सफलताको कथा : पत्रकारिता छाडेर कृषिमा लागेका शर्माको आम्दानी वार्षिक ९० लाखसम्म 

-


     नरहरि पौड्याल    
     फागुन ५ गते २०७८


पर्वतको फलेवास नगरपालिका- १, कार्कीनेटाका भवानीप्रसाद शर्मा यतिबेला व्यावसायिक कृषि कर्ममा व्यस्त छन्। उनी लामो समयको पत्रकारिता पेसा छाडेर व्यावसायिक कृषि कर्ममा लागेका हुन्।

पर्वतको कुस्मालाई कार्य क्षेत्र बनाएर झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका शर्मा अहिले ‘धौलागिरि अर्गानिक कफी प्रोडक्ट’ कम्पनीमार्फत व्यावसायिक रूपमा कृषि उद्यमी बनेका छन्। 

उनले स्पेसटाइम दैनिक, एभिन्युज टेलिभिजन र अन्य रेडियोहरुमा समेत काम गरेका थिए। शर्माले जिल्लामा नगन्य रुपमा पत्रिका प्रकाशन भएको त्यस समयमा धौलागिरिलाई केन्द्रित गरी दैनिक धौलागिरि पोष्ट र प्रेक्षा मासिक पत्रिका प्रकाशन गरेका थिए।

समय क्रममा एफएम रेडियोप्रति जनताको मोह बढ्न थालेपछि उनले रेडियो शालिकराम सञ्चालनमा ल्याएका थिए।

तर, कुनै समय जिल्लामा बसेर पत्रकारितामा ठूलो योगदान गरेका शर्माको विगत एक दशकदेखि परिचय नै फेरिएको छ। उनी पत्रकारबाट सफल उद्यमी बनेका छन्। जिल्लाका धेरै कफी उत्पादक किसानका अगुवा बनेका छन्।

लामो समयसम्म पत्रकारिता गर्दा समाज रुपान्तरण र सामाजिक जागरणमा सफल भए पनि अर्थोपार्जन गर्न नसकिएपछि कृषि उद्यममा लागेको शर्मा बताउँछन्। ‘लामो समयसम्म पत्रकारिता गरेर सामाजिक जागरण ल्याउने कार्य गरियो’, उनले भने, ‘तर, समाज रुपान्तरणसँगै जागरणमा राम्रो प्रगति भए पनि अर्थोपार्जन गर्न नसकेपछि कृषि उद्यम रोजेको हुँ।’

पछिल्लो समय पत्रकारिता राजनीतिक चक्रब्यूहमा फस्न थालेपछि कृषिमा लागेको उद्यमी शर्माको दावी छ। उनी भन्छन्, ‘पत्रकारितामा राजनीति हावी भयो। राजनीतिक दलका गलत क्रियाकलापलाई उदांगो पार्नु पर्नेमा पत्रकारिता नेताका गलत कामलाई ढाकछोप गर्ने माध्यम बने। नितान्त जनताका पक्षमा पत्रकारितामार्फत आवाज उठाउने उद्देश्यले पत्रकारितामा लागेकाले दलका नेताका पछि लागेर सेवक बन्न मन लागेन। उनीहरुका गलत कार्यलाई ढाकछोप गरेर गुनगान गाउँनुभन्दा पत्रकारिता नै छाडेर कृषि कार्यमा लागेँ।’ 

शर्माले कुश्माको चुवा र ज्ञादीमा १० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कफी नर्सरी, कफी प्रशोधन तथा उत्पादन, अंगुर खेती, कागती खेती तथा मौरी पालन गरिरहेका छन्। 

पर्वत कफी खेतीका लागि उपयुक्त मानिन्छ। पर्वतको १ हजार देखि १६ सय मिटर उचाइसम्म कफी खेती भइरहेको छ। पर्वतसँगै धवलागिरिका बागलुङ र म्याग्दीका ग्रामीण क्षेत्रमा धेरै कृषकहरुले व्यावसायिक रुपमा कफी खेती गरिरहेका छन्। 

शर्माले कफी खेती गर्न चाहने कृषकलाई तालिमसँगै कफीका बिरुवा बिक्री गर्ने र कृषकबाट उत्पादित कफी संकलन गरेर प्रशोधन गरी मुलुक भित्र र विदेशमा समेत निर्यात गर्ने काम गर्दै आइरहेका छन्।

पर्वत, बागलुङ र म्याग्दीका कृषकले उत्पादन गरेको कफी खरिद गरी प्रशोधनपछि जापान, अमेरिका, कोरिया र देशका विभिन्न स्थानमा पठाउने गरेको उनले बताए। ‘कृषकबाट कफी खरिद गरेपछि प्रशोधनसँगै प्याकिङ गरेर बजारमा पठाउने गरेका छौं’, उनले भने, ‘यहाँको कफी अर्गानिक भएकाले माग उच्च छ। हाम्रो मुख्य बजार कोरिया, अमेरिका जापान र देशका विभिन्न सहर हुन्।’

यस्तो छ कफी उत्पादनको अवस्था
२०४० सालदेखि कफी खेती सुरु गरिएको पर्वतमा २०५७ सालपछि व्यावसायिक रुपमा खेती गर्न थालिएको हो। हाल जिल्लामा ७० वटा कफी उत्पादक समूह र १९ वटा सहकारी संस्थामार्फत उत्पादन हुने गरेको छ। धौलागिरिमा सबैभन्दा धेरै कफी उत्पादन पर्वतमा हुने गरेको छ। धौलागिरिमा अहिले झण्डै दुई हजार पाँच सय कृषक व्यावसायिक रुपमा कफी खेतीमा आवद्ध छन्। 

धौलागिरिका तीन जिल्लामा अहिले झण्डै १५ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। त्यसमध्ये पर्वतमा मात्र १२ मेट्रिक टन उत्पादन हुन्छ भने बागलुङ र म्याग्दीमा थोरै मात्रामा उत्पादन हुने गरेको छ।

धौलागिरिमा अरेबिका जातको कफी उत्पादन हुँदै आएको छ। जुन स्वाद र गुणस्तरका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ। धौलागिरिमा उत्पादन हुने कफीमा रासायनिक मलको प्रयोग नगरी स्थानीय मलखादबाट खेती गरिने भएकोले गुणस्तर निकै राम्रो भएको र स्वदेशी र विश्वका विभिन्न मुलुकमा समेत उच्च माग रहेको कृषक शर्मा बताउँछन्। 

कसरी थालियो विदेश निर्यात हुने कफीको उत्पादन 
विगतमा धौलागिरिमा कृषकहरुले आफैं घरमा प्रयोग गर्ने उद्देश्यले कफी खेती गर्थे। कृषकलाई कफी उत्पादनका लागि आवश्यक तालिम, प्रशोधन, संकलन र बजारीकरणका बारेमा खासै चासो थिएन। बाहिरका व्यवसायीहरु आएर खरिद गरिदिएको अवस्थामा मात्र कृषकले सामान्य मूल्य पाउँथे। अन्यथा उनीहरुको उत्पादन घरायसी प्रयोजमै सीमित हुन्थ्यो। 

पत्रकारितामा विभिन्न कष्ट र हन्डर खाएर कृषिमा व्यावसायिक भविष्य खोजेका शर्माले कृषकहरुलाई संगठित गरे। उनकै अगुवाइमा जिल्लास्थित घरेलु कार्यालयमा उद्योग दर्तादेखि समूह गठन र सहकारी खोल्ने काम भयो। त्यसपछि कृषकलाई कफी खेतीका बारेमा आवश्यक ज्ञानका लागि विभिन्न तालिम प्रदान गरियो।

कृषकलाई संगठित गर्दै तालिम प्रदान गरेपछि क्रमश: जिल्लाका विभिन्न ठाउँमा कफी उत्पादन थालियो। कफीको उत्पादनसँगै जिल्ला भित्रै प्रशोधनको काम सुरु भयो। कफी उत्पादन बढ्न थालेपछि संगठित कृषक र अगुवा शर्मा बजारीकरणमा लागे। जसले गर्दा पर्वतको कफीको माग देश विदेशमा बढ्न थाल्यो।

शर्मा अहिले धौलागिरि कफी ब्राण्डमा उत्पादनसँगै बजारीकरणको काम गर्छन्। उनी पर्वत जिल्लाका कफी उत्पादक कृषकहरुको छाता संगठन जिल्ला कफी व्यवसायी संघका अध्यक्ष समेत हुन्। उनकै अगुवाइमा अहिले पर्वतका कृषकहरुको कफी संकलन र प्रशोधनको काम भइरहेको छ।

यस्तो छ कफी प्रशोधनको प्रक्रिया
उद्यमी शर्माका अनुसार कृषकबाट संकलन गरिएको कफीलाई विभिन्न चरणमा प्रशोधन गरिन्छ। सबैभन्दा पहिला संकलन गरिएको कफीलाई ग्रेडिङ गरिन्छ। त्यसपछि बोक्रा फाल्ने काम गरिन्छ। कफीमा रहेको चिप्लो पदार्थ फाल्न दुई दिनसम्म यसलाई पानीमा डुबाएर राखिन्छ। यसपछि कफीको दानालाई सुकाइन्छ। सुकाउने तरिका र ठाउँको आधारमा कफीको गुणस्तर कायम हुन्छ।

सुकाइएको कफीको दाना मेसिनमा राखेर भुटिन्छ। भुटेको कफीलाई ग्राइण्डर मेसिनमा राखेर पिसिन्छ र विभिन्न तौलका प्याकेटमा प्याकिङ गरी बिक्रीका लागि तयार गरिन्छ

कफीसँगै मौरी पालन
कफी उत्पादन,प्रशोधन मात्र होइन नर्सरीमार्फत कफीका बिरुवा उत्पादन गरेर कृषकलाई बिक्री गर्दै शर्माले कागती, अंगुर खेतीका साथै मौरी पालन समेत गरेका छन्। 

उनले मौरीका ३० धारबाट वार्षिक रुपमा राम्रो आम्दानी गर्दै आएको बताए। सानो छँदा गाउँमा बुबा-आमाले मौरी पालेको देखेका शर्माले व्यावसायिक रुपमा ३० घार मौरी पालन गर्दै आएका छन्।

कृषि उद्यममा जोडिएकाले एउटै व्यवसायमा आश्रित हुनुभन्दा त्यसैसँग सम्बन्धित अन्य व्यवसाय गर्दा समयको उपयोगसँगै आम्दानी समेत बढ्ने भएकाले मौरी पालन लगायतका काम गरेको शर्मा बताउँछन्। उनी भन्छन्, ‘सुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरी पालन गर्दै आएका थियौं। थोरै संख्यामा घार राख्दा पनि मह राम्रै उत्पादन हुन्थ्यो।आफ्नो परिवार, इष्टमित्र, छर-छिमेकमा समेत पुग्ने गरेको थियो। कृषिलाई नै व्यावसायिक रुपमा अगाडि बढाएपछि समयको बचतसँगै राम्रो कमाइ हुने देखेर मौरी पालन व्यवसायलाई अगाडि बढाएँ।’

व्यवसाय राम्रो हुने देखेर मौरी पालनमा लागेको उनी बताउँछन्। ‘मौरी पालनमा राम्रो सम्भावना देखेपछि म यतातिर आकर्षित भएँ। त्यसपछि व्यावसायिक रुपमा यो पेसा रोजेँ,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा उत्पादन र बजार दुवै हिसाबले मौरीपालन व्यवसाय राम्रो छ।’

विभिन्न तालिम र अध्ययन गरेर व्यवसायमा लागेकाले आफू सफल भएको उनको दावी छ। ‘कृषिमा विशेष योजना सहित तालिम र अध्ययन गरेर लाग्ने हो भने सफलता पाउन गाह्रो छैन’, उनले भने।

कृषिमै मनग्य आम्दानी
मौसमले साथ दिएको अवस्थामा वार्षिक ९० लाख रुपैयाँ आम्दानी गर्न सकिने दावी गर्छन् शर्मा। उनले वार्षिक रुपमा तयारी कफीबाट ३५ लाख, मौरीको चाकासँगै महबाट ७ लाख, कफीका बिरुवा बिक्रीबाट ४० लाख र कफीको बिउ बिक्रीबाट ४ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए। उनले भने, ‘राम्रो मौसम भएको अवस्थामा राम्रो आम्दानी गर्न सकिन्छ। मौसम बिग्रिएको अवस्थामा कृषि उत्पादन घट्छ। कृषि व्यवसाय मौसममै भर पर्छ।’

कृषि फार्ममा अध्ययनका लागि आउने कृषक समूह, व्यवसायी, विद्यार्थी लगायत आन्तरिक तथा बाह्य पर्यटकलाई कफीको व्यावसायिक खेती र माहुरी पालनका बारेमा आवश्यक जानकारी दिने गरेको शर्मा बताउँछन्। उनले कफी प्रविधि सिक्न चाहने कृषक, व्यवसायी तथा कृषि विषयका विद्यार्थीलाई तालिमको व्यवस्था गर्दै आएको बताए।

कृषक शर्माले कृषि उद्यमका लागि ५० लाखभन्दा बढी लगानी गरिसकेका छन्। उनको कफी खेती, मौरी पालन, अंगुर, कागती तथा अम्बा खेतीमा अहिले १० जनाले रोजगारी पाएका छन्।

हाल मह १५ सय प्रतिकिलोका दरले बिक्री गर्दै आएको उनले बताए। ‘मह प्रतिकिलो १ हजार पाँच समय रुपैयाँमा घरबाटै बिक्री हुन्। बजारको कुनै समस्या छैन,’ उनले भने, ‘बढी उत्पादन हुने मौसममा समेत माग अनुसार मह पुर्‍याउन सकिएको छैन।’ शुद्ध महको माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले बताए। 

व्यावसायिक सोचबाट काम गरे खाडी जानु पर्दैन
शर्माले पछिल्लो समय युवाहरु आफ्नै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै रोजगारीको खोजीमा विदेशिने गरेको गुनासो पोखे। उनले भने, ‘आफ्नै गाउँघरमा राम्रो आम्दानी गर्न सकिने प्रशस्त सम्भावना छ। तर देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरु ३० हजार कमाउन खाडी मुलुक पुग्ने गरेका छन्।’

देशमै कृषि कर्मबाट व्यावसायिक रुपमा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन पनि आफू कृषि व्यवसायमा लागेको शर्माको भनाइ छ। अहिले पनि पत्रकारिता,उद्घोषण र भाषण कलाको तालिम दिँदै विभिन्न ठाउँमा पुग्ने शर्मा व्यावसायिक पुस्तक, कृषि सम्बन्धी सामाजिक सञ्जाल र युट्युब च्यानल लगायतका सामग्रीमार्फत आवश्यक जानकारी लिने गरेको बताउँछन्।

उनी भन्छन्,‘काम गर्ने इच्छाशक्ति भए ज्ञान छैन भन्नु पर्दैन। अध्ययनका लागि आवश्यक सामग्री खोजी गर्ने हो भने प्रशस्त भेटिन्छन्। काम सुरु गर्नुभन्दा पहिले सम्बन्धित कामका बारेमा राम्रो अध्ययन गरेर योजनाबद्ध रुपमा अगाडि बढ्ने हो भने असफल भइँदैन।’

सरकारले बाँझो खेतमा खेतीपाती गर्ने वातावरण बनाउनुपर्ने र खाली हात बसिरहेका युवाहरूलाई वैदेशिक रोजगारीमा जानुभन्दा नेपालमै कृषिमा केही गर्नतिर लगाउनुपर्ने उनको सुझाव छ। ‘काम सानो-ठूलो हुँदैन। व्यावसायिक सोच राखेर समय सुहाउँदो व्यवसाय गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?