि सम्पर्कविहिन छन् । अध्यक्ष नेपाली सपरिवार भागेका छन् । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।

सेयर सदस्य र वचतकर्ताहरुले नेपाली भाग्न सक्ने आशंका गरी नेपालीलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन् । उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रु अनुमति रोक्का गरी र पक्राउ गरी अनुसन्धान गर्न  गृहमन्त्रालय र अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ बजार गएका थिए । उनी सपरिवार जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट सम्पर्कविहिन छन् । नेपालीले शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई आफनो सुरक्षा नभएको र स्वास्थ्यमा समस्या आएको भनि निवेदन दिएका थिए । यस्तो निवेदन आएपछि अध्यक्ष नेपाली भाग्न सक्ने प्रहरीले अनुमान गरी नजिकबाट नेपालीको गतिविधिलाई अनुसन्धान गरी रहेको थियो ।

नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।

निक्षेपकर्ताको कति रकम सहकारीले भुक्तानी गर्न बाँकी छ भन्ने अनुसन्धानपछि थाहा हुने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। 

‘सहकारी गण्डकी प्रदेशमा दर्ता भएकाले हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराएका छौं, अनुसन्धान हुँदैछ,’ बरालले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?