जापानमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कंडेल र खरेलको शुक्रबार जापानमै अन्त्येष्टि गरिने

-


     जनहित न्युज    
     श्रावण ४ गते २०८०


यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु भएका दुईजना नेपालीको शुक्रवार अर्थात् जुलाई २१ तारिक जापानमै अन्त्येष्टि गरिने भएको छ ।
मंगलबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरी दुर्गाचोक का २२ वर्षीय प्रितम खरेलको शुक्रवार यामागुची केनको इवाकुनी इमाजुमाची १-२-१५ मा (1 Chome-2-15 Imazumachi, Iwakuni, Yamaguchi ७४०-००१७) अन्त्येष्टि गरिने भएको व्यावसायी बिपिन कंडेलले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार मृतक दुवैजनाको संयुक्त रूपमा अन्त्येष्टि गरिनेछ । मृतक कंडेलको दाजु हाल जापानमा नै रहेका छन भने अर्का मृतक खरेलको बुवाआमा केहि दिनका लागि नेपाल गएकोले बुधवार नै जापान आईसकेका छन ।

मृतक खरेल ४ भाइ भाइबहिनी मध्यका माहिलो जो बहिनीसंग जुम्लिया रहेका थिए । मृतक खरेललाई २ वटा रेष्टुरेण्टको ज़िम्मेवारी दिएर केहि समयको लागि बाबुआमा नै केहि दिन अघिमात्र नेपालमा गएका थिए । भने कंडेल तीन भाइ मध्यका माहिलो थिए । ८ वर्ष अघि जापान आएका मृतक कंडेलको श्रीमति हाल जापानमा नै रहेकी छन ।
कंडेलका अनुसार मृतकहरू दिउसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसंग चारजना मिलेर खोलातर्फ़ गएका थिए । खेल्ने योजना नभएपनि चर्को गर्मीका कारण पौड़ी खेल्न पुगेको मृतकहरूसंगै गएका साथीहरूको भनाई छ । उनीहरू उक्त खोलामा प्रायजसो पौड़ी खेल्न जाने गरेको उनको भनाई छ ।
खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो।
प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा दुई जना नेपाली कार्डियोपल्मोनरी अरेस्टमा फेला परेका थिए ।
उद्धार टोलीका अनुसार एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो ।
इमाजु नदी जेआर इवाकुनी स्टेशनबाट करिब ३ किलोमिटर टाढाको शहरबाट बग्ने नदी हो।

अन्त्येष्टि गरिने ठेगाना यस प्रकार रहेको छ ।

1 Chome-2-15 Imazumachi, Iwakuni, Yamaguchi 740-0017

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?