६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो ‘क्लु’ जसले अनुसन्धानलाई ‘यू टर्न’ गरायो

- मुख्य योजनाकार खड्गबहादुर, हत्याको योजना अघिल्लो राति नै बुनिएको खुल्यो

-


     जनहित न्युज    
     असाेज ४ गते २०७८


संखुवासभा मादी नगरपालिका – १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ।

संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानको आधारमा योजनाबद्ध रूपमा हत्या भएको पुष्टि भएको हो ।  

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वजन सुवेदीका अनुसार तेजबहादुरको परिवारको हत्याका मुख्य योजनाकार खड्गबहादुर कार्की हुन् । सोमबार प्रहरीले खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । रणबहादुर र खड्गबहादुर दाजुभाइ हुन् । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । हत्या घटनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लाञ्छना लगाएको, हेपेकाले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकाले थप पाँचजनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो ।

यस्तो छ घटना घट्नुको कारण

प्रहरी अनुसन्धानले देखाए अनुसार अभियुक्तहरुमध्ये खड्गबहादुर नियमित रक्सी खाने गरेका थिए । उनले घरमा श्रीमती र परिवारका सदस्यलाई कुटपीट तथा गाली गलौज गर्ने गरेका थिए ।

तेज कुमारले उनलाई ‘तँ जड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने गरेको र खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई ‘तँ पागल, अल्छी, केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ ।

नरेशलाई “तँ डुडे काम नलाग्ने भइस्” भन्ने र रणबहादुलाई समेत ‘त लठेब्रो केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ ।

जहिले पनि उनले  हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको हुँदा मनमा ‘इख’ पालेका कारण घटना घटेको प्रहरीले अनुसन्धानले देखाएको छ ।

अनुसन्धानबाट खुलेका थप तथ्य

– अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसेर योजना बनाएको।

– योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको।

– घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।
– योजना अनुसार मृतक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज कुमार कार्कीको घरमा गई ‘लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोक बहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरी घर तर्फ फर्केको ।

– तेज कुमार लोक बहादुर कार्कीको घर तिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।

– मृतक तेज कुमार कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुती रहेको लोक बहादुर लाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रणबहादुर कार्की समेत घरमै रहेको।

– घरबाट फर्कने क्रममा योजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु बोकी पछिपछि गई घर पछाडिको गोगनेको रूख नजिक तेज कुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको।

– घटनाको वेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुने पछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिली हत्या गरेको।

– मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्‍याउन सहयोग गरेको।

-उक्त घटनाकोवेला  नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएकोदेखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको।

-तत् पश्चात् पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइ रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरू समेत लुकाएको।

-खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घरतर्फ गएको। फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरी घरमुनिको ओडारमा लगी लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

-पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केको।

-घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भई रहेको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?