जापानी श्रमबजारमा साढे छ प्रतिशत आप्रवासी कामदारको रुपमा नेपाली कार्यरत

-


     जनहित न्युज    
     फागुन ६ गते २०७९


जापानको श्रमबजारमा आप्रवासी कामदारको रुपमा नेपालीहरुले साढे छ प्रतिशत हिस्सा ओगटेको तथ्यांक सार्वजनिक भएको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ एक लाख १८ हजार १९६ जना नेपाली कामदार रहेको तथ्यांकमा उल्लेख छ ।यो समग्र आप्रवासी कामदारको ६.५ प्रतिशत हो ।

जापानमा कूल १८ लाख २२ हजार ७२५ आप्रवासी कामदार रहेको तथ्यांक छ ।जापानलाई आप्रवासी कामदार उपलब्ध गराउने देशहरुमध्ये नेपाल चौथो स्थानमा रहेको त्यहाँको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी कामदार उपलब्ध गराउने मुलुक अर्थात् पहिलो नम्बरमा भने भियतनाम रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

भियतनामबाट चार लाख ६२ हजार ३८४ जना जापानमा काम गरिरहेको जनाइएको छ । यसले जसअनुसार जापानको श्रमबजारमा भियतनामीले २५.४ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

त्यसैगरी जापानलाई आप्रवासी कामदार उपलब्ध गराउनेमा चीन दोस्रो र फिलिपिन्स तेस्रो स्थानमा रहेका छन् । चीनले तीन लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत हिस्सा ओगटेको छ भने फिलिपिन्सले दुई लाख छ हजार ५० अर्थात् ११.३ प्रतिशत कामदारको हिस्सा ओगटेको मन्त्रालयको तथ्यांकमा समेटिएको छ ।

जापानमा सबैभन्दा थोरै आप्रवासी कामदार पेरुबाट उपलब्ध भएको बताइएको छ । पेरुका ३१ हजार २६३ अर्थात् १.७ प्रतिशत नागरिक श्रमबजारमा काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ‘पार्ट टाइम’ काम गर्नेहरुको संख्यासमेत तथ्यांकमा समावेश गरिएको छ । जापानको श्रमबजारमा पिआरधारी, जापानी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका र उनीहरुका परिवारिक सदस्य श्रमबजारमा सबैभन्दा ठूलो संख्यामा रहेको उल्लेख छ ।

त्यस्ता कामदारको संख्या पाँच लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।वर्किङ भिसामा चार लाख ७९ हजार ९४९, विशिष्ट क्षेत्रमा ७३ हजार ३६३, ट्रेनिङ (प्रशिक्षार्थी) भिसामा तीन लाख ४३ हजार २५४ र निश्चित स्टाटस नतोकिएका (विद्यार्थी तथा डिपेन्डेण्ट भिसावाहक) तीन लाख ३० हजार ९१० जना आप्रवासी रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

निश्चित स्टाटस नभएका विद्यार्थी तथा डिपेन्डेण्ट विदेशी नागरिकमध्ये काम गर्ने सबैभन्दा धेरै अर्थात् ३९.६ प्रतिशत नेपाली रहेका छन् ।जापानको श्रमबजारमा उलब्ध कामदारले मात्रै माग पूरा नहुने भएपछि त्यहाँको सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ ।

विदेशी कामदारको माग बढेका कारण जापानले विभिन्न मुलुकसँग श्रम सम्झौतासमेत गरेको छ । जापानले विभिन्न क्षेत्रमा काम गर्नेगरी स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीमार्फत कामदार लैजान नेपालसँग पनि सन् २०१९ मा नै श्रम सम्झौता गरिसकेको छ । चरणबद्धरुपमा कामदार लैजाने बताइए पनि विभिन्न कारण देखाउँदै अझै पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

एसएसडब्लू के हो? 

एसएसडब्लू जापानले सन् २०१९ को एप्रिल महिनादेखि सुरु गरेको कामदार भित्र्याउने प्रणाली हो। 

उक्त प्रणाली अन्तर्गत जापानमा निर्दिष्ट दक्षता भएका व्यक्तिहरूले सीमित समय बसोबासको अनुमति सहितको भिसा पाउने जापानी परराष्ट्र मन्त्रालयले जनाएको छ। 

जापानमा नेपाली कामदार

मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार एसएसडब्लू प्रणाली अन्तर्गत विभिन्न १४ वटा क्षेत्रमा कामदारहरू जान पाउँछन्। 

ती क्षेत्रमा नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योग, औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा एलेक्ट्रोनिक्स उद्योग, निर्माण, पानी जहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मतसम्भार, उड्ड्ययन, होटलसम्बन्धी उद्योग, कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन र खाद्य सेवा उद्योग रहेका छन्।

उक्त प्रणाली अन्तर्गत जापान जाने कामदारहरूले हरेक वर्ष, हरेक ६ महिना वा हरेक ४ महिनामा नवीकरण गरिनेगरी बढीमा ५ वर्षसम्म बस्न पाउने जापानको परराष्ट्र मन्त्रालयको विवरणमा उल्लेख छ।

जापानमा नेपाली कामदार

जापानका काम गर्नका निम्ति दक्ष हुनु जरुरी रहेको र त्यसका लागि प्राविधिक इन्टर्स प्रशिक्षण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

जापानी परराष्ट्र मन्त्रालयले भाषाको ज्ञानबारे भनेको छ, “दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुण हुनुपर्नेछ। भाषिक दखल परीक्षाद्वारा पुष्टि भएको हुनुपर्छ।”

यसरी कामदारका रूपमा जापान जानेले स्थायी रूपमा उतै बस्ने र आफ्ना परिवारका सदस्यलाई लान पाउने छैनन्।

कति कमाइ हुन्छ? 

गैर आवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार उक्त प्रणालीबाट जापान जाने नेपाली कामदारले न्यूनतम डेढ लाखदेखि तीन लाख नेपाली रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्छन्।

तर उनी नर्सिङ तथा स्याहार, उत्पादन क्षेत्र तथा पर्यटन क्षेत्रमा बढी तलब हुने बताउँछन्। 

“कृषि क्षेत्रमा भने कम तलब हुन्छ। काम गर्न पनि ग्रामिण क्षेत्रमा बस्नुपर्ने हुन्छ,” उनले भने। 

नेपालबाट जापान जान चाहनेले आफूले काम गर्ने कम्पनीको अवस्थादेखि त्यहाँको पाइने पारिश्रमिक र त्यसमा लाग्ने कर एवम् बिमासम्बन्धी व्यवस्था बुझेर मात्र जानुपर्ने उनको सुझाव छ। 

“ठूलो तलब पाइन्छ भन्ने कुरा पनि प्रचार भएको देखिन्छ त्यसबारे विस्तृतमा बुझेर मात्र आउनु राम्रो हुन्छ,” उनले भने। 

जापानमा कामलाई धेरै महत्त्व दिने गरिएकाले आफूलाई सीपमा दक्ष बनाएर मात्र जाँदा राम्रो हुने उनको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?