नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री

-


     जनहित न्युज    
     असार ५ गते २०८०


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले उक्त कुरा बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’

उनले हरदम आफ्नो बिचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए । ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो । मानव र अरु प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीब्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाईहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिनुपरने बताए ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमिक्षा गर्ने विधि भएको बताए । उनले भने, ‘त्यसको लागि आफैंभित्र सबैभन्दा पहिला सुशासनको शुरुवात गर्नुपर्दछ ।’

उनले नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले राखेको मन्तव्यको अंशः–

‘मैले यो पटक तपाईहरुको अगाडि केही कुरा गर्दै आएको थिएँ । सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति भनेर । यो बीचमा हामीले गरेका प्रयासहरु ती आफ्नो ठाउँमा समिक्षा गर्न लायक पनि छन् । म कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढंगले आफ्नो काम अझ प्रभावकारी जनसेवासँग सम्बन्धित कामलाई अझ परिणाममुखी कसरी बनाउने भनेर सोच अगाडि ल्याउनेलाई विशेष धन्यवाद भन्न चाहन्छु ।

जुनसुकै क्षेत्रको पनि विकास र प्रगति भनेको विचारबाट नै हुने हो । सही, सकारात्मक र सृजनात्मक बिचारले नै कुनै राजनीतिक प्रणाली र प्रक्रिया वा अन्य कुनै पनि क्षेत्रको विकासमा निर्णायक र महत्वपूर्ण भूमिका खेल्छ गर्दछ । कर्मचारीतन्त्र भित्र पनि नयाँ र सृजनात्मक सोच ल्याउने र अझ प्रभावकारी र परिणाममुखी बनाउनको लागि सोच्नेहरुलाई म उच्च प्राथमिकता दिन्छु ।

हामी कहाँ जुन गतिमा सुशासनको प्रत्याभूति जनताले गर्नेगरि परिणाम दिनुपर्ने हो त्यस्तो त्यति हुनसकेको छैन । हामीसँग त्यो मानवीय शक्ति, क्षमता र अनुभव भएर पनि सिंगै समाजमा कहिले कहीँ विभिन्न खालका गलत विचार प्रवृतिहरु देखा पर्ने र हावी हुने हुन्छ । र, त्यसको असर सबैतिर पर्ने गरेको छ । नीतिहरुको राजा भएको हुनाले राजनीति भन्ने गरिन्छ । सबै नीतिहरुको नेता हो राजनीति । राजनीति धमिलियो भने कुनै न कुनै त्यसको असर सबैतिर पर्न जान्छ । त्यसको सफाइको सुरुवात पनि राजनीतिबाटै गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?